भन्सार महशुलमा आएको गिरावटले समग्र राजस्वमा कमी आएको छ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा (साउनदेखि फागुनसम्म) गत वर्षको यही अवधिको तुलनामा १६ प्रतिशतले राजस्वमा कमी आएको छ।
तर भन्सार विभागमार्फत उठ्ने राजस्व बाहेकको रकम भने १ प्रतिशतले मात्रै घटेको आन्तरिक राजस्व विभागले जनाएको छ।
आन्तरिक राजस्व विभागबाट गत वर्ष साउनदेखि फागुनसम्म दुई खर्ब ८९ अर्ब रुपैयाँ राजस्व उठाएकोमा यो वर्षको सोही अवधिमा दुई खर्ब ८१ अर्ब रुपैयाँ प्राप्ति भएको छ।
भन्सार विभागमार्फत उठ्ने राजस्वमा भने उल्लेख्य कमी आएको छ। भन्सार विभागबाट गत गत वर्ष साउनदेखि फागुनसम्म उठ्ने राजस्वमा करिब २९ प्रतिशतले कमी आएको भन्सार विभागमा निर्देशक पूर्णविक्रम खड्काले बताए।
भन्सार विभागले साउनदेखि फागुनसम्म गत वर्ष तीन खर्ब ५० अर्ब रुपैयाँ राजस्व उठाएको थियो भने यो वर्षको सोही अवधिसम्म तीन खर्ब ७५ अर्ब रुपैयाँ उठाउने लक्ष निर्धारण गरेको थियो।
चालु वर्षको अघिल्लो ६ महिना कतिपय बस्तुको प्रतिवन्ध लगाएको र नेपाल राष्ट्र बैंकले राखेको नगद मार्जिनको कारण आयातमा उल्लेख्य कमिआइ भन्सार राजस्वमा धक्का पुगेको देखिन्छ।
साउनदेखि फागुनसम्म लक्षको तुलनामा ४४ प्रतिशत कम अर्थात् दुई खर्ब ५० अर्ब राजस्व उठेको छ।
आयात प्रतिबन्ध खुला गरेपछि पनि भन्सार विभागमार्फत उठ्ने राजस्वमा सुधार आएको छैन।
फागुन महिनामा गत वर्ष ४१ अर्ब १५ करोड रुपैयाँ राजस्व उठेकोमा यो वर्ष ३८ अर्ब ५१ करोड रुपैयाँ मात्रै राजस्व उठाएको छ। भन्सार विभागले फागुनमा ५९ अर्ब दुई करोड राजस्व उठाउने लक्ष्य दिइएको थियो।
आन्तरिक राजस्व विभागमार्फत उठाइने राजस्वमा भने गतवर्षको भन्दा समग्रमा एक प्रतिशत कमी देखिए पनि आयकर, घरबहाल कर र मूल्य अभिवृद्धिकरमा कमी देखिएको छ।
आयकरमा गत वर्ष साउनदेखि फागुनसम्म एक खर्ब २८ अर्ब आयकर उठेकोमा यो वर्षको सोही अवधिमा एक खर्ब १७ अर्ब रुपैयाँ मात्रै उठेको छ।
घरबहाल कर गत साउनदेखि फागुनसम्म ८७ करोड उठेकोमा यो वर्षको सोही अवधिमा एक अर्ब ६९ करोड मात्रै उठेको छ।
त्यस्तै, मूल्यअभिवृद्धकर तर्फ गत वर्ष साउनदेखि फागुनसम्म ७० अर्ब ७५ करोड उठेकोमा यो वर्षको सोही अवधिमा ६८ अर्ब ७७ करोड रुपैयाँ मात्रै उठेको छ।
गत वर्षको फागुन महिनाको तुलना चालु वर्षको फागुन महिनामा भने आयकर र भन्सार महसुल बाहेक सबै शीर्ककका करमा सुधार आएको छ।
त्यस्तै, शिक्षा सेवामा गत वर्षकोभन्दा दोब्बर राजस्व उठाउन सफल भएको छ। गत वर्ष साउनदेखि फागुनसम्म ४७ करोड २७ लाख शिक्षा कर उठाएकोमा यो वर्षको सोही अवधिमा एक अर्ब ६ करोड बढी उठेको छ।
स्वास्थ्यसेवा तर्फ पनि गत वर्षको तुलनामा बढी राजस्व उठेको छ। त्यस्तै, अन्तशुल्कतर्फ भने गत वर्ष ६२ अर्ब ६४ करोड राजस्व उठाएकोमा यो वर्ष ६४ अर्ब १० करोड राजस्व उठेको छ।
फागुनसम्मको लक्षको तुलनामा भने शिक्षा तर्फको कर बाहेक कुनै पनि शीर्षकमा लक्ष प्राप्ति भएको छैन।