नेपाल उद्योग वाणिज्य महासंघको चैत २९ गते हुने चुनावका लागि पदाधिकारीमा १२ जनाले उम्मेदवारी घोषणा गरेका छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष आगामी अध्यक्ष बन्छन्। त्यसैले हाल वरिष्ठ उपाध्यक्ष रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल स्वतः महासंघको नेतृत्वमा हुनेछन्।
वरिष्ठ उपाध्यक्षमा भने त्रिपक्षीय भिडन्त हुने स्पस्ट भएको छ। वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई छन्। यी तीनै आकांक्षीहरूले छुट्टाछुट्टै प्यानल बनाएका छन्।
प्यानल बनाउँदा सम्बन्धित क्षेत्रमा उम्मेदवारको उपस्थिति र त्यसले पार्ने प्रभावलाई केन्द्रित गरेको बताएका छन्। अर्थात वरिष्ठ उपाध्यक्षको पक्षमा बढी भूमिका खेल्न सक्नेलाई प्यानलमा समेटिएको उनीहरूको भनाइ छ।
वरिष्ठ उपाध्यक्षमा तीन उम्मेदवार
वरिष्ठ उपाध्यक्षमा यसपालि हुन लागेको त्रिपक्षीय प्रतिस्पर्धा महासंघको इतिहासमै पहिलोपटक हो। हाल महासंघका दुई उपाध्यक्ष अन्जन र रामचन्द्रका साथै उमेशलाल पनि उम्मेदवार बनेका छन्।
वरिष्ठ उपाध्यक्ष चुनिन कुल मतको ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ । यदि वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले पहिलो चरणमा खसेको कुल मतको ५० प्रतिशत कटाउन नसके पहिलो र दोस्रो हुने उम्मेदवारबीच पुनः निर्वाचन हुन्छ। महासंघको निर्वाचनमा जिल्लानगरको मतभार ५० प्रतिशत, एसोसिएट सदस्य (द्विराष्ट्रिय समेत) को ३० र वस्तुगत सदस्यको २० प्रतिशत मतभार हुन्छ ।
यसैलाई आधार मानेर वरिष्ठ उपाध्यक्षका तीनै उम्मेदवारले जिल्लानगरमा बढी प्राथमिकता दिएका छन्।
अन्जन श्रेष्ठ
वरिष्ठ उपाध्यक्षका आकांक्षी अन्जन श्रेष्ठ पोखराबाट उदाएका व्यवसायी हुन्। उनी औद्योगिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक छन्। उनका बुवा गणेशबहादुर श्रेष्ठ लक्ष्मी ग्रुपको अध्यक्ष छन्।
परिवारले सञ्चालन गरेको मिठाइ व्यापारबाट अघि बढेको उनको व्यावसायिक यात्रा अहिले धेरै क्षेत्रमा फैलिएको छ। अन्जनका अनुसार ४९ वर्षअघि तीन सय रूपैयाँ लगानीको मिठाइ व्यापारबाट उनको व्यावसायिक यात्रा सुरू भएको थियो।
मिठाइ व्यवसायबाट सुरू गरेको यात्रा डेरी उत्पादन, प्याकेजिङ उद्योग, अटोमोबाइल्स, डन्डी, स्टिल हुँदै खाद्य उद्योगसम्म विस्तार छ। सुजल फुड्स, सुजल प्लास्टिक, जय माँ लक्ष्मी ट्रेडिङ, लक्ष्मी कमर्सियल भेइकल्स, सिद्धि लक्ष्मी स्टिल लगायतका कम्पनी छन्।
लक्ष्मी ग्रुपले डेढ अर्ब रूपैयाँ लगानीमा नवलपरासीमा खाद्यान्न उद्योग, साढे दुई अर्ब रूपैयाँ भन्दा धेरै लगानीमा बिलेट (डन्डी बनाउने कच्चा पदार्थ) उद्योग सञ्चालन गर्ने भनेर उद्योग विभागमा दर्ता पनि गराएको छ।
महासंघमा अहिले वस्तुगत उपाध्यक्ष रहेका उनी पछिल्लो २० वर्षदेखि महासंघको विभिन्न भूमिकामा छन्।
रामचन्द्र संघाई
रामचन्द्र संघाई त्रिवेणी ग्रुपका सदस्य हुन्। पारिवारिक व्यवसायमा उनी दोस्रो पुस्ताका व्यवसायी हुन्। यो ग्रुप रामचन्द्रका बुवा पुरुषोत्तमलाल संघाईको नेतृत्वमा छ। करिब पाँच दर्जन उद्योग व्यवसायमा यो ग्रुपको सक्रियता छ।
