भोजपुरका कृषकले उत्पादित जडीबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन्। पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भए पनि बजार मूल्य नपाएको किसानको गुनासो छ।
स्थानीयस्तरमा जडीबुटीको बजार मूल्यबारे ज्ञान नहुने र सरकारले समेत मूल्य नतोक्ने हुँदा विचौलियाले त्यसको लाभ लिइरहेको अधिकांशको भनाइ छ। स्थानीय जडीबुटी कृषक निमा शेर्पाले चिराइतो, सतुवा, अलैंचीलगायतको व्यावसायिक खेती गरिए पनि मूल्यका लागि विचौलियाकै भर पर्नुपर्दा घाटा भइरहेको सुनए।जिल्लाको माथिल्लो भेगका किसानले
चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बालगायत जडीबुटीको खेती गर्दै आएका छन्। चिराइतोको मूल्य बढेपछि किसान यसतर्फ आकर्षित भएका छन्, तर सरकारले मूल्य नतोक्दा विचौलियाको बोलीका आधारमा बेच्नु परिरहेको कृषक पासाङ शेर्पाको गुनासो छ।
‘गाउँमा हल्लाको भरमा मूल्य तोकिने गरेको छ। त्यही मूल्यमा बेच्छौं, पछि थाहा हुन्छ कि हामीले त घाटामा बेचेका रहेछौं। यसले मारमा छौं,’ उनले भने।
यस्तो समस्या समाधानका लागि सरकारी निकायले मूल्य तोकेर बजार बिस्तारका लागि सहजीकरण गरिदिनुपर्ने किसानहरूको माग छ।