यो केवल किनमेल गर्ने ठाउँ होइन — आधुनिक काठमाडौंको जीवनशैली हो।
र, त्योभन्दा बढी पाटन सहरको प्राचीनता र आधुनिकताको संगम हो।
कुनै बेला खण्डहर थियो यो ठाउँ। विशाल घर त बनेको थियो, तर त्यो घरमा रौनक थिएन। किनमेल गर्ने दोकानहरू थिए, तर ती दोकानमा ग्राहकको दृष्टि थिएन।
त्यही सुनसान र उपेक्षित ललितपुर विशाल बजारलाई नयाँ रूप दिए र नयाँ रौनक भरे — भाष्कर ढुंगाना, नकिम उद्दिन र राजेश सिद्धीको टिमले।
अनि सुरू भयो, काठमाडौं उपत्यकाकै सबभन्दा भव्य र सबभन्दा जीवन्त सपिङ कम्प्लेक्स — ललितपुर विशाल बजार मल्टिप्लेक्स, अर्थात् लबिम मल।
व्यापारीहरू लगानी गर्न अभिशप्त हुन्छन्। आफ्नो लगानीको एउटा परियोजना सफल भएपछि त्यसको आम्दानीमा रमाएर बस्