गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी सहितको टोलीले विभिन्न राजनीतिक दलका प्रमुखहरूसँग भेट गरेको छ।
एनआरएनएभित्र देखिएको विवाद, नागरिकता, लगानी लगायतका विषयमा एनआरएनए पदाधिकारीहरूले मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका कार्यवाहहक सभापति डिपी अर्याल र उपसभामुख इन्दिरा रानालाई भेटेका छन्।
राप्रपाका अध्यक्ष लिङ्देनसँगको भेटमा विदेशमा बस्ने नेपालीहरूको नागरिकता निरन्तरता हुनुपर्नेमा आफ्नो पार्टी प्रतिबद्ध भएको उनले उल्लेख गरेका छन्।
विदेशमा बस्ने नेपालीको नागरिकता निरन्तरताको विषय नौलो नभए पनि वर्तमान नागरिकता ऐनले सो विषयलाई विस्थापित गरेको भन्दै उक्त ऐन संशोधन गर्नुपर्ने आफूहरूको पनि मुख्य म्यान्डेट भएको उनले बताए।
गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको भेटमा अध्यक्ष लिङ्देनले एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ र उनीहरूलाई मूलथलोबाट टाढा बनाउनु हुन्न भनेर आफूहरूले आवाज उठाउँदै आएको बताए।
'२०६३ सालपछिको राजनीतिक व्यवस्था फेरिएपछि आएको नागरिकता ऐनले विदेशमा बस्ने सबै नेपालीलाई अन्याय गरेको छ। अवसरको खोजीमा विदेशमा गएको नेपाली अवसर पायो विदेश बस्यो, उतैको नागरिकता लियो भन्दैमा उसलाई नेपाली नै होइन भन्न कहाँ पाइन्छ?,' उनले भने, ' हामीले पनि यसलाई संशोधन र परिमार्जनका लागि माग गर्दै आएका छौँ र आगामी दिनमा पनि गर्छौं।'
विदेशमा बस्ने नेपालीहरू पनि देश विकासका मुख्य सारथी, स्रोत र शक्ति भएको भन्दै उनले सबै पक्षलाई मिलेर एक ढिक्का भएर देश विकासको साझेदार बन्न समेत आह्वान गरे।
उक्त भेटमा अध्यक्ष केसीले सरकारले गैरआवासीय नेपाली नागरिकता दिए पनि त्यसको कार्यान्वयन नभएको र त्यसले खर्बौँको सम्पत्ति विदेशिने, नेपालमा लगानी आकर्षित गर्न कठिन हुने लगायतका समस्याबारे ध्यानाकर्षण गराएका थिए।
यस्तै उपाध्यक्ष हेमराज शर्माले एनआरएनएमा अहिले देखा परेको विवादका सम्बन्धमा नेपालका सबै राजनीतिक दलहरूले एकमत भएर विधानविपरीत गतिविधि गरिरहेको समूहलाई समस्या समाधानका लागि सुझाव दिनुपर्नेमा जोड दिए।
'नचाहँदा नचाहँदै पनि संघमा राजनीतिक प्रभाव परेको छ, अहिले उच्च स्तरीय समितिको नामका भइरहेका गतिविधि यहाँहरूलाई थाहै छ,' उनले भने, 'यसर्थ त्यस्ता गतिविधि रोक्न पनि राजनीतिक दलले नै भूमिका खेल्नुपर्छ।'
यसैबीच गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोल प्रसाद (डिपी) अर्याललाई भेटेर गैरआवासीय नेपाली नागरिकताको कार्यन्वयनका लागि पहल गरिदिन आग्रह गरेको छ।
जबाफमा अर्यालले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन हुनुपर्छ भनेर पटकपटक आफ्नो पार्टीले सदनमा माग गर्दै आएको उल्लेख गरे।
फरक प्रसंगमा संघका उपाध्यक्ष हेमराज शर्माले एनआरएनएमा अहिले देखा परेको विवादको वास्तविकता र भ्रमबारे जानकारी गराए।
कुनै एक असन्तुष्ट समूहले संस्थाको साख नै गिर्नेगरी एकलौटी रूपमा अवैधानिक गतिविधि गरेको उनले आरोप लगाए।
'तपाईंहरूको विवाद नेपालका राजनीतिक दलले होइन तपाईंहरू आफैले, तपाईंहरूकै अग्रजले आन्तरिक रूपमा समाधान गर्नुपर्छ, बाँकी हामीले एनआरएनएलाई एकढिक्का बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नुपर्ने हरसंभव पहल गर्न हामी तयार छौँ,' उनले भने।
रास्वपाका सांसद हरि ढकालले पहिले पुस्ताका विदेशमा रहेका नेपालीलाई राजनीतिक अधिकार समेत दिनेगरी बहस हुनुपर्नेमा दिए।
यस्तै आजै उपसभामुख इन्दिरा रानासँग भएको भेटमा पनि प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली नागरिकता, वर्तमान विवादास्पद अवस्था लगायतका बारेमा जानकारी गराएको छ।
भेटमा उपसभामुख रानाले आफ्नो तहबाट गर्न सकिने पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।