अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला विभागले विभिन्न क्षेत्रका महिलाहरूसँग अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ।
शुक्रबार ५ बजेदेखि जुममार्फत् सुरू हुने अन्तर्क्रिया कार्यक्रममा अन्तर्राष्ट्रिय रूपमा ख्याती कमाएका महिलाहरू सहभागी हुने एनआरएनएकी उपाध्यक्ष रोजिना प्रधान राईले बताइन्।
'महिला सशक्तीकरणको महत्वपूर्ण पक्षलाई उजागर गर्दै र महिलाहरूको सामाजिक, सांस्कृतिक र आर्थिक योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त महिला महानुभावहरूको सहभागिता रहनेछ,' उनले भनिन्, 'उहाँहरूले महिला समानता, महिला अधिकार र समाजमा महिलाको भूमिकाबारे आफ्ना विचार र अनुभव साझा गर्नेछन्। यस कार्यक्रममा तपाईंको महत्वपूर्ण सहभागिता हाम्रो लागि निकै प्रेरणादायक हुनेछ।'
अन्तर्क्रिया कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, राष्ट्रिय महिला आयोगकी उपाध्यक्ष कमला कुमारी पराजुली, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, एनआरएनएकी पूर्वउपाध्यक्ष इन्दिरा बन, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, पौरखी नेपालकी संस्थापक अध्यक्ष मन्जु गुरूङ र शक्ति समूहकी पूर्वअध्यक्ष चरीमाया तामाङले आफ्ना धारणा राख्नेछन्।
त्यस्तै, अन्तर्क्रिया कार्यक्रमका लागि विश्वभर छरिएर रहेका आफ्नो क्षेत्रमा राम्रो गरेका महिलाहरू सहभागी हुने उपाध्यक्ष प्रधानले बताइन्।