उत्पादनमूलक उद्योगतर्फ सिमेन्ट, ग्यास, जडीबुटी प्रशोधन उद्योग, चिया उद्योगमा लगानी छ। सगरमाथा, विश्वकर्मा, गोरखा सिमेन्ट उत्पादन गर्ने यो कम्पनीले हिमाल र नवज्योति ग्यास उद्योगमा लगानी गरेको छ। अमृत तेल, टोकला चिया पनि यसका उत्पादन हुन्। त्यस्तै लहर, एकता जस्ता लुगा धुने साबुन पनि त्रिवेणी ग्रुपले निकाल्ने गरेको छ। यसबाहेक डल्फिन मोड्युल्ड फर्निचर पनि यही समूहको हो।
प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एसिया बैंक र महालक्ष्मी विकास बैंकमा यो ग्रुपको लगानी छ। ऊर्जा, शैक्षिक र कृषि क्षेत्रका साथै सिनेमा हल, मार्ट र अटोमोबाइल्समा पनि यो समूहले लगानी गरेको छ। यसबाहेक लोरियल, प्रान, सनफिस्ट, फुजिफिल्म, सान्सुई, पानासोनिक, हकिन्स, गार्नियर लगायत अन्तर्राष्ट्रिय ब्रान्डका सरसामानको बिक्रेता पनि हो।
रामचन्द्र सांघाई अघिल्लो निर्वाचनमा एसोसिएट उपाध्यक्षमा चन्द्र ढकालको प्यानलबाट विजयी भएका थिए। रोजगारदाता परिषदको अध्यक्ष भएर उनले आफ्नो भूमिका निर्वाह गरेका छन्। उनी महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाको कार्यकालमा निर्यात प्रवर्द्धन समितिको उपसभापति भएर काम गरेका थिए।
उमेशलाल श्रेष्ठ
ललितपुरका व्यवसायी उमेशलाल श्रेष्ठ परिवारमा पहिलो पुस्ताका व्यवसायी हुन्। उनको परिवार राजनीतिमा केन्द्रित रहे पनि उनी उद्योग व्यवसायमा रमाएका छन्। उनी कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठ र सहाना प्रधानका छोरा हुन्।
उमेशलालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी औषधि उद्योग क्वेस्ट फर्मास्युटिकल्स कम्पनी चलाउँछन्।
उनले लामो समयदेखि नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न भूमिकामा बसेर काम गरेका छन्। उनी पशुपति मुरारकाको कार्यकालमा उद्योग समिति सभापति, भवानी राणाको कार्यकालमा वस्तुगत उपाध्यक्ष थिए भने शेखर गोल्छाको कार्यकालमा अन्जन श्रेष्ठसँग वस्तुगत उपाध्यक्षमा पराजित भएका थिए।
उनी आफू साना व्यवसायीको प्रतिनिधित्व गर्ने बताउँछन्।
जिल्ला-नगर
जिल्ला-नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, अरूणराज सुमार्गी र सुरकृष्ण वैद्य देखिएका छन्। दिनेश अहिले महासंघको राजनीतिमा देखिएका सबैभन्दा पुराना खेलाडी हुन्। उपाध्यक्ष पदमा मात्रै उनी चौथो कार्यकालको लागि प्रतिपस्पर्धा गर्दैछन्। सन् १९९७ देखि महासंघको विभिन्न भूमिकामा बसेर उनले काम गरेका छन्।
कागजजन्य शैक्षिक सामग्रीहरू उत्पादन गर्ने अशोका कार्बन एन्ड अलाइड कम्पनी, सार्प कर्पोरेसन, श्रेष्ठ इन्टरनेसनल टेड्रिङ कन्सर्न लगायतका कम्पनीमा उनी आबद्ध छन्। उनी उमेशलाल श्रेष्ठको टिमबाट जिल्लानगर उपाध्यक्षमा उम्मेदवार बनेका छन्।
अन्जन श्रेष्ठको टिमबाट जिल्लानगर उपाध्यक्षमा उठेका अरूणराज सुमार्गी पहिलो पुस्ताका व्यवसायी हुन्। उनी व्यवसायी अजेयराज सुमार्गीका भाइ हुन्। मुक्ति श्री कम्पनीका सञ्चालक उनी अहिले महासंघका कृषि समिति सभापति छन्। यसअघि उनी हेटौंडा उद्योग वाणिज्य संघको अध्यक्ष बनेका थिए।
