राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिप्रेक्ष्यमा गैरआवासीय नेपाली संघमा देखा परेको विवाद समाधानका लागि एनआरएनएकै अग्रजहरूले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।
गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग शितलनिवासमा आज भएको भेटघाटमा राष्ट्रपति पौडेलले एनआरएनए विश्व डायस्पोरामै उत्कृष्ट संस्था भएकोले व्यक्तिगत वा कुनै साना समूहगत असन्तुष्टिका कारण संस्था नै अप्ठ्यारोमा पार्न नहुने उल्लेख गरे।
‘तपाईंहरूको अहिलेको समस्याको निकास निकाल्न एनआरएनकै अग्रजहरूको भूमिका पनि महत्वपूर्ण छ, सकेसम्म मिलेर अघि बढ्दा राम्रो हुन्छ,’ उनले भने,‘विधानसम्मत रूपमा विधिपूर्वक सबै काम हुनुपर्छ, त्यसैले यसमा परराष्ट्र मन्त्रालय जो यस संस्थाको तालुकदार पनि र सरकारको कार्यकारी पनि हो उसले नै मार्गप्रशस्त गर्नुपर्छ। तर जे जसो भने पनि पहिले त तपाईंहरू नै मिल्नुपर्छ। संवादमार्फत एउटा मिलनविन्दु खोज्नैपर्छ।’
भेटमा अध्यक्ष केसीले शेष घले नेतृत्वमा आगामी मे महिनामा एकताको महाधिवेशनका नाममा विधान विपरीत गतिविधि गर्न लागेको जानकारी गराए।
'हाम्रो मुख्य खम्बा भनेको राष्ट्रिय समन्वय परिषद् (एनसिसी) भए पनि घले समूहले एनसिसीको अधिवेशन नै नगरी आफूखुसी एकता महाधिवेशनको नाममा विधानविपरीत गतिविधि गर्न लागेको छ,’ उनले भने।
भेटमा केसीले सरकारले गैरआवासीय नेपाली नागरिकता दिएपनि त्यसको कार्यान्वयन नहुँदा समस्या भइरहेको अवस्थामा अध्यादेशमा समेत कुनै नयाँ व्यवस्था नहुँदा नागरिकता कार्यान्वयनविहीन भएको उल्लेख गरे।
‘सम्माननीय राष्ट्रपतिज्यू सरकारले दिएको नागरिकता सरकारले चिन्दैन,’ उनले भने, ‘नागरिकता प्राप्त भए पनि पाउने भनिएको कुनै पनि अधिकार हामीले उपभोग गर्न पाएका छैनौँ।’
जबाफमा राष्ट्रपति पौडेलले संविधानमै भएको अधिकार सरकारले संकुचित गर्न नसक्ने बरू त्यसका लागि आवश्यक कानून बनाउन ढिलाइ भएको हुनसक्ने उल्लेख गरे।