संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले विभिन्न पेशा र व्यवसायमा कार्यरत रहेका सम्पूर्ण नेपालीहरूलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधैं मर्यादित र अनुशासित भई रहन आग्रह गरेको छ।
दूतावासले एक सूचना जारी गर्दै आफ्नो पेशा र व्यवसायप्रति इमान्दार, कर्तव्यनिष्ट रही आफू बसोबास गर्दै आएको मुलुकको युएईको नियम, कानुन, मूल्यमान्यता र अनुशासन पूर्णरूपमा पालना गर्न आग्रह गरेको हो।
विगत केही समयदेखि युएईमा रहेका कतिपय नेपालीहरू मादक पदार्थको सेवन तथा झैझगडा, बैंकिङ्ग कसुर, आपसी नगदी लेनदेन जस्ता गतिविधिमा संलग्न भएर समस्यामा पर्ने गरेको पाइएको दूतावासले जनाएको छ।
‘झैझगडा, लागूऔषध ओसारपसार, इमिरेट्स आइडी दुरूपयोग,साइबर क्राइम, अध्यागमन नियमको र ट्राफिक नियमको उल्लङ्घन, फ्रिल्यान्स भिसाको प्रलोभन जस्ता गतिविधिहरूमा परी प्रत्येक दिन समस्यामा पर्ने गरेको सूचना दूतावासमा प्राप्त हुने गरेको र सो संख्या बढ्दै गैरहेको देखिन्छ। यी सबै विषयहरु युएईको कानुन तथा नियम अनुसार दण्डनीय हुने हुँदा सचेत हुन तथा विशेष सावधानी अपनाउनु हुन राजदूतावास सम्पूर्ण नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछ,' सूचनामा भनिएको छ।
