दक्षिण कोरिया, जापान, युएई लगायत मुलुकले नेपाली श्रमिकहरूलाई बन्देज लगाए भन्ने चर्चा केही दिनयता सामाजिक सञ्जालहरूमा चलिरहेको छ।
जेन–जी आन्दोलनपछि काठमाडौं लगायत प्रमुख सहरहरूमा भएको विध्वंशले सुरक्षा कारण देखाउँदै यी मुलुकले नेपालीहरूलाई भिसा रोकेको र यसबाट युवाहरूलाई ठूलो असर पर्ने तर्क पनि कतिपयले गर्न थालेका छन्।
तर के यी प्रमुख गन्तव्य मुलुकहरूले नेपाली श्रमिकहरूलाई भिसा दिन रोकेकै हुन्?
हामीले यसबारे वैदेशिक रोजगार विभागका अधिकारी, रोजगार अनुमति प्रणाली (इपिएस) शाखा र म्यानपावर व्यवसायीहरूसँग कुराकानी गरेका छौं।
वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालले युएईले भिजिट भिसामा जान रोक लगाएको भए पनि कामदार भिसामा जान नरोकेको बताए। त्यसबाहेक जापान, कोरिया लगायत अरू देशमा जान त कुनै समस्या नभएको उनको भनाइ छ।
'युएईले कामदार भिसामा कडाइ गर्न थाल्यो भन्ने पनि हामीलाई आधिकारिक जानकारी छैन,' उनले भने, 'हामीले श्रम स्वीकृति दिइरहेकै छौं।'
इपिएस शाखाका प्रमुख राजकुमार राईले दक्षिण कोरियाले इपिएसमार्फत् नियमित श्रमिक लगिरहेको बताए।
'इपिएसमार्फत् श्रमिकहरू नियमित उडिरहनुभएको छ। कुनै अवरोध छैन,' उनले भने।
शाखाका अनुसार अहिले इपिएसमार्फत सातामा औसत २५० हाराहारी श्रमिक उडिरहेका छन्। यही असोज ५ देखि ८ गतेसम्म २६८ जना श्रमिक कोरिया उड्दैछन्।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले भने गन्तव्य मुलुकहरूले श्रमिक लैजान रोक नलगाएको तर कतिपय मुलुकले भिसा दिन कडाइ गरेको बताए।
'कामदार लैजानै रोकेको त होइन, तर केही मुलुकले भिसा स्वीकृत नगरेको अवस्था हो। साउदी, युएई लगायत मुलुकले नेपालको जेन–जी प्रदर्शनपछि आन्तरिक सुरक्षाको कारण देखाउन थालेका छन्। आधिकारिक रूपमा चाहिँ केही भनेका छैनन्,' उनले भने, 'तर अनौपचारिक रूपमा जेलबाट कैदीबन्दीहरू बाहिर निस्किएकाले अपराधमा संलग्न व्यक्तिहरू आफ्नो देश नछिरून् भन्ने उनीहरूको चासो छ।'
युएईले पनि नयाँ भिसा स्वीकृतिका लागि प्रहरी रिपोर्ट अनिवार्य माग्ने कुरा उठेको उनले बताए। यसबारे पनि आधिकारिक जानकारी आएको छैन।
संघका सचिव कुन्छा दोर्जे दिमदोङ युएई, साउदी, कतार लगायत अरबी मुलुकहरू नेपालको पछिल्लो आन्दोलन क्रममा भएका गतिविधि देखेर अचम्भित भएको बताउँछन्।
'आधिकारिक रूपमा केही भनेका छैनन्। तर व्यक्तिगत चिनजानका आधारमा त्यहाँको नीतिगत तहका मान्छेसँग कुरा गर्दा आफ्नै देश जलाउनेहरू यहाँ आए के गर्लान् भन्दै उनीहरूले सुरक्षा चिन्ता बढेको बताएका छन्। नेता, सुरक्षाकर्मी कुटिएको देखेका छन्। त्यस्ता अपराधिक गतिविधिमा संलग्न र जेलबाट भागेका कैदीहरू पनि आउने हुन् कि भन्ने जोखिमले युएईले हतार हतार भिजिट भिसा बन्द गर्यो,' उनले भने।
भिजिट भिसामा जो कोही तुरून्तै जानसक्ने जोखिम भएकाले युएईले तुरून्तै बन्द गरेर कामदार भिसा पनि स्वीकृत नगरेको उनले बताए।
'अहिले पुरानो जारी भइसकेको भिसाबाट श्रमिकहरू गइरहेका छन्। अहिले दिएको आवेदन चाहिँ होल्डमा छ। नयाँ भिसाहरू नै लागेको छैन,' उनले थपे।
नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख जनशक्ति श्रम बजारमा प्रवेश गर्छन्। सबैले आन्तरिक श्रम बजारमा रोजगारी पाउने अवस्था छैन। अधिकांश युवाशक्ति वैदेशिक रोजगारीमा निर्भर छ।
वैदेशिक रोजगार विभागका अनुसार पछिल्ला वर्ष वार्षिक ७ लाखभन्दा धेरै युवा नयाँ तथा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गइरहेका छन्।
आर्थिक वर्ष २०८१/८२ मा युएईका लागि मात्र २ लाख ७४ हजार ५९० जनाले (नयाँ तथा पुनः) श्रम स्वीकृति लिएका थिए। आर्थिक वर्ष २०८०८१ मा पनि सबभन्दा धेरै युवाले युएईका लागि नै श्रम स्वीकृति लिएका थिए।
त्यो वर्ष युएईका लागि १ लाख ९३ हजार ४३८ जनाले श्रम स्वीकृति लिएका थिए।
***