दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहोरबाट कम्पोष्ट मल उत्पादन सुरू गरेको नौ महिना भइसकेको छ।
क्लिन अफ नेपाल र एसिया फाउन्डेसनको सहयोगमा भारतको दिल्लीबाट झन्डै १२ लाख मूल्य बराबरको एउटा कम्पोष्ट मल बनाउने मेसिन पाएपछि गल्ने फोहोरबाट मल उत्पादन थालिएको थियो।
तुलसीपुर–६ स्थित स्याउली बजार नजिकैको अस्थायी ल्याण्डफिल साइडमा मेसिन राख्न घर बनाइएको छ। सोही मेसिनबाट गत मंसिरदेखि गल्ने फोहरहरूबाट कम्पोष्ट मल उत्पादन हुँदै आएको छ। मेसिनमा कुहिने फोहोर राखेको १५ दिनमा कम्पोष्ट मल तयार हुन्छ।
सुरूका दिनहरूमा दुई सय केजी गल्ने फोहोर राखेमा दैनिक ४० केजी कम्पोष्ट मल उत्पादन हुँदै आएको थियो। पछिल्लो समय आधा मात्रै अर्थात् दैनिक जम्मा २० केजी मात्रै मल उत्पादन हुने गरेको सरसफाइ तथा फोहोर व्यवस्थापन शाखाका उपप्रमुख खिमकान्त पाण्डेले सेतोपाटीलाई बताए।
तुलसीपुरको गल्ने फोहोरबाट मंसिरयता झन्डै ६० बोरा जति कम्पोष्ट मल उत्पादन भएको छ।
उत्पादन सुरू भएको चार महिना पहिले नै उपमहानगरले फोहोरबाट उत्पादित मललाई मोहोरमा बदल्ने सपना संगाल्दै प्रतिकेजी २० रुपैयाँमा किसानलाई बेच्न गरी दररेट कामय गरेको थियो। तर, अझैसम्म मल बिक्री सुरू हुन सकेको छैन। ‘उत्पादित कम्पोष्ट मल सोचे जति गुणस्तरीय नहुँदा हालसम्म उत्पादनको काम परीक्षणकाल जस्तोमात्रै भइरहेको छ,’ पाण्डेले भने, ‘गुणस्तरीय मल नभएकै कारण उपमहानगरपालिकाले उत्पादित कम्पोष्ट मल किसानलाई बेच्न हिच्किचाउनु परेको हो।’
‘चियाको दानाजस्तो मल उत्पादन हुनु पर्ने हो,’ पाण्डेले भने, ‘तर, उत्पादित मल आलुको दाना जत्रो छ र त्यो पनि समाउँदा फिस्स हुने लिसो छ।’
हालसम्म मेसिन सञ्चालन गर्दा आवश्यक पर्ने बिजुली बत्ती र तलबमा राखिएका एक जना मेसिन अपरेटरको पैसा नगरले तिर्दै आएको छ।
‘हामीलाई आशा थियो मेसिनले धमाधम सोचे जसरी कम्पोष्ट मल उत्पादन गर्नेछ,’ पाण्डेले भने, ‘किसानलाई सस्तोमा कम्पोष्ट मल बेच्ने र अग्र्यानिक उत्पादन बजारमा भित्र्याउने सपना अझै पूरा भएको छैन।’
राम्रो गुणस्तर नभएकै कारण उत्पादित मल थन्क्याएर राखिएको छ।
उत्पादित मलको गुणस्तर परीक्षणका लागि कृषि शाखालाई पठाइएको र रिपोर्ट राम्रो नआउँदासम्म बिक्री वितरण नगरिने उनले जानकारी दिए।
मल किन सोचेजस्तो गुणस्तरको उत्पादन नभएको हो? भन्नेबारे अनुसन्धान हुन बाँकी रहेको पाण्डेले बताए।
‘हाम्रा शाखा प्रमुख पौडेल सर आफैं दिल्ली गई छानेर ल्याएको मेसिन हो र त्यो जडान गर्ने प्राविधिक पनि उतैबाट आएका थिए,’ उनले भने, ‘आज किन उत्पादन कम भयो र किन लिच्चडमात्रै मल उत्पादन भइरहेको हो? हामीले भन्न सक्ने अवस्था छैन।’
पाण्डेका अनुसार बजारबाट प्रशस्तै कुहिने फोहोर उपलब्ध हुने भए पनि मेसिनमा आएको खराबीका कारण उत्पादनमा समस्यामा भइरहेको हो।
मेसिनले फोहोर तान्न छोडेपछि पछिल्लो समय धानको भुस, काठको भुस, सालका पात र बजारबाट प्राप्त कुहिने फोहरको मात्रा मिलाएर राख्न थालिएको पाण्डेले बताए।
