वैशाख महिनामा राजस्वमा गिरावट आए पनि लक्ष्य र प्राप्तिबीचको खाडल बढेको छ।
२०७९ साउनदेखि २०८० वैशाख महिनासम्म १० खर्ब ६७ अर्ब रुपैयाँको राजस्व लक्ष्यमा ७ खर्ब ५६ अर्ब रुपैयाँ मात्रै प्राप्ति भएको छ।
राजस्व धेरै गिरावट भन्सार महसुलको कारणले आएको छ। भन्सार विभाग मातहतबाट ५ खर्ब ४८ अर्ब रुपैयाँको राजस्व उठाउने लक्ष्य यो समयको लागि निर्धारण गरिएकोमा जम्मा ३ खर्ब १८ अर्ब रूपैयाँ उठेको भन्सार विभागका निर्देशक पुण्यबिक्रम खण्काले जानकारी गराए।
वैशाख महिनामा मात्रै पनि गत वर्षको तुलनामा कमी राजस्व उठेको छ। वैशाख महिनामा ५८ अर्ब ७४ करोडको भन्सार महसुल उठाउने लक्ष्य राखिएकोमा जम्मा ३३ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठेको छ।
गत वर्षको तुलनामा २२ प्रतिशत र चालु आर्थिक वर्षको वैशाखसम्मको लक्ष्यको तुलनामा ४२ प्रतिशतले भन्सार महसुल घटेको विभागको तथ्यांक छ।
भन्सार महसुल बाहेकको राजस्व पनि गत वर्षको तुलनामा दुई प्रतिशतले कमी रहेको छ। गत वैशाखसम्म ३ खर्ब ५६ अर्ब रुपैयाँको आन्तरिक राजस्व उठेकोमा यो वर्ष १२ अर्बले कमी आइ तीन खर्ब ४४ अर्ब रुपैयाँ मात्रै उठेको छ।
वैशाखसम्म आन्तरिक राजस्व विभागको तर्फबाट ४ खर्ब ८९ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा तीन खर्ब ७१अर्ब रुपैयाँ कम राजस्व उठेको छ।
त्यस्तै वैशाख महिनाको लागि आन्तरिक राजस्व विभागले ५१ अर्ब रुपैयाँको लक्ष्य राखेकोमा ३७ अर्ब १५ रूपैयाँ मात्रै संकलन भएको छ।
वैशाख महिनासम्म एक खर्ब ५९ अर्ब रुपैयाँको आयकर उठेको छ। गत वर्षको भन्दा १४ अर्ब रूपैयाँले आयकर घटेको छ।आयकरमा गत वर्षको तुलनामा ८ प्रतिशतले कमी आएको छ।
आयकर कम उठेको विषयमा आन्तरिक राजस्व विभागले अध्ययन सुरू गरेको जनाएको छ। उद्योगी व्यवसायीले भने आय नै घटेका कारणले कम भएको हुनसक्ने बताइरहेका छन्।
अन्य क्षेत्रबाट तथ्यांक हेर्दा कर योग्य कारोबार गरेको देखिएको तर विवरण र कर दाखिला नगरेको भन्दै गत महिनादेखि नै विभागले अध्ययन सुरू गरेको छ।
आन्तरिक राजस्वले मूल्य अभिवृद्धि करको विवरण दाखिला गरेको, भन्सार तथ्यांक (आशिकुडा)अनुसार आयात-निर्यात गरेको एवम् त्यस्ता करदाताको नाममा अग्रिम कर कट्टी भएको तथ्यांक प्राप्त गरेको तर विवरण र कर दाखिला नगरेको भन्दै कर नतिरेको आशंका गरेको छ।
गत वर्षको तुलनामा भन्सार महसुलमा २२, आयकरमा ८, घर बहाल करमा ३ र आन्तरिक मूल्य अभिवृद्धि करमा २ प्रतिशतले कमी आएको छ।
१० महिनाको अवधि (साउनदेखि वैशाखसम्म)मा घर बहाल कर दुई अर्ब २२ करोड उठेको छ। गत वर्ष एक अर्ब ७३ करोड उठेको थियो।
ब्याजकर गत वर्ष वैशाखसम्म २२ अर्ब ४६ करोड रूपैयाँ उठेकोमा यो वर्ष बढेर ३० अर्ब २८ करोड प्राप्ति भएको छ।
आन्तरिक मूल्य अभिवृद्धिकर ८३ अर्ब ३३ करोड उठेकोमा यो वर्ष ९० अर्ब ६८ करोड रूपैयाँ प्राप्ति भएको छ।
आन्तरिक अन्तशुल्क गत वर्षको भन्दा करिब एक अर्ब रूपैयाँ बढी ८४ अर्ब ११ करोड प्राप्ति भएको छ। शिक्षा र स्वास्थ्य सेवामा सामान्य सुधार आएको छ।
कर उठ्ने प्रवृत्तिमा सुधार नदेखिएको कारणले चालु वर्षमा राजस्वमा गत वर्षको बराबर नउठ्ने आन्तरिक राजस्व विभागका अधिकारीहरूको प्रक्षेपण छ।
'आयात रोकिएको कारण राजस्वमा कमी आएको छ भन्ने थियो आयात खुला भएपछि पनि राजस्व गिरावटमा उस्तै अवस्था देखिएको छ' राजस्व विभागका एक अधिकारीले भने 'महिनागत रूपमा पनि हरेक महिना कम राजस्व देखिएको कारणले अब गत वर्षको बराबर पनि राजस्व उठाउन सक्ने स्थिति छैन।'
राजस्व कम हुनुको प्रमुख कारण आयात घट्नु भएकाे राजस्वका अधिकारीहरूले बताएका छन्। व्यापारीहरूले भने सरकारले अवैध व्यापार नियन्त्रण गर्न नसक्दा सरकारको राजस्व र वैधानिक तवरबाट व्यापार गर्ने व्यवसायीको आम्दानी घटेको गुनासो गरेका छन्।