गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) ले नसिम मेडिकल सेन्टरको सहकार्यमा ब्रेस्ट क्यान्सर सचेतना कार्यक्रम गरेको छ।
कार्यक्रमले कतारस्थित नेपाली समुदायमा ब्रेस्ट क्यान्सरको समयमा पहिचान, रोकथाम तथा नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जानकारी प्रदान गरेको हो।
कार्यक्रमका संयोजक एनआरएनए कतारकी महिला उपाध्यक्ष तौमाया गुरूङ थिइन्। ब्रेस्ट क्यान्सर सम्बन्धी स्वास्थ्य सचेतना तथा चिकित्सा जानकारी डा. नुरूलिसा पल्लाथुरले प्रस्तुत गरेकी थिइन्।
उनले प्रारम्भिक लक्षण पहिचान, स्क्रिनिङको आवश्यकता तथा समयमै उपचारको महत्त्वबारे जानकारी गराइन्।
कार्यक्रममा ५० जना भन्दा धेरै जनाको उपस्थिति थियो। सहभागीहरूका लागि प्रश्न–उत्तर कार्यक्रम समेत राखिएको थियो। प्रश्नको सही जबाफ दिनेलाई उपहार समेत प्रदान गरिएको थियो।
कार्यक्रममा एनआरएनए कतारका अध्यक्ष कृष्ण पन्थी तथा नासिम मेडिकल सेन्टरका सहायक प्रबन्धक–कर्पोरेट सम्बन्ध तथा बजार व्यवस्थापक, असरफ पीबीच समझदारी पत्रमा हस्ताक्षर समेत भयो।
एनआरएनए एनसिसी कतार र त्यहाँको निजी स्वास्थ्य संस्थाबीच पहिलो समझदारी भएको अध्यक्ष पन्थीले बताए।
समझदारीपछि नेपालीहरूले उक्त मेडिकलमा उपचार गराउँदा सिटी स्क्यान, आइमआरआइ, एक्स–रे, छालासम्बन्धी उपचार लगायतमा छुट सुविधा पाउने उल्लेख गरिएको छ। छुट सुविधाका लागि एनआरएनए एनसिसीको सदस्यता समेत उल्लेख गर्नुपर्ने छ।
कार्यक्रममा मानसिक स्वास्थ्य तथा पारिवारिक सम्बन्ध सुदृढीकरण सम्बन्धी समेत सत्र प्रस्तुत गरिएको थियो।
एनआरएनए कतारले आगामी दिनमा समेत समुदाय स्वास्थ्य, श्रमिक–कल्याण तथा सामाजिक सशक्तिकरणका कार्यक्रमलाई निरन्तर रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।