दुई वर्षअगाडि काठमाडौंमा राइड सेयरिङ कम्पनीहरूले बजारमा राम्रै गति लिइसकेका थिए। इ–कमर्समार्फत् दैनिक उपभोग्य र लत्ताकपडाजन्य सानातिना सामानको कारोबार र डेलिभरी फस्टाउँदै थियो। खाना पुर्याउने फुड डेलिभरी कम्पनीहरू त झन् घरघरै पुग्न थालिसकेका थिए।
तर काठमाडौं उपत्यकावासीलाई निजी सरसामान कतै पुर्याउन परे आफैं पुग्नुपर्ने बाध्यताले छाडेको थिएन। अझ अलि केही ठूला सामान एक-दुई किलोमिटरकै दुरीमा पुर्याउनु पर्दा आफैं गाडी खोज्दै हिँड्नु पर्छ। एउटा फ्रिज नै लैजान पनि महँगो भाडा तिर्ने समस्या अहिले पनि छ।
सामान ढुवानीको यही समस्यामा तीन युवाले भने अवसर देखे।
चार्टर एकाउन्टेन्टद्वय सुमन रायमाझी, रन्जिव श्रेष्ठ र अमेरिकामा अध्ययन गर्दागर्दै फर्किएका अमिगो खड्का समस्याको समाधान पहिल्याउनतर्फ लागे।
अनि उनीहरूसहित १८ जना साथी मिलेर लगानी गरी कम्पनी खोले- उपाय सिटी कार्गो।
प्रविधिको जमाना भएकाले उनीहरूले एपमार्फत सामान ढुवानी गर्ने कार्गो सेवा सुरू गरे।
कम्पनीका अध्यक्ष सुमन रायमाझी भन्छन्, 'सामान ढुवानी गर्ने सवारी खोज्न घन्टौं कुर्नुपर्थ्यो। लागतमा पनि मोलमोलाइ गर्नुपर्ने झन्झट। सेवाका नाममा धेरै ठगिने समस्या थियो। ढुवानीमा देखिएको यही समस्या समाधान गर्ने उपाय स्वरूप हामीले उपाय सिटी कार्गो सुरू गरेका हौं।'
काठमाडौंमा जन्मिएको उपाय सिटी कार्गोले दुई वर्षमा फड्को मारेर अहिले देशका मुख्य चार सहरमा फैलिसकेको छ। चार/पाँच जना कर्मचारीबाट थालिएको यो कम्पनीमा अहिले ६५ जना कर्मचारी छन्।
कम्पनीका कार्यकारी निर्देशक अमिगो खड्का हुन् भने रन्जिव श्रेष्ठ निर्देशक। लजिस्टिक डिपार्टमेन्ट सन्दीप सुवेदीले हेर्छन्। राहुल मल्ल ठकुरीले मार्केटिङ, प्रभात आचार्यले टेक्नोलोजी, अक्क्षोप शाक्यले अपरेसन विभाग हेर्छन्।
त्यस्तै चार पांग्रेका दुई हजार र दुई पांग्रेका पाँच सय गरी दुई हजार पाँच सय चालक कम्पनीसँग जोडिएर काम गरिरहेको अध्यक्ष रायमाझीले बताए।
उपाय सिटी कार्गोमार्फत सामान ढुवानी गर्न सजिलो छ। कार्गोले साना-ठूला सबै प्रकारका सामान ढुवानी गर्छ।
कम्पनीको वेबसाइट वा एपमा गएर आफ्नो सामानको तौल वा आवश्यकता अनुसार सवारीसाधन छान्न सकिन्छ। सामानको प्रकार, छानिएको गाडी, पुर्याउने गन्तव्यको दुरी लगायत विवरण हालेपछि कम्पनीले अनुमानित भाडा बताइदिन्छ। अनि सेवाग्राहीले उपायको ढुवानी सेवा लिने-नलिनेबारे आफैं निधो गर्न सक्छन्। उपायको गाडी १५ मिनेटदेखि आधा घन्टा भित्रमा उपभोक्ताले भनेको ठाउँमा पुग्ने कम्पनीको दावी छ।
