क्यानडास्थित नेपाली दूतावास र क्यानडा- नेपाल मैत्री तथा सांस्कृतिक समाजले संयुक्त रूपमा भ्यानकुभरको बर्नाबीमा गत शनिबार विशेष कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएका छन्।
नेपाल र क्यानडाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सवको एक भागको रूपमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा क्यानडाका लागि नेपालका राजदूत भरत राज पौड्यालले सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर इतिहास रचेको स्मरण गरे।
उनले हिमाली साहसिक यात्रामा शेर्पा समुदायको अमूल्य योगदानको उच्च मूल्याङ्कन गर्दै नेपालका पर्यटन आकर्षणहरूको चर्चा पनि गरे।
राजदूत पौड्यालले क्यानडियनहरूलाई नेपाल भ्रमण गरी साहसिक यात्रा, संस्कृति, आध्यात्मिकता र नेपालको अप्रतिम प्राकृतिक सौन्दर्य अनुभव गर्न आग्रह गरे।
उनले नेपाल–क्यानडा मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका ६ दशकमाथि पनि प्रकाश पर्दै कार्यक्रम आयोजना गर्न सहयोग पुर्याएकोमा क्यानडा- नेपाल मैत्री तथा सांस्कृतिक समाजप्रति आभार प्रकट गरे।
प्रसिद्ध सगरमाथा आरोहीहरू — 'शेर्पा डेब' रोड्नी, डोमा शेर्पा, क्रिस्टोफर डेयरले विश्वकै सर्वोच्च शिखर आरोहणका प्रेरणादायी अनुभवहरू साझा गरे।
१२ पटक सगरमाथाको आरोहण गरेका कीर्तिमानी आरोही पेमा छिरिंग शेर्पाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सगरमाथा आरोहण पहिले भन्दा गाह्रो हुँदै गएको बताए।
'जलवायु परिवर्तनले गर्दा पहिले ३०० मिटर हिउँ हुने ठाउँमा अहिले चट्टान मात्रै छ। यसले आरोहणलाई थप जोखिम पूर्ण बनाएको छ। यो नेपाल मात्रै हैन संसारकै लागि चिन्ताको विषय हो,' उनले भने।
कार्यक्रममा सगरमाथा आरोहणसम्बन्धी विशेष वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।
राजदूत पौड्यालले सगरमाथा आरोहीहरूको साहस, दृढ संकल्प, सफल आरोहण र नेपाल तथा नेपाली पर्वतारोहणलाई क्यानडामा प्रवर्द्धन गर्न पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मानपत्र प्रदान गरेका थिए।
त्यस्तै एनआरएनए क्यानडाका अध्यक्ष मधव दुलालले नेपाली गौरव र पहिचानका रूपमा रहेको सगरमाथाले नेपाल र नेपालीलाई संसारभरि चिनाउने काम गरेको बताए।