भाटभटेनी ग्रुपका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले सरकारलाई आवश्यक परे आफूले आधा सम्पत्ति दिन तयार रहेको बताएका छन्।
भदौ २४ गतेको तोडफोड तथा आगजनीमा ठूलो क्षति बेहोरेका गुरुङले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा आफू राज्यलाई सहयोग गर्न तयार भएको बताएका हुन्।
‘मैले त पहिलेदेखि नै यो भन्दै आएको थिएँ। राज्यलाई आवश्यक परेको बेला म आधा सम्पत्ति दिन तयार छु,’ गुरुङले सेतोपाटीसँग भने, ‘आज प्रधानमन्त्रीसँगको भेटमा पनि मैले यही भनेको हुँ।’
गुरुङले व्यवसाय पुनःसञ्चालनका लागि भने तत्काल राज्यबाट राहत र सुरक्षा चाहिएको तर्क गरेका थिए।
भदौ २४ गतेको आन्दोलनमा गुरुङले सञ्चालन गरेका भाटभटेनीको मुख्य कार्यालयसहित २८ वटा स्टोरमध्ये १२ वटामा आगजनीसहित पूर्ण क्षति भएको छ। त्यस्तै, नौ वटामा तोडफोड र सातवटामा मात्रै कुनै क्षति पुगेको थिएन।
तोडफोड भएका सुपरस्टोर उनले पुनःसञ्चालनमा ल्याएका छन्। अहिले १६ वटा सुपरस्टोर सञ्चालनमा रहेका छन्।
आइतबारको भेटमा उनले बीमा दाबीलाई छिटो–छरितो गरिदिन र सुरुमै कम्तीमा ५० प्रतिशत दाबी भुक्तानीको व्यवस्था गर्न आग्रह गरेका थिए।
भाटभटेनी समूहले १० हजार व्यक्तिलाई रोजगारी दिएको छ। हालैको प्रदर्शनका कारण १२ वटा सुपरस्टोर तत्कालका लागि बन्द भए पनि उनले एक जना पनि कर्मचारी ननिकाल्ने बताएका छन्। त्यस्तै, कुनै पनि सेवासुविधा कटौती नगर्ने उनको प्रतिबद्धता छ।
भाटभटेनी सुपरस्टोरले वार्षिक रूपमा २७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको छ।