'सुरूमै ढुवानी लागत देखाएपछि मोलमोलाइ गरिराख्नु परेन। ग्राहक ठगिने समस्या पनि भएन,' रायमाझीले कार्गो सेवाको सुविधाबारे भने।
कसैलाई दिनभरि सामान ओसार्नु परेको छ भने पनि यो सेवा लिन सकिन्छ। आठ घन्टा, चार घन्टा वा आफूलाई आवश्यक परेको समयमा सेवा लिन सकिन्छ।
रायमाझीका अनुसार खास गरी कर्पोरेट हाउसहरूले दिनभर वा महिनाभरका लागि बुकिङ गर्छन्। कहिलेकाहीँ एकैपटक दसवटा गाडी चाहियो भनेर माग आउँछ। घर सर्दा पनि कम्पनीले ढुवानी सेवा दिन्छ। यति मात्र नभएर घरको खानेकुरा वा केही सामान कार्यालय ल्याउनुपर्यो वा रेस्टुरेन्टबाटै मगाएको हो भने पनि कार्गोमार्फत ल्याउन सकिन्छ।
'कोही अफिसमा छ, घरबाटै तातो खाजा ल्याएर खान्छु भन्ने हो भने त्यो सेवा पनि हामी दिन्छौं,' रायमाझीले भने, 'त्यसका लागि घरको पिकअप प्वाइन्ट राख्ने र अफिसमा ड्रपअप प्वाइन्ट राख्ने। मोटरसाइकलले सजिलै ल्याइदिन्छ। यसमा हामीले डेलिभरी शुल्क मात्रै लिन्छौं। सेवाग्राहीलाई बढी भार पर्दैन।'
त्यस्तै साना व्यापारीले ग्राहकलाई घरमै सामान डेलिभरी गरिदिन समेत उपाय कार्गो सेवा प्रयोग गर्न सक्छन्। कम्पनीले अहिले सामान ढुवानीका लागि बुद्ध एयरसँग पनि सम्झौता गरेको छ। बुद्ध एयरबाट आएका सरसामान सेवाग्राहीको घरसम्म उपाय सिटी कार्गोले पुर्याइदिन सक्छ।
यसरी सामान ओसारपसार गर्दा गाडी अन्तै कतै पुग्ला भनेर चिन्ता लिनु पर्दैन। सामान लिन र बोकेर हिँडेका सबै गाडी कम्पनीको ट्र्याकिङ सिस्टमको निगरानीमा रहने निर्देशक रन्जिव श्रेष्ठले बताए।
'चालक सामान लिन गइरहेको छ कि छैन, लिएर आयो वा आएन भन्ने ट्र्याकिङमार्फत हेर्न सकिन्छ,' श्रेष्ठले भने। त्यस्तै सामग्री लिएपछि ठाउँमा नपुग्दासम्मको जिम्मेवारी कम्पनीले नै लिन्छ।
काठमाडौंको घन्चमन्च र ट्राफिक जाममा सानातिना सामान बोकेर हिँडेका गाडी धेरैबेर अड्किन सक्छन्। यो समस्या समाधान गर्न, डेलिभरी सेवा छिटो र सहज बनाउन कम्पनीले दुईपांग्रे सवारीको प्रयोग थालेको हो।
दुईपांग्रे सवारी सेवा युकेएडको 'स्किल्स फर इम्प्लोयमेन्ट' कार्यक्रमअन्तर्गत साझेदारीमा सुरू गरिएको श्रेष्ठले जानकारी दिए। बीस किलोभन्दा कम तौल भएका सामग्री पठाउन परे कम्पनीले दुईपांग्रेमार्फत सेवा दिन्छ। छिटो पनि हुने, सस्तो पनि पर्ने!
