सिचुवान एयरलाइन्सले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुसम्म गरिरहेको 'कमर्सियल चार्टर्ड फ्लाइट' रोकेको छ।
मौसमको कारण देखाउँदै सिचुवानले यस्तो उडान रोकेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए।
उनका अनुसार अब आउँदो सेप्टेम्बरबाट सोही एयरलाइन्सले पोखरा–छेन्दु नियमित उडान गर्नेछ। व्यावसायिक चार्टर्ड उडान भने हुने छैन।
'अहिले बर्खाका कारण उडान नभएको हो,' उनले भने, 'अब सेप्टेम्बरदेखि यसैले नियमित उडान गर्नेछ। चार्टर्ड उडान हुँदैन।'
सिचुवानले दस वटा चार्टर्ड उडानको सम्झौता गर्दै चीनबाट १ हजार २३५ जना यात्रु पोखरा ओर्लिन तयार रहेको जनाएको थियो। चिनियाँ सरकारको स्वामित्वको ट्राभल एजेन्सी चाइना ट्राभल कम्पनी (सिटिसी) ले छेन्दुबाट यो उडानको व्यवस्थापन गरेको थियो।
पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपीबहादुर भट्टराईका अनुसार चार्टर्ड उडान सम्बन्धमा सिटिसीले पोखरा महानगर, गण्डकी प्रदेश सरकार र पोखरेली पर्यटन व्यवसायीसँग सम्झौता गरेको थियो। सम्झौतामा सिचुवानको न्यारोबडी जहाज–ए–३१९ पोखरामा अवतरण गर्ने र फर्किँदा कम्तीमा ३ वटा उडानमा नेपालीहरू हुनुपर्ने भनिएको थियो।
काठमाडौंस्थित चिनियाँ दूतावासको समेत सक्रियतामा भएको सो सम्झौता अनुरूप पोखराका मेयर आचार्यसहित जनप्रतिनिधि र व्यवसायीहरू गरी करिब ४ सय जनाभन्दा बढी नेपालीहरू चीन गएका थिए।
यसका लागि एक नेपालीलाई भिसा प्रक्रिया, चीन आउजाउसहित एक साता भ्रमण प्याकेजको एक लाख २७ हजार रूपैयाँ तोकिएको थियो। यो शुल्क तिरेर पोखराबाट नेपालीहरू चीन भ्रमणमा गए। उनीहरूले करिब ५ करोड रूपैयाँ सिटिसीलाई बुझाएका थिए।
चीनबाट भने सम्झौता हुँदा भनिए अनुरूप यात्रु आएनन्।
सिटिसीको संयोजनमा मार्च १८ देखि सातामा एउटाका दरले पोखरामा १० वटा उडान हुने सम्झौता थियो। तर सिचुवानले ८ वटा मात्र उडान गरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
विमानस्थलका प्रवक्ता जशोदा रेग्मीका अनुसार सिचुवान एयरलाइन्सको मार्च १८ देखि मे २७ सम्मका आठ उडानबाट १ हजार ५९८ यात्रुले सेवा लिएका छन्। यसमध्ये ७९६ यात्रु पोखरा भित्रिएका थिए भने पोखराबाट ८०२ जना छेन्दु गएका थिए। त्यसपछि सिचुवान पोखरा आएको छैन।
'छेन्दुबाट आउने भने जति यात्रु आएनन्। सिटिसीले प्रतिबद्धता पूरा गरेन,' पोखरा भ्रमण वर्षका संयोजक भट्टराईले भने, 'बरू पोखराबाटै धेरै मानिस छेन्दु गए।'
पोखराबाट छेन्दु गएको टोलीले त्यहाँ विभिन्न स्थानमा पर्यटन प्रवर्द्धन अभियान पनि चलाएको थियो। तर अपेक्षा अनुरूप चिनियाँ पर्यटक नआएको व्यवसायीहरूको गुनासो छ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ जनवरीदेखि जुनसम्म झन्डै पाँच लाख ७८ हजार पर्यटक नेपाल आए। यीमध्ये सबभन्दा धेरै, १ लाख ४८ हजार हाराहारी भारतबाट आएका थिए। त्यस्तै अमेरिकाबाट ५८ हजार र तेस्रो स्थानमा चीनबाट ५२ हजार पाँच सय हाराहारी पर्यटक आए।
