फागुन २० गते मध्यान्नतिर पूर्वी चितवनको बछौलीस्थित सत्यनारायण चौधरीको खेतको हिलोमा सेता बकुल्ला झुम्मिएका थिए। जसले संकेत गरेको थियो खेतमा धान रोप्ने तयारी हुँदैछ।
केही बेरमा धानको बीउ बोकेको मेसिन हिलोमा पस्यो। लाइन मिलाएर छुपुछुपु धान रोप्न थाल्यो।
सामान्यतया धान वर्षमा दुई पटक रोप्ने चलन छ। असारमा रोप्ने धानलाई वर्षे धान र चैतमा रोपिने धानलाई चैते धान भन्ने गरिन्छ।
सधैं चैतमा रोपिने चैते धान चितवनमा यस वर्ष भने मध्य फागुनबाटै रोप्न थालिएको छ।
चौधरीले यसपालि खेतमा ‘चैते ५’ धानको बीउ रोपेका छन्। गत वर्ष उनले ‘पिआर १०१’ जातको धान रोपेका थिए। चैते ५ पाक्नका लागि पिआरका लागि भन्दा बढी समय लाग्ने भएकाले मध्य फागुनमै धान रोप्नु परेको उनले बताए।
चैतमा रोपिने पिआर १०१ जातको धान बिक्री हुन छाडेपछि यसपालि धेरै किसानले चैते ५ धान रोप्न लागेका छन्। ‘पिआर धान छिटो फल्ने भए पनि पोहोर बिक्रीमा असाध्यै समस्या भयो। चैते धान पाक्न पिआरभन्दा बढी समय लाग्ने रहेछ, त्यसैले पहिले नै रोपियो,’ उनले भने।
गत वर्ष चौधरीले चैतको ३ गते धान रोपेका थिए। असारको पहिलो हप्तामा मात्रै धान पाक्यो। ‘त्यतिखेरसम्म त वर्षे धान रोप्न ढिला भइसकेको थियो,’ उनले भने, ‘समयमा फलाउन नसक्दा बिक्री गर्नमा समस्या भयो। राम्रो मूल्य पाइएन।’
गत वर्षको चैते धान उनले परम्परागत ढंगले नै रोपेका थिए। १२ जना रोपारहरुले दिनभर लगाएर एक बिघा जमिनमा धान रोपेका थिए। यसपालि केही घण्टामै धान रोपेर सकियो। खर्च पनि आधाले घट्यो। ‘खेताला लगाउँदा रोपेको खर्चमात्रै १० हजार भन्दा बढी हुन्थ्यो, मेसिनले रोप्दा ५ हजारमै उम्कियो,’ उनले भने।
यस वर्षको असारमा मेसिनले धान रोप्न खोज्दा छिमेकीले सत्यनारायणलाई खुबै गिज्याएका थिए। मेसिनले रोपेको धान हातले रोपेको भन्दा धेरै फलेको देखेपछि छिमेकी पनि मेसिनले रोप्ने तयारीमा लागेको उनले सुनाए।
चैते धानका लागि नेपालमै राम्रो पकेट क्षेत्र मानिने पूर्वी चितवनका फाँटहरु अहिले तोरी, गहुँलगायतका बाली थन्क्याएर चैते धान रोप्न ठिक पारिएका छन्। खैरहनी–१३ का सूर्यबहादुर बोगटी यसपालि २ विघा जमिन चैते धान रोक्ने तयारी गर्दैछन्।
गत वर्ष चैतको पहिलो हप्तातिर धान रोप्दा असारको पानीले चुटेर घाटा सहेका बोगटीले यसपालि फागुनमै रोपिसक्ने तयारी गरेको सुनाए। ‘मैले त पोहोर नै चैते ५ धान लगाएको थिएँ। राम्रो फले पनि समयमै नरोपेका कारण वर्षाको पानीले धान खेतमै झारिदियो,’ उनले भने, ‘त्यसबाट शिक्षा लिएर यसपालि छिटो रोप्न लागेको छु।’
उनले चैते ५ धान जति उत्पादन भए पनि खरिद गर्ने ग्यारेन्टी व्यापारीले दिएका कारण किसानहरु उत्साहित भएको बताए।
