दाङको लमही नगरपालिका–२, बरूवा गाउँमा बाह्रैमास सिँचाइ हुन्छ। राप्ती गाउँपालिका–१, भालुवाङस्थित राप्ती नदीको पुलनजिकैबाट प्रगन्ना सिँचाइ आयोजनाको पानीले बरूवा गाउँको खेतबारीमा सिँचाइ हुन्छ।
यतिखेर यो गाउँ चैतेमकैले ढाकिएको छ। केही किसान मकै थन्क्याउन व्यस्त छन्। मकै भित्र्याएपछि उनीहरू धान रोप्छन्। बरूवा गाउँको जमिन अन्नबाली उत्पादनमा अत्यन्तै उर्वर मानिन्छ।
त्यही गाउँका एक किसान भने अन्नको भन्दा धेरै घाँसको खेती गर्छन्।
उनी हुन् ४१ वर्षीय सुरजलाल चौधरी।
'मैले घाँसखेती थालेको दस वर्ष भयो। आम्दानीको मुख्य स्रोत यही हो,' सुरजले भने, 'भुइँघाँसमा नेपियर, सुपर नेपियर, रेड नेपियर, मुलाटो, सितेरिया लगाएको छु। डाले घाँसमा सिडलेस किम्बु, बडहर, भटमासे, इपिलइपिल, बकाइना लगाएको छु।'
उनले दुई कट्ठा जमिनबाट घाँसखेती थालेका थिए। अहिले तीन ठाउँमा गरेर कुल २४ कट्ठा जमिनमा १० थरी घाँस लगाएका छन्। यति बेला सबै किसिमको घाँस बिक्रीका लागि तयार छ।
'वार्षिक १४ लाखदेखि १६ लाख रूपैयाँसम्मको घाँस बेच्छु। खर्च कटाएर कुल बिक्रीबाट कम्तीमा आधा रकम बचत हुन्छ,' उनले भने।
भुइँघाँस बाह्रै महिना हुँदैन। छ महिनापछि निकालेर उनी धान रोप्छन्। डाले घाँसले पनि बाह्रै महिना आम्दानी त दिँदैन। तर यो बहुवर्षीय बिरूवा भएकाले भुइँघाँसजस्तो हटाउन मिल्दैन। घाँस बिक्री हुने मुख्य समय असार र साउन हो।
उनले उत्पादन गरेको धेरैजसो घाँस दाङको लमही, राप्ती, गढवा, राजपुर लगायत ठाउँका पशुपालक किसानले किन्छन्। दाङबाहिर प्युठान, रोल्पा र सल्यान पनि पुग्छ।


दस वर्षअघि सुरज एक गैरसरकारी संस्थामा प्राविधिक को-अर्डिनेटरका रूपमा काम गर्थे। उनी पशुसेवा सम्बन्धी प्राविधिक हुन्। साविक सोनपुर गाविसमा उनी कार्यरत संस्थाले अर्को संस्थासँग मिलेर संयुक्त रूपमा घाँसखेती सम्बन्धी एउटा कार्यक्रम चलाएको थियो।
उक्त कार्यक्रमपछि सुरजले आफ्नै गाउँठाउँमा घाँसखेतीको सम्भावना खोजी गरे। सिँचाइ सुविधा राम्रो भएकाले उनी घाँसखेती हुन सक्ने निष्कर्षमा पुगे। त्यस बेला दाङका किसान चितवनबाट घाँस किनेर ल्याउँथे। यसले पनि सुरजलाई घाँसखेतीमा प्रेरित गर्यो।
उनले परीक्षणका लागि दुई कट्ठा जमिनमा घाँस रोपे।
'अन्न उब्जिने जमिनमा घाँस रोपेपछि गाउँमा खिसीट्युरी गरे। कतिपय शुभेच्छुकले अन्नबाली मास्नु राम्रो होइन भनेर सुझाब दिए,' उनले सम्झिए।
