रुस, इरान र उत्तर कोरियामाथि अमेरिकी नाकाबन्दी कानुनीरूपमै सुरू


रुस, इरान र उत्तर कोरियामा नाकाबन्दी लगाउने विधेयकमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्।

राष्ट्रपति ट्रम्पको विरोध भए पनि अमेरिकी सिनेटले यी तीन देशमा नयाँ नाकाबन्दी लगाउने विधेयक पारित गरेपछि उनले बुधबार यसमा हस्ताक्षर गरेका हुन्। उनको हस्ताक्षरसँगै यो विधेयकले कानुनको रुप लिएको छ।

अमेरिकी संसदको तल्लो सदन र सिनेटले पारित गरी पठाएको यो विधेयक लागू हुन राष्ट्रपतिको हस्ताक्षर मात्र बाँकी थियो।

अमेरिकाले यसअघि नै रुसी नागरिक र कम्पनीहरुमाथि नाकाबन्दी लगाएको छ।

युक्रेन नीति र राष्ट्रपतीय चुनावमा रुसको संलग्नताका विषयलाई लिएर पछिल्लो नाकाबन्दी प्रस्ताव गरिएको हो।

यो नयाँ नाकाबन्दीले अमेरिका र रूसको सम्बन्ध जटिल हुने र रुससँग सम्बन्ध सुधार्ने ट्रम्पको योजना असफल बन्ने बताइएको छ। उनलाई यसले निकै समस्यमा पारेको विश्लेषण छ।

यो विधेयक विफल बनाउने विशेषाधिकार ट्रम्पलाई भए पनि उनले यसो गरेनन्। रुसप्रति आफ्नो समर्थन छ भन्ने सबैको अनुमान बलियो हुने डरले उनले चुपचाप बन्द कोठामा बसी विधेयक हस्ताक्षर गरेका बताइएको छ।

हस्ताक्षरपछि ट्रम्पले एक विज्ञप्ति जारी गरेर उक्त कानूनका व्यवस्था समस्याग्रस्त भएको टिप्पणी गरेका छन्।

नयाँ विधेयकले रुसमाथिको नाकाबन्दी फुकुवा गर्ने राष्ट्रपतिको अधिकार सीमित गरिदिएको छ।

त्यस्तै  केही रुसी नागरिकलाई अमेरिका प्रवेशको अनुमति नदिने र दिइसकेको भिसा पनि फिर्ता लिन सक्ने व्यवस्था छ।

गत शुक्रबार अमेरिकी सिनेटले नाकाबन्दी विधेयक पारित गरेपछि रुसले ७५५ अमिरकी कूटनीतिज्ञलाई आगामी सेप्टेम्बर १ भित्र देश छाड्न आदेश दिएको छ।

गत  वर्षको डिसेम्बरमा पूर्व राष्ट्रपति बाराक ओबामाले ३५ रुसी कुटनीतिज्ञलाई फिर्ता पठाइदिएका थिए।

इरान र उत्तर कोरियामाथि भने उनीहरूको परमाणु र मिसाइलका विषयलाई लिएर अमेरिकाले नाकाबन्दी लगाउन खोजेको हो।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.