मुक्ति श्री ग्रुप सञ्चार, घरजग्गा, ऊर्जा तथा निर्माण क्षेत्रमा आबद्ध छ। यसले सञ्चालन गरेको हिमालयन स्प्रिङ वाटर पानी विदेशमा निर्यात भइरहेको छ।
त्यस्तै जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्यले रामचन्द्र संघाईको टिमबाट उम्मेदवारी दिएका छन्। उनी काभ्रेका व्यवसायी हुन्। स्थानीय स्तरमा व्यवसाय गर्ने उनी ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, बच्छला एग्रिगेड, सुगम इन्टरप्राइजेज लगायत कम्पनीमा आबद्ध छन्।
नेपाली कांग्रेस काभ्रेका नेतासमेत रहेका उनी कांग्रेस प्रदेश सभा सदस्यको समानुपातिक सूचीमा थिए। उनी काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन्।
एसोसिएट उपाध्यक्ष
एसोसिएट उपाध्यक्षमा भरतराज आचार्य, प्रवलजंग पाण्डे र ज्योत्सना श्रेष्ठ देखिएका थिए। यद्यपि उम्मेदवारी दर्ता क्रममा प्रवलजंग पाण्डेले भरतराज आचार्यलाई समर्थन गर्ने भन्दै एसोसिएट सदस्यमा उम्मेदवारी दिएका छन्।
भरतराज आचार्यले प्लास्टिक, पाइप, कृषि उद्योगका साथै मेडिकल कलेजमा लगानी गरेका छन्। एक दशकदेखि महासंघमा विभिन्न तहमा आबद्ध भएर काम उनले काम गरेका छन्। हाल उद्योग समिति सभापति रहेका उनले यसअघि रोजगारदाता परिषदको सहसभापतिको जिम्मेवारी पाएका थिए। प्युठान घर भएका उनी पहिलो पुस्ताका व्यवसायी हुन्।
प्रवलजंग पाण्डे लोमस ग्रुपका सञ्चालक हुन्। उनी अहिले महासंघको रोजगारदाता परिषदको सहसभापति छन्। महासंघका पूर्वअध्यक्ष प्रदिपजंग पाण्डेका छोरा उनी दोस्रो पुस्ताका व्यवसायी हुन्। लोमस ग्रुपले लोमस फर्मास्युटिकल्सका साथै, सिमेन्ट, ऊर्जाका साथै बैंक तथा वित्तीय क्षेत्रमा लगानी गरेको छ।
एसोसिएट उपाध्यक्षमा लडेकी ज्योत्सना श्रेष्ठ ज्वेलरी (गरगहना) क्षेत्रको प्रतिनिधित्व गर्छिन्। मेरिगोल्ड ज्वेलर्स कम्पनी सञ्चालन गरिरहेकी ज्योत्सना हाल नेपाल उद्योग वाणिज्य महासंघमा पर्यटन समिति सभापति छिन्। उनी रत्न तथा आभूषण महासंघकी अध्यक्ष पनि हुन्।
सार्क चेम्बरअफ कमर्सलगायत आधा दर्जन निजी क्षेत्रका संघसंगठनमा उनको उपस्थिति छ। ज्वेलरी व्यवसायीको रूपमा आफ्नो परिचय बनाएकी उनले अब यो परिचय पर्यटन, कृषि, स्वास्थ्य र जलविद्युत क्षेत्रमा पनि विस्तार गरेकी छन्।
वस्तुगत उपाध्यक्ष
वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचन, मनिषलाल प्रधान र हेमराज ढकालले उम्मेदवारी दिएका छन्।
सुकन्तलाल हिराचन निर्माण क्षेत्रमा आबद्ध व्यवसायी हुन्। उनी नेपाल निर्माण व्यवसायी महासंघको पूर्व अध्यक्षसमेत हुन्। अहिले उनी महासंघमा कोषाध्यक्ष छन्।
उमेशलाल श्रेष्ठ पक्षबाट वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवार छन्। हालका महासंघका कार्यसमिति सभापति ढकाल कार्पेट एसोसिएसन तथा चिया उत्पादक संघमा आबद्ध छन्। हेरिटेज कार्पेटका सञ्चालक उनी महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालका भाइ हुन्।
अन्जन श्रेष्ठको प्यानलबाट वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान छन्। उनी टेक्सटाइल तथा रत्न तथा आभूषण क्षेत्रबाट प्रतिनिधित्व गर्छन्। उनी महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधानका छोरा हुन्।