उनले त परीक्षण गरेका थिए। फाइदा देखिए घाँसको खेती बढाउने, नत्र छाड्ने विकल्प छँदै थियो। उनी राम्रो हुन्छ भन्नेमा लगभग ढुक्क थिए। पहिलो वर्ष उनले दुई कट्ठा जमिनबाट ४२ हजार रूपैयाँको घाँस बेचे। सबै घाँस बेच्न कार्यक्रम चलाउने संस्थाले नै सघायो।
'परीक्षण सफल भएपछि परिवारमा पनि विश्वास भयो। उत्साह बढ्यो,' उनले भने।
दोस्रो वर्ष पाँच कट्ठामा घाँस रोपे। अपेक्षा अनुसार नै उत्पादन र आम्दानी भयो। अन्नबाट भन्दा निकै राम्रो आम्दानी हुने पक्का भयो। तेस्रो वर्षदेखि क्रमशः बढाउँदै लगेर २४ कट्ठामा खेती गर्न थालेका हुन्।
घाँस र अन्नको खेतीले आफ्नो परिवारको खर्च धान्न भरपर्दो आम्दानी स्रोत भएको उनी बताउँछन्।
सुरज परिवारका जेठा छोरा हुन्। तीन दाजुभाइ छन्, आमाबुबासहित १३ जनाको संयुक्त परिवार छ। आफ्नै जग्गामा उत्पादन भएको अन्नले खान पुग्ने भए पनि आम्दानीको बलियो स्रोत थिएन।
'व्यावसायिक रूपमा घाँसखेती सुरू गरेपछि आम्दानी बलियो स्रोत भएको छ,' उनले भने।


बरूवा गाउँमा उनको परिवारले मात्र घाँस खेती गरिरहेको छ। उनी हाल स्थानीय एक सहकारी संस्थामा बजार व्यवस्थापकका रूपमा कार्यरत छन्। सहकारीको जनसम्पर्कका कारणले पनि घाँस बेच्न सजिलो भएको उनको भनाइ छ।
सुरजले सुरूमा बाँकेको खजुरास्थिति कृषि अनुसन्धान केन्द्रबाट रेड नेपियर, चितवनबाट सुपर नेपियर र प्युठानबाट सिडलेस किम्बु ल्याएर रोपेका थिए। यो वर्ष उनले सिडलेस किम्बुका एक लाख पचास हजार कटिङ रोपेका छन्। त्यसमध्ये ८५ प्रतिशत जति राम्ररी हुर्केको छ।
'यो सबभन्दा महँगोमा बिक्ने घाँस हो,' उनले भने, 'यसपछिको महँगो सुपर नेपियर हो। यो घाँस रोपेको तीन महिनामा पहिलो पटक काट्न तयार हुन्छ। यो घाँस बढीजसो गाईभैंसी पाल्ने किसानले खोज्छन्।
उनले २०७४ सालमा 'सुरज डाले तथा भुइँघाँस उत्पादन' नामको फर्म पनि दर्ता गरेका थिए। घाँसको सबै कारोबार यही फर्मका नाममा गर्छन्। उनको परिवारले झन्डै पाँच कट्ठा जमिनमा सूर्यमुखी फूलको पनि खेती गरेको छ।
तेह्र जनाको परिवार भएकाले सबै काममा परिवारका सदस्यहरू खट्छन्। तीन वर्षअघि उनीहरूले आठकोठे पक्की घर बनाए। सबै त्यही घरमा बस्छन्। घरमै एग्रोभेट पनि चलाएका छन्। बंगुर, लोकल कुखुरा र हाँस पनि पालेका छन्।
'मेहनत गर्नेका लागि नेपालमा पनि पर्याप्त अवसर छ। आफ्नै माटोमा अवसर खोज्न प्रयास गर्नुपर्छ भन्ने लाग्छ,' सुरजले भने।

