चालु आर्थिक वर्षको सुरुका दुई महिनामा वैदेशिक लगानीको स्वीकृतिमा उल्लेख्य सुधार देखिएको छ।
उद्योग विभागको तथ्यांक अनुसार साउन र भदौमा ३३ अर्ब ९ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत भएको छ। यो गत वर्षको सोही अवधिको १२ अर्ब रुपैयाँको तुलनामा करिब तीन गुणाले बढी हो।
चालु आर्थिक वर्षमा स्वचालित मार्गबाट १ अर्ब ३६ करोड र नियमित प्रक्रियाबाट ३१ अर्ब ७२ करोड ३८ लाख रूपैयाँको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृत भएको छ।
यद्यपि, साउनको तुलनामा भदौमा एफडीआई स्वीकृतिमा भने केही कमी आएको छ।
विभागका अनुसार साउनमा २४ अर्ब १० करोड बराबरको एफडिआई स्वीकृत भएको थियो भने भदौमा८ अर्ब ९८ करोड ७० लाखको मात्र स्वीकृत भएको छ।
साउनमा २० अर्ब रुपैयाँको चिनियाँ लगानी भैँसीको मासु प्रशोधन उद्योग खोल्नका लागि स्वीकृत भएकोले साउनको तथ्यांक उच्च देखिएको हो।
दुई महिनाको अवधिमा कुल २३६ वटा उद्योग दर्ता भएका छन्। यसरी दर्ता भएका उद्योग मध्ये, ठूला उद्योग ७ वटा, मझौला ४ वटा, रसाना २२५ वटा छन्।
भदौमा मात्रै ५ वटा ठूला उद्योग र सबै ४ वटा मझौला उद्योग दर्ता भएका हुन्। साना उद्योगमध्ये १०० वटा भदौमा दर्ता भएको विभागले जनाएको छ।
दर्ता भएका उद्योगमध्ये, सूचना प्रविधि र पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी स्वीकृत भएको छ। कुल दर्ताको ५१ प्रतिशत अर्थात् १२० उद्योग सूचना प्रविधिमा र ७९ उद्योग पर्यटनमा दर्ता भएका छन्।
यसबाहेक, सेवामा १५, उत्पादनमा १२, कृषिमा ९ र ऊर्जामा १ उद्योग दर्ता भएका छन्।
लगानी प्रतिबद्धताको हिसाबले भने कृषि क्षेत्र अग्रस्थानमा छ। कृषिमा २१ अर्ब ५९ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ भने पर्यटनमा ६ अर्ब ६९ करोड रुपैयाँको लगानी स्वीकृत भएको छ।