चीनमा जसरी भारतमा पर्यटन प्रवर्द्धन नगरे पनि नेपालको अफ–सिजन भारतीय पर्यटकले धान्ने गरेको व्यवसायीहरू बताउँछन्। त्यसैले अब भारतमा पनि पर्यटन प्रवर्द्धन अभियान थाल्नुपर्ने माग उनीहरूले गर्न थालेका छन्।
पोखरा विमानस्थल निर्माणमा चीनको ऋण, चीनकै निर्माण व्यवसायी, प्रविधि र जनशक्ति प्रयोग गरिएकाले विमानस्थल सञ्चालनमा चीनले विशेष महत्व दिने अपेक्षा व्यवसायीले गरेका थिए। तर चीन आफूले मात्र व्यवसाय लिएको गुनासो उनीहरूको छ।
चीन सरकारको स्वामित्वमा रहेको एक्जिम बैंकसँग २४ करोड ४० लाख ४० हजार अमेरिकी डलर ऋण लिएर चीनकै निर्माण कम्पनी सिएएमसी इञ्जिनियरिङले पोखरा विमानस्थल निर्माण गरेको थियो। चीनका विदेशमन्त्री वाङ यीले २०७८ चैत १२ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा विमानस्थल नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका थिए।
चीनले नेपाललाई विमानस्थल हस्तान्तरण गर्दा अन्तर्राष्ट्रिय त परको कुरा, आन्तरिक उडान पनि हुने अवस्था थिएन। विमानस्थलको 'एप्रोच लाइन' मा रहेको रिठ्ठेपानी डाँडा काट्ने लगायत काम बाँकी थियो। बाँकी काम नेपालले नै सकेर २०७९ पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा ल्याइएको थियो।
सञ्चालनमा आएको तीन वर्ष भइसके पनि यहाँबाट एउटा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गत पुसमा पोखरेली व्यवसायीलाई आफै पैसा हालेर चार्टर्ड उडानबाट यात्रा गर्न सुझाव दिएका थिए। त्यसो नगरे पोखराबाट अन्तर्राष्ट्रिय उडान नहुने भन्दै व्यवसायी नै जुर्मुराउनुपर्ने बताएका थिए।
यही आशा राखेर पोखराका व्यवसायीले चीनको छेन्दु घुम्न जाने अभियान चलाए। सिचुवान एयरलाइन्सको पहिलो यात्रामा पोखरा पर्यटन परिषदमार्फत व्यवसायीहरू चीन गए। दोस्रो उडान पोखरा उद्योग वाणिज्य संघले व्यवस्थापन गर्यो। त्यसपछि लायन्स क्लब, लेखनाथ उद्योग वाणिज्य संघ लगायत व्यवसायी र सर्वसाधारण पनि चीन भ्रमण गए।
नेपाल–चीन मैत्री सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएको उपलक्ष्यमा चीनले 'नेपाल भ्रमण वर्ष' भनेको थियो। त्यसैले पनि पोखरेली व्यवसायी उत्साही थिए। पोखरा महानगर र चीनका धेरै सहरले भगिनी सम्बन्ध राखेको र चीनका गतिविधि पोखरामा बढेकाले पनि चिनियाँ पर्यटक घुम्न आउने अपेक्षा राखेको पोखरा भ्रमण वर्षका संयोजक भट्टराईले बताए।
'चीनले नेपाल भ्रमण वर्ष भनेकाले अपेक्षा धेरै राखेका थियौं,' उनले भने, 'चिनियाँहरूको बोली र गराई फरक नपर्नुपर्ने हो!'
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सी (नाट्टा) गण्डकीका अध्यक्ष किशोर दाहाल पनि पोखरा–छेन्दु चार्टर्ड उडान सम्झौताले चिनियाँलाई मात्र फाइदा भएको बताउँछन्।
'हामी उनीहरूले तोकेभन्दा धेरै मानिस गयौं, किनमेल गर्यौं। उताबाट त आउने भनेजति पनि आएनन्,' दाहालले भने, 'अहिले त बर्खा लाग्यो। अफ–सिजन छ। आगामी सेप्टेम्बरबाट नियमित उडान हुन सक्यो भने अन्त जाने यात्रु पनि छेन्दु ट्रान्जिट भएर जान सक्छन्।'