बजारमा गोलभेँडाको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारको तथ्यांक अनुसार बजारमा गोलभेँडा ठूलो भारतीय, भारतीय सानो, लोकल सानो, तराई सानो र टनेल गरी पाँच प्रकारको आउँछ।
ती मध्ये ठूलो गोलभेँडा होटल तथा रेष्टुरेन्टमा सलादमा प्रयोग हुन्छ भने साना गोलभेँडा दैनिक रूपमा खानामा प्रयोग हुन्छ।
मंगलबार कालीमाटी बजारमा नेपाली ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम एक सय रूपैयाँदेखि अधिकतम एक सय दश रूपैयाँ र भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थाक मूल्य न्यूनतम ७० रूपैयाँदेखि अधिकतम ८० रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, नेपाली सानो गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम ७५ रूपैयाँदेखि अधिकतम ८५, भारतीय सानो गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ५० र सानो टनेल गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम ८५ देखि अधिकतम ९५ रूपैयाँमा कारोबार भइरहेको छ।
एक साताअघि कालीमाटी बजारमा नेपाली ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम ६० देखि अधिकतम ७० रूपैयाँ र भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थाक मूल्य न्यूनतम ५५ रूपैयाँदेखि अधिकतम ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, नेपाली सानो गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम ३० रूपैयाँदेखि अधिकतम ४०, भारतीय सानो गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम ४३ देखि अधिकतम ४८ र सानो टनेल गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम ४० देखि अधिकतम ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बजारमा माग अनुसारको गोलभेँडा आपूर्ति हुन नसक्दा मूल्य बढेको कालीमाटी बजारका गोलभेँडा व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले बताए।
'उत्पादन कम भएर नै मूल्य बढेको हो,' उनले भने।
उनका अनुसार गोलभेँडाको मूल्य बढ्न थालेको तीन/चार दिन भयो।
अहिले कालीमाटीमा गोलभेँडाको प्रकार अनुसार प्रतिक्रेट थोक मूल्य १९ सयदेखि २२ सयसम्म कारोबार भइरहेको छ।
एक साताअघि बजारमा गोलभेँडा प्रतिक्रेट थोक मूल्य १२ सयदेखि १३ सयमा कारोबार भएको थियो।