योभन्दा बढी तौलका सामान मारूती कार्गो भ्यान तथा टाटा एसजस्ता सानो पिकअपमार्फत पठाइन्छ। अनि दुई टनसम्मका सामान बोलेरोजस्ता अलि ठूला पिकअपमा पठाइन्छ।
रायमाझीका अनुसार २५ करोड बढी लगानी रहेको कम्पनीले हाल दुई हजार पाँच सय सवारीमार्फत सेवा दिइरहेको छ। अहिलेसम्म कार्गोका सात हजार बढी ग्राहक छन्। कम्पनीको योजना देशभर सेवा विस्तार गर्ने हो।
'यसका लागि हामीले डोल्मा इम्प्याक्ट कोषसँग सम्झौता गरेका छौं। लगानीकर्ता पनि थपिएका छौं,' उनले भने।
डोल्मा कोषसँग कार्गोमा १८ करोड रूपैयाँ लगानी गर्ने गरी सम्झौता भएको हो। उक्त रकमबाट पहिलो चरणमा चितवन, हेटौंडा, वीरगन्ज, जनकपुर, इटहरी, धरान, विराटनगर, बिर्तामोड जस्ता दस प्रमुख सहरमा सेवा विस्तार गरिनेछ। साथै डेलिभरीका लागि आवश्यक पूर्वाधारमा समेत रकम खर्चिने योजना कम्पनीले बनाएको छ।
कार्गोले अहिले काठमाडौं उपत्यकासँगै पोखरा, बुटवल र भैरहवामा सेवा दिइरहेको छ।
'अबको डेढ-दुई वर्षभित्र देशभर सेवा विस्तार गर्ने लक्ष्य छ। हामी शाखाहरू अब फ्रेन्चाइज मोडलमा विस्तार गर्छौं,' उनले भने, 'पाटनमा हामी अर्को महिनादेखि फ्रेन्चाइज मोडलको शाखा विस्तार गर्दैछौं।'
यो मोडलका शाखामा सम्बन्धित ठाउँका स्थानीयले लगानी गर्न सक्ने उनले बताए। यसनिम्ति प्रविधि र सेवा कसरी सञ्चालन गर्ने भन्ने कम्पनीले सिकाउनेछ। त्यसबाट आएको आम्दानी उपाय कार्गो र लगानीकर्ताबीच बाँडिन्छ।
कार्गोले रोजगारी सिर्जनामा पनि पहल गरिरहेको छ। कम्पनीका निर्देशक श्रेष्ठका अनुसार युकेएडको सीप परियोजनाको साझेदारीमा दुई हजार छ सय बढी सवारी चालक तथा किसानलाई स्वरोजगार बनाउने योजना छ। स्किल फर इम्प्लोयमेन्ट कार्यक्रमअन्तर्गत महिला तथा विदेशबाट फर्किएकालाई विशेष प्राथमिकता दिइने श्रेष्ठ बताउँछन्।
उनले भने, 'कसैले गाडी किनेर चलाउन चाहन्छ भने बैंकिङ पार्टनर कुमारी बैंकसँग सस्तो ब्याजदरमा किन्ने व्यवस्था मिलाइदिन्छौं। डाउनपेमेन्ट पनि कम हुन्छ।'
उपाय कार्गोमा आबद्ध दुई तथा चारपांग्रे सवारी चालकले महिनाको २५ हजारदेखि ९० हजार रूपैयाँसम्म कमाइरहेको पनि उनले बताए। कार्गोमार्फत सेवाग्राही र चालक दुवैलाई सहज भएको उनीहरू दावी गर्छन्।
'हाम्रो प्रविधिमार्फत ढुवानी गर्नेलाई सस्तो पर्यो, चालकले पनि दिनभर अर्डर पुर्याउने हुँदा कमाइ राम्रो हुने भयो। हामीले त व्यवस्थापन गरेबापत थोरै कमिसन राख्ने हो,' निर्देशक श्रेष्ठले भने।
कम्पनीबाट चित्तबुझ्दो आम्दानी भइरहेको उनीहरूको भनाइ छ।
लकडाउनका बेला नियमितजस्तो काम हुन नसके पनि कार्गोमार्फत् अत्यावश्यक वस्तु ढुवानी भइरहेको थियो। उपायले दोस्रो लकडाउनमा औषधिदेखि अक्सिजनसम्म ढुवानी गर्यो। कम्पनीले २५ सय वटासम्म सिलिन्डर अक्सिजन निःशुल्क डेलिभरी गरेको अध्यक्ष रायमाझीले जानकारी दिए।
अब कम्पनीले ढुवानीमा विद्युतीय सवारीको प्रयोग बढाउँदै लैजाने योजना बनाएको छ। तराई क्षेत्रमा विद्युतीय अटो रिक्सामार्फत ढुवानी गर्ने सोच हो। साथै तेस्रो पक्ष लजिस्टिक सुविधा सुरू गर्ने योजना पनि छ।
'अहिले इ-कमर्स फस्टाएको छ। हामी पनि विस्तारै सामान उठाउने, राख्नेदेखि अर्डर आएपछि बेचिदिने सम्मका काम गर्न सक्छौं। अबको दुई वर्षभित्र यो सेवा सुरू गर्छौं,' उनले भने, 'त्यस्तै फ्रोजन तथा डेरीजन्य खानेकुरा, तरकारी-फलफूल, माछा-मासु ताजै पुर्याउने व्यवस्था पनि सुरू गर्छौं।'
(उपाय सिटी कार्गोको वेबसाइट लिंक, फेसबुक लिंक र सम्पर्क नम्बरः ९८८१०९८८३०)