मेसिन अपरेटर ताराप्रसाद परियारका अनुसार ती कुराहरू मेसिनमा राखेपछि मल उत्पादन गर्न रातदिन मेसिन चल्नु पर्छ। मेसिनका लागि आवश्यक मात्रामा बजारबाट कुहिने मल प्राप्त गर्न नसकिएको उनले बताए।
‘मेसिनलाई चाहिने जति कुहिने फोहोर उपलब्ध हुन नसकेकै कारण हामीले आसपासका वन जंगलमा गई सालका पात ल्याउने गरेका हौंं,’ परियारले भने, ‘सालको पात हालेपछि झन्डै एक महिना जति मेसिन बिग्रियो र पछि आफैंले खोलेर मर्मत गरी काम चलाउसम्म बनाएको हुँ।’
सालको पात राख्न थालेपछि पटक/पटक बीच बीचमा अड्किने गरेको तथा मेसिनले राम्रोसँग काम गर्न छोडेको अनुभव उनले सुनाए।
‘२४ दिन जति मेसिन बिग्रिँदा यो बीचमा झन्डै तीन सय केजीभन्दा बढी मल कम उत्पादन भएको छ,’ परियारले भने, ‘यस्तो अवस्था आउँदा पनि तातिनु पर्ने जिम्मेवार मानिसहरू कोही तातिँदैनन्। यसबारे कसैलाई खासै मतलब छ जस्तो मलाई लाग्दैन।’
बंगुर पाल्ने किसानले बजारका होटल र मासु मण्डीबाट उत्पादन हुने गल्ते फोहोर दिनहुँ किनेर लैजाने हुँदा बजारबाट चाहे जति फोहोर उपलब्ध हुन नसकेको परियारको बुझाइ छ।
‘मासुजन्य फोहोर, गोबी, आलुजस्ता कुहिने फोहोर वस्तुहरू बंगुर पाल्ने किसानले ठेक्कामा बजारबाट दिनहुँ किनेर लैजाने गरेका छन्,’ परियारले भने, ‘मेसिन सञ्चालनका लागि आवश्यक पर्ने कुहिने फोहोर प्राप्त गर्न कठिनाइ भएकै कारण स्थानीय सामुदायिक वनसँग समन्वय गरी सालका पातहरू ल्याउनु परेको हो।’
शाखा प्रमुख माधव पौडेलले तुलसीपुर बजारबाट दैनिक २५ टन जति फोहोर निस्कने गर्छ। त्यसमध्ये आठ टन गल्ने फोहोर र १७ टन नगल्ने फोहोर रहने गर्छ।
कम्पोष्ट मल उत्पादन गर्ने यस्तै दुइटा मेसिन तुलसीपुरमा उपलब्ध भइदिए बजारको फोहोर मैला व्यवस्थापन गर्न सहज हुने र फोहोरबाट मोहोर आर्जन गर्न सजिलो हुने उनले विश्वास व्यक्त गरे।
मेयर खड्काले आफूलाई मेसिन बिग्रिएकोबारे सूचना प्राप्त हुनासाथ विज्ञ प्राविधिक बाँकेको नेपालगंज वा भारतबाट झिकाउन निर्देशन दिएको बताए। ‘मेसिन बिग्रिएको हो कि प्राविधिकले चलाउन नजानेका हुन्, त्यो कुरा विज्ञ प्राविधिक आएपछि मात्रै थाहा हुनेछ,’ उनले भने, ‘हामी राम्रो उद्धेश्यका लागि थालेको प्रयास सफल गराउन लागि पर्नेछौं।’
बजारबाट आवश्यक मात्रामा गल्ने मल पाउन नसकेको भन्ने गरिए पनि यथार्थ के हो भनेर त्यसबारे अनुसन्धान गर्न जरूरी रहेको उनले बताए।
फोहोर समस्या नभइ त्यसलाई मोहोरमा बदल्ने सोचका साथ काम थालनी गरिए पनि सोचे अनुसार मल उत्पादन नहुँदा बाहिर दिन नसकिएको उनले बताए।
‘यदि सोचे अनुरूप मल उत्पादन हुन्थ्यो भने हामी उपमहानगरपालिकाका सबै वडाहरूमा उत्पादित कम्पोष्ट मल वितरण गर्ने थियौं,’ उनले भने ‘अग्र्यानिक खेती गर्न चाहने किसानलाई केही सस्तोमा मल दिन सकिए राम्रै हुने थियो।’
चिरोमा नगल्ने फोहोर पुर्नु जोखिम
तुलसीपुर– ६ र १२ को सीमानामा पर्ने महेन्द्र स्कुलदेखि पश्चिमतर्फ र टरिगाउँ एयरपोर्टदेखि पूर्वतर्फको चिरोमा तुलसीपुरको फोहोर फालिँदै आइएको छ। कम्पोष्ट मल उत्पादनका लागि मेसिन पनि यही राखिएको छ।
