ग्लोबल नेपाली
नवलपरासीका शमशुल अन्सारी युएई (युनाइटेड अरब इमिरेट्स) को 'हाइअर कलेज अफ टेक्नोलोजी' मा उपप्राध्यापक छन्। उनले त्यहाँ पढाएको तीन वर्ष पूरा हुन लाग्यो।
सन् २०२२ को अगस्टमा युएई पुगेका शमशुल ब्याचरल (स्नातक) तहमा नर्सिङ, ल्याब र फार्मेसीका विद्यार्थी पढाउँछन्।
हाल उनी हेलिकोब्याक्टर पाइलोरी (एच. पाइलोरी) र सरूवा रोगबारे अनुसन्धान पनि गर्दै छन्। हेलिकोब्याक्टर पाइलोरी एक किसिमको ब्याक्टेरिया हो। यसले मानिसको पेटमा संक्रमण गर्छ र कालान्तरका अल्सर गराउन सक्छ।
शमशुलले जापानबाट हेलिकोब्याक्टर पाइलोरीमै विद्यावारिधि गरेका छन्। उनलाई युएईसँगै कतिपय क्यारेबियन मुलुकबाट पनि प्रस्ताव आएको थियो तर उनले युएई नै रोजे।
नेपालबाट नजिक र तुलनात्मक रूपमा कामका लागि पनि सहज हुने भएपछि युएई नै उपयुक्त ठानेको उनी बताउँछन्।
'म नेपालबाटै काम सम्बन्धी सबै कुरा तय गरेर यता आएको हुँ। टिकट समेत उपलब्ध गराइएको थियो,' उनले भने, 'तीन वर्षका लागि आएको थिएँ। केही दिनअघि थप तीन वर्ष काम गर्ने सम्झौता भएको छ। सेवा–सुविधा राम्रो छ, केही वर्ष यतै बस्छु।'
उनी माइक्रोबायोलोजी, इम्युनोलोजी, प्याथोलोजी, एनाटोमी, ह्युमन बायोलोजी विषय पढाउँछन्।
उनका अनुसार हाइअर कलेज अफ टेक्नोलोजी अन्तर्गत युएईमा १७ वटा कलेज छन्। यो सरकारी स्वामित्वको विश्वविद्यालय हो। यसले युएईका अन्य केही कलेजलाई सम्बन्धन पनि दिएको छ।


हाइअर कलेज अफ टेक्नोलोजीमा ५० भन्दा धेरै देशका प्राध्यापक र कर्मचारी कार्यरत छन्।
'मलाई थाहा भए अनुसार शिक्षणतर्फ नेपाली म मात्र हुँ,' उनले भने।
काम गर्ने वातावरण निकै राम्रो रहेको उनको भनाइ छ। शैक्षिक र प्रशासनिक प्रणाली निकै व्यवस्थित छ। विदेशी विद्यार्थी पनि प्रशस्तै हुन्छन्। उनीहरू धेरैजसो ओमान, जोर्डन र सिरियाका छन्। तीमध्ये पनि धेरैले छात्रवृत्ति पाएका हुन्छन्।
शमशुलले भारतमा ल्याब टेक्नोलोजी पढेका हुन्। अनि सन् २००६ मा काठमाडौंको बानेश्वरस्थित एभरेस्ट नर्सिङ होममा काम गरे। हालको एभरेस्ट हस्पिटल त्यस बेला नर्सिङ होम थियो।
एभरेस्टसँगै किस्ट हस्पिटलमा पनि काम गरे।
शमशुल सन् २०१० मा महाराजगञ्ज शिक्षण अस्पताल (टिचिङ) मा माइक्रोबायोलोजी विषयमा मास्टर्स तहको पढाइमा भर्ना भए। पढाइ पूरा हुनासाथ सन् २०१२ मा चितवन मेडिकल कलेजमा काम गर्न पुगे।
त्यसको तीन वर्षपछि सन् २०१५ मा जापानको ओइटा युनिभर्सिटीमा विद्यावारिधि (पिएचडी) गर्न छात्रवृत्ति पाए। चार वर्षमा विद्यावारिधि पूरा गरे।
'मैले पिएचडी गर्दा चार वर्षमा आठ वटा जर्नलमा रिसर्च रिपोर्ट जर्नलमा प्रकाशित भए,' शमशुलले भने, 'हेलिकोब्याक्टर पाइलोरीबारे अध्ययन गरेकाले मेरो अनुसन्धान पेटको क्यान्सर किन हुन्छ भन्नेमा केन्द्रित थियो।'
उनले सन् २०१८ मा 'युवा अनुसन्धानकर्ता' पुरस्कार पनि पाए। पिएचडी पूरा गरेपछि सन् २०१९ मा फेरि चितवन मेडिकल कलेजमै काम सुरू गरे।

दुई वर्ष काम गरेपछि उनलाई त्यही युनिभर्सिटीले बोलायो जहाँ उनले पिएचडी गरेका थिए। उनी फेरि जापान गए। उपप्राध्यापक भएर काम गरे तर उनलाई चित्त बुझेन, भाषाको पनि समस्या भयो। छोराछोरीका लागि अनुपयुक्त ठानेर उनी एक वर्षमै स्वदेश फर्के।
'जापानले जापानी भाषालाई प्राथमिकता दिन्छ। बच्चाहरूको लागि त्यहाँ उपयुक्त हुन्छ जस्तो लागेन अनि एक वर्षमै फर्केँ,' उनले भने।
स्वदेश फर्केपछि उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम सुरू गरे। त्यहाँ तीन महिना काम गरेपछि युएई गए।
'म विदेश जाने विचारमा थिइनँ तर त्रिभुवन विश्वविद्यालयले मेरो पिएचडी डिग्रीलाई समकक्षताको मान्यता दिएन। जापानमा पिएचडी सकेर चितवन मेडिकल कलेजमा काम सुरू गरेँ तर मेरो पिएचडी डिग्रीले समकक्षता पाएन,' उनले भने, 'समकक्षता नपाएपछि प्राध्यापक हुने बाटो बन्द हुने भयो। उपप्राध्यापकमै चित्त बुझाएर बस्न सकिनँ।'
उनले समकक्षता नपाउनुको कारण पनि बताए।
उनले पढेको विश्वविद्यालयको नियम अनुसार रिसर्च रिपोर्ट जर्नलमा प्रकाशन गर्नुपर्थ्यो, थेसिस बुझाउन आवश्यक थिएन। त्रिभुवन विश्वविद्यालयले थेसिस नै खोजेपछि समकक्षता प्राप्त भएन।
'मेरो लेख प्रकाशन भएका जर्नल र प्रोफेसरको सिफारिस लिएर आउँछु भन्दा पनि भएन। थेसिस बुझाउन सम्भव भएन,' शमशुलले भने, 'युएईमा मेरो पिएचडी डिग्रीले मान्यता पाएको छ। काम र प्राप्त सुविधामा सन्तुष्ट छु।'