स्पेनमा रहेका नेपालीहरूले ‘नेपाल घुमौं’ भन्ने सन्देश दिने भएका छन्।
नयाँ वर्षको सन्दर्भ पारेर हुन लागेको नमस्ते बार्सिलोना कार्यक्रममार्फत् नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपालीहरू सक्रिय बनेका छन्।
नेपाली जनप्रगतिशील मञ्च स्पेनले गर्न लागेको कार्यक्रमलाई बार्सिलोना नगरपालिका र प्ला कमुनीतारीया ‘सांस्कृतिक विभाग’ ले सहकार्य गर्नेछन्।
बार्सिलोना विश्वभरबाट धेरै पर्यटक आउने गन्तव्य हो। विश्वकै अग्लो तथा आकर्षक चर्च साग्रदा फामिलिया अगाडि कार्यक्रम हुन लागेको हो। कार्यक्रम अप्रिल ६ गते दिउँसो साढे ३ बजेदेखि राति साढे ८ बजेसम्म हुनेछ।
यो चर्च १८८२ मा निर्माण सुरू भए पनि १४३ वर्ष हुँदासम्म निर्माणाधीन छ। यो हेर्न दैनिक १० हजार पर्यटक आउने गर्छन्।
मञ्चका अध्यक्ष विशाल ढुङ्गानाले नमस्ते बार्सिलोना कार्यक्रमले नेपाल घुम्ने निम्तो बाँड्ने बताए।
‘स्पेनबासी तथा पर्यटकलाई नेपालका घुम्ने ठाउँहरूबारे बुझाउने छौं,’ उनले भने, ‘नेपाल र नेपालीपन प्रस्तुत गर्नेछौं। २०१८ देखि मञ्चले नयाँ वर्ष र दसैं–तिहारमा बर्सेनि २ पटक पर्यटन प्रवर्द्धन कार्यक्रम गर्दै आइरहेको छ।
ढुङ्गानाका अनुसार नमस्ते बार्सिलोना कार्यक्रममा नेपाली नौमति पञ्चैबाजाहरू घन्किने छन्। गुरूङ, नेवार, तामाङ लगायतका समुदायको वेशभूषा, नृत्य प्रदर्शन हुनेछ। मःम, सेलरोटीले दर्शक तथा पर्यटकलाई स्वागत गरिनेछ। ढुङ्गानाले नेपाली कला, संस्कृति विश्वमाझ पुर्याउन कार्यक्रम सफल हुने बताए।
कार्यक्रम संयोजक तथा मञ्चका युरोप सचिव अर्जुन आचार्यले नमस्ते बार्सिलोना कार्यक्रम नेपालीहरूको चाडपर्व सरह स्थापित भएको बताए।
‘स्पेनमा रहेका सबै नेपालीहरू सहभागी हुन्छन्, रमाउँछन्,’ उनले भने, ‘यो हाम्रा लागि चाडपर्व सरह बनेको छ।’
फेस्ता तारदोर (गर्मी मौसमलाई स्वागत) अन्तर्गत साग्रदा फामिलिया अगाडि अप्रिलमा ३ दिन लगातार दैनिक ४ घण्टा कार्यक्रम हुने गर्छ।
फेस्ता तारदोरकै रूपमा बार्सिलोना नगरपालिकाले नेपालीहरूसँग सहकार्य गर्ने गरेको छ।
मञ्चका उपाध्यक्ष केशवराज कँडेलले अप्रिल ६ मा हुने कार्यक्रम भव्य हुने बताए।
‘बार्सिलोनानै नेपालजस्तै बन्नेछ, नेपालीपन झल्किनेछ,’ उनले भने, ‘साँस्कृतिक कार्यक्रमले पर्यटक पनि रमाउने छन्।’
स्पेनमा करिब २० हजार नेपालीहरू छन्। मञ्चका युरोप उपाध्यक्ष गंगा भुषालले नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपालीहरू सक्रिय बनिरहनुपर्ने बताए।
‘जहाँ रहे पनि नेपाल चिनाउन लागिरहनुपर्छ,’ उनले भने, ‘नेपाली कला, संस्कृति लोभलाग्दा छन्, पर्यटकहरू रमाउँछन्।’