सिड्नी, एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले आफ्नो शाखा विस्तारको क्रममा अस्ट्रेलियामा पनि सबै नेपालीभाषी समेटेर नयाँ कार्य समिति घोषणा गरेको छ।
भुटानी मूलका नेपालीभाषी युवा डम्बर ढुंगेलको अध्यक्षतामा एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) अस्ट्रेलिया शाखा गठन भएको हो।
यसैगरी उपाध्यक्षमा दिनेश कठायत, महासचिव गगन बिडारी, उपमहासचिव राजकुमार श्रेष्ठ, कोषाध्यक्ष लिला भण्डारी रहेका छन् भने सदस्यहरूमा निकेश शर्मा, राम खतिवडा, युवराज शर्मा, हरि पोखरेल, खगेन्द्र आचार्य, आशिका राई, बिजय बस्नेत, सरिता ढकाल, भवानी ढकाल, पुष्प आचार्य, गोविन्द गौतम रहेका छन्।
पुर्ख्यौली थातथलो नेपाल भएर भुटान, बर्मा, भारत लगायत देशबाट विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरूलाई एसोसिएसन अफ नेपाली (एएनओ) ले समेटेको एएनओ अन्तर्राष्ट्रियका महासचिव सिएम भट्टराईले बताए।
अस्ट्रेलिया कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले भाषा र संस्कृति जोगिए हामी जोगिन्छौं भन्दै सबैले यसमा योगदान दिनुपर्ने बताइन्।
उनले नेपाली भाषी समुदायलाई नेपालको समृद्धिमा क्रियाशील हुन आग्रह समेत गरिन्।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ गीता वाग्ले, अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन एन्जाका अध्यक्ष कृष्ण तिवारी, एनआरएनए अस्ट्रलियाका अध्यक्ष अनिल पोखरेल, एएनओ उपाध्यक्ष ओम गुरूङले विश्वभर छरिएर रहेका नेपाली समुदायको एकताले नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।
गत वर्ष मार्च २४ मा थाइल्याण्डको बैंककमा ३२ देशका नेपालीभाषीहरूले भुटानी नेपाली मूलका अमेरिकन व्यवसायी डिल्ली अधिकारीको नेतृत्वमा एएनओ गठन भएको थियो। यसअघि यसको शाखा बेलायत, पोर्चुगलमा गठन गरिसकिएको यसका केन्द्रीय सदस्य भीम बस्नेतले बताए ।