तुलसीपुरको यो अस्थायी डम्पिङ साइट हो। स्थायी डम्पिङ साइड बनाउन नसक्दा तुलसीपुरले बजारमा उत्पादित फोहोर कहिले कतै र कहिले कतै फाल्दै आएको छ। यसअघिसम्म तुलसीपुरको फोहोर हाल अटो भिलेज रहेको क्षेत्रको पातुखोला बगर क्षेत्रमा फालेर गाड्ने गरिएको थियो।
विगत केही वर्षयता चिरोमा फोहोर फाल्दै त्यसै गर्दै आइएको छ। नकुहिने फोहोर चिरो अर्थात् अस्थायी डम्पिङ साइटमा राखेर माटो तथा गिट्टीले पुर्दै आइएको छ।
नगल्ने फोहोरलाई चिरोमा फाल्ने र त्यसलाई बालुवा वा गिट्टीले माथिबाट पुर्ने काम नगरले गर्दै आएको भए पनि त्यो भविष्यका लागि घातक हुन सक्ने स्थानीय चिन्ता जाहेर गर्दै आएका छन्।
‘भविष्यमा यसरी भाटेको घातक नगल्ने फोहोरहरू पानीले निकाल्दै दक्षिण तर्फका खेतबारीमा पुर्याउँदैन भन्ने कुरा कसरी पत्याउनु,’ स्थानीय शम्भु विकले भने, ‘अलि ठूलो झरी परे त्यो सबै यही चिरोमै खस्ने त हो नि? प्रकृतिले बनाएको बाटो माँस्न खोज्नु ठूलो मूर्खता हो।’
विगतमा तुलसीपुरले फोहोर व्यवस्थापनका लागि भनेर तुलसीपुर–१३ फूलबारीको जंगल क्षेत्रमा चार बिगाहा बढी जग्गा खरिद गरेको थियो। त्यहाँ ठूलो अनियमितता भएको ठहर गर्दै मुद्दा परेको छ। अदालतमा मुद्दा विचाराधीन रहेको हुँदा उपमहानगरपालिकाले फोहोर चिरोमा फाल्दै आएको छ।
पछिल्लो समय मेयर खड्काले आफ्नै वडा तुलसीपुर–१९ मा फोहोर व्यवस्थापनका लागि चार बिगाहा क्षेत्रफलको एउटा चिरो उपयोग गर्नेबारे कुरा भइरहेको जानकारी दिएका छन्। तर कतिपय नगरका जनप्रतिनिधि भने उपमहानगरपालिकाको फोहोर व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताउँदै आएका छन्।
त्यसैका लागि गत माघमा तुलसीपुर–६ का वडाध्यक्ष दुजमान भण्डारीको नेतृत्वको कार्यदलले उपमहानगरसँग सहकार्य गर्न निजी क्षेत्रले केही शर्तहरू पूरा गर्नुपर्ने प्रतिवेदन पालिकामा बुझाएको थियो। जसमा मुख्य कुरा उचित स्थानमा जग्गा व्यवस्थापन गर्नुपर्ने भन्ने छ। जग्गा व्यवस्थापन भए पनि आसपासका क्षेत्रले फोहोर व्यवस्थापनका लागि स्वीकृति दिएको हुनुपर्ने शर्तमा उल्लेख छ।
त्यसरी उपमहानगरसँग फोहोर व्यवस्थापनमा सहकार्य गर्न चाहने निजी कम्पनीले सम्झौता भएको मितिदेखि तीन वर्षपछि पालिकालाई हरेक वर्ष आम्दानीको सात प्रतिशतका दरले हुन आउने रकम बुझाउनुपर्ने उल्लेख छ।
निजी क्षेत्रले जग्गा व्यवस्थापन गर्न सहज देखिँदैन।
‘निजी क्षेत्रलाई जग्गा व्यवस्थापन गर्न जति चुनौतीपूर्ण छ उसलाई बस्ती क्षेत्रमा सर्वसाधारणसँग स्वीकृति लिन पनि उत्तिकै चुनौती हुने देखिन्छ,’ एक कर्मचारीले भने, ‘त्यसैले स्थानीय सरकार आफैंले आफ्नो क्षेत्रको सार्वजनिक जग्गा उपयोग गरी फोहोर व्यवस्थापन गर्नु उचित हुने म ठान्छु।’
कतिपयले फोहोर व्यवस्थापनका नाममा व्यक्तिगत लाभ लिन प्रपञ्च गरिरहेको हुँदा निजी क्षेत्रको कुरा गर्ने गरेको भन्दै उपमहानगरपालिका आफैंले त्यसको जिम्मा लिनु उचित हुने उनको भनाइ थियो।
हालसम्म उपमहानगरको शर्त अनुसार कुनै पनि निजी क्षेत्र फोहोर व्यवस्थापनमा साझेदारी गर्नका लागि इच्छुक देखिएको छैन।