आगामी आर्थिक वर्ष २०७८/७९ को लागि बजेट लेखन समिति तय भएको छ।
अर्थमन्त्रीको रूपमा विष्णु पौडेलेको प्रवेशपछि अर्थबाट प्रधानमन्त्री कार्यालयमा सरूवा गरिएका सहसचिव भुपाल बराललाई पुन: अर्थमा सुरूवा गरी बजेट लेखन कार्य सुरू गरिएको हो।
अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री डा प्रकाशशरण महतले भुपाल बरालको नेतृत्वमा लेखन समिति तय गर्नको लागि बिहीबार निर्देशन दिएका थिए। बरालको संयोजकत्वमा बाबुराम सुवेदी, उत्तरकुमार खत्री, जनकराज शर्मा, धनीराम शर्मा र आनन्द काफ्ले रहेका छन्।
सुवेदी राष्ट्रिय योजना आयोगबाट र खत्री श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अर्थमा सरूवा गराएर लेखन कार्यमा संलग्न गराइएको हो। विष्णु पौडेल अर्थमन्त्री भएपछि योजना आयोगबाट अर्थ मन्त्रालय आएका शर्मा बजेट महाशाखा प्रमुख रहेका छन्। काफ्ले योजना तथा अनुगमन महाशाखा प्रमुख रहेका छन्। बजेट मस्यौदाको सवालमा संयोजक बरालले शुक्रबार नै बैठक बोलाएका छन्।
अर्थमन्त्री परिवर्तनको कारण बजेट लेखन कार्य तथा छलफलमा ढिलाइ भइरहेकोमा अर्थमन्त्री महतले आफ्नो विश्वासिलो टिम तयार गरेर बजेट लेखनमा लगाएका हुन्। लेखन समितिमा रहेका पाँच मध्ये ३ जना बजेट लेखनकै लागि अन्य मन्त्रालयबाट सरूवा गरिएको हो। उनीहरू सबै अर्थका 'क्याडर' हुन्। अर्थमन्त्रालयबाट सहसचिव सुमन दाहाल र झक्कप्रसाद आचार्यको सरूवा भएको छ।
अघिल्लो वर्षको तुलनामा कम राजस्व संकलन भएको स्थितिमा सरकार आगामी वर्षको लागि स्रोतको चापमा रहेको छ।
मन्त्री नभएका बेला राजस्व सचिव रामप्रसाद घिमिरेको नेतृत्वमा राजस्व परामर्श समिति बनेको छ र उक्त समितिअन्तर्गत विभिन्न क्षेत्रगत नौ उपसमितिले आगामी आर्थिक वर्षका लागि राजस्वको दर र दायरा कसरी विस्तार गर्न सकिन्छ भनेर काम गरिरहेका छन्।
त्यस्तै, बजेटसम्बन्धी काम गर्नको लागि अर्थले कार्य तालिका समेत तय गरेको छ। चैत २६ गतेबाट मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआइएस)मा विषयगत मन्त्रालयमार्फत बजेट प्राप्त गर्ने, चैत २६ गतेदेखि वैशाख २० गतेसम्म मन्त्रालयसँग बजेटको कार्यक्रम र खर्च शीर्षकमाथि छलफल हुने तालिका बनाइएको छ।
चैत २६ गतेदेखि वैशाख २५ गतेसम्म सरोकारवालासँग बजेटबारे सुझाव संकलनको कार्य तालिका छ।
यस्तै वैशाख २१ गते मन्त्रालयले बजेटका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गर्ने गरी कार्य तालिका तय गरिएको छ।
जेठ १० गते व्ययको अनुमान र खर्च शीर्षकगत अनुमानको अन्तिम मस्यौदा तयार पार्ने, जेठ १२ गते खर्च र शीर्षकगत अनुमानको किताब छपाइ गर्ने, जेठ १३ गते बजेट वक्तव्य, आर्थिक र विनियोजन विधेयकलाई अन्तिम रूप दिने गरी कार्य तालिका तय गरिएको हो।
वैशाख २० गते सार्वजनिक संस्थाहरुको प्रगति विवरण (पहेँलो पुस्तिका) छपाइका लागि पठाउने, वैशाख २१ गतेभित्र विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकता संघीय संसदमा प्रस्तुत गर्ने, वैशाख ३० गते आर्थिक सर्वेक्षण छपाइका लागि पठाउने, जेठ १ गते बजेट वक्तव्यको मस्यौदा तयार पार्ने, जेठ ५ गते राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस गर्ने, जेठ १० गते राष्ट्रपति समक्ष बजेट ब्रिफिङ गर्ने कार्य तालिका छ।
जेठ १० गते व्ययको अनुमान र खर्च शीर्षकगत अनुमानको अन्तिम मस्यौदा तयार पार्ने, जेठ १२ गते खर्च र शीर्षकगत अनुमानको किताब छपाइ गर्ने, जेठ १३ गते बजेट वक्तव्य, आर्थिक र विनियोजन विधेयकलाई अन्तिम रूप दिने तयारीमा अर्थ मन्त्रालय छ।
जेठ १४ गते योजना आयोग र मन्त्रिपरिषद्मा बजेटको बिफ्रिङ हुनेछ। सोही दिन बजेटसम्बन्धी विधेयक छपाइका लागि प्रेसमा पठाउने तथा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयगत प्रगति विवरण प्रस्तुत गर्नेछन्।
संवैधानिक व्यवस्थानुसार जेठ १५ गते अर्थमन्त्रीले संघीय सदनमा बजेट प्रस्तुत हुनेछ।