‘पोहोर हामीसँग किनेको पिआर धान बिक्री नभएर फिर्ता भयो भनेर व्यापारीबाट गुनासो आयो, हामीले जातै परिवर्तन गरेर स्वादिलो चामल निक्लने धान रोप्न थालेका छौं,’ उनले भने, ‘राम्रो मूल्य पाइन्छ भनेर किसानहरु समयमै मेहनत गर्न तम्सिएका छन्।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनकाअनुसार चितवनमा करिब ७ हजार ५ सय हेक्टर क्षेत्रमा चैते धानको खेती हुने गरेको छ। यसको ७० प्रतिशत हिस्सा पूर्वी चितवनको रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा छ। बाँकी माडी, कालिका नगरपालिका र भरतपुर महानगरपालिकामा छ। वर्षे धान भने यहाँ करिब १९ हजार हेक्टरमा उत्पादन हुन्छ।
परियोजना कार्यान्वयन इकाई चितवनका कृषि अधिकृत माधव पौडेलले धानको जातअनुसार रोप्ने समय अगाडि पुर्याइएको बताए। उनकाअनुसार यो धान रोपेपछि उत्पादन दिन १२५ देखि १३० दिनसम्म लाग्छ। छिटो फल्ने भनिएको पिआर जातको धानले एक सय पाँच दिनमै उत्पादन दिन्थ्यो।
‘चैतको दोस्रो हप्तातिर धान रोपेर असार १५ सम्ममा धान भित्र्याउने चलन चितवनमा छ। जेठको अन्त्यतिरै धान पाकेन भने त्यसलाई बिक्री गरेर राम्रो मूल्य लिन नसक्ने अवस्था देखिएकाले हामीले किसानलाई छिटो रोप्न सल्लाह दिएका हौं,’ पौडेलले भने।

उनकाअनुसार गत वर्ष धेरै किसान चैते धान प्रतिक्विन्टल १५ सय रूपैयाँमै बेच्न बाध्य भएका थिए। सामान्य अवस्थामा यो धान व्यापारीले खेतैबाट प्रतिक्न्टिल २५ सय रुपैयाँ भन्दा बढीमा खरिद गर्ने गर्छन्।
पौडेलले चैते ५ जातको धानको चामल स्वादिलो भएकाले सहजै राम्रो मूल्यमा बिक्री हुने र परालको पनि प्रयोग गर्न सकिने भएकाले किसानको रोजाइमा पर्न थालेको बताए।
उनले चैते धानको खेतीमा मेसिनको प्रयोग पनि बढ्न थालेको बताए। गत वर्ष ७ हेक्टर क्षेत्रफलमा मात्रै मेसिनबाट चैते धान रोपिएकोमा यस वर्ष कम्तिमा ५० हेक्टर क्षेत्रफलमा रोप्ने तयारी भएको बताए।
उनका अनुसार चितवनमा अहिले धान रोप्ने चार पांग्रे मेसिन (फोर ह्वील राइस ट्रान्सप्लान्टर) ४ वटा छन्। ती मेसिनहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० प्रतिशत अनुदानमा कृषि सहकारी संस्थाहरुमार्फत सञ्चालन भइरहेका छन्।
नर्सरी व्यवस्थापन गर्न सके मेसिनबाट रोपिएको धानको उत्पादन धेरै लिन सकिने पौडेलले बताए। ‘नर्सरीमा तपक्रम मिलाएर बीउ राम्रोसँग हुर्काउन सके मेसिनबाट रोपिएको धानले कम लागतमा उत्पादन बढी दिने देखिएको छ, मेसिनले रोप्दा लाइन मिल्ने र बिरुवामा हावा खेल्न पाउने भएकाले रोग, किराको संक्रमण पनि कम हुन्छ,’ उनले भने, ‘धेरै किसान अहिले सिक्ने क्रममा छन्, जमिन चक्लाबन्दी गर्दै मेसिनले सहजरुपमा रोप्न मिल्ने बनाउँदै छन्।’

पूर्वी चितवनको कुमरोज, बछौली, कठारलगायतका ठाउँका किसानले जमिन चक्लाबन्दी गरेर खेती गर्न थालेका छन्। पश्चिम चितवन र माडीमा पनि जमिन चक्लाबन्दी गरेर खेती गर्नेक्रम चलिरहेको छ।
चितवनको खेतमा चैते धान प्रतिकट्ठा २ देखि ३ क्विन्टल फल्ने गरेको छ। नेपालमा १ लाख २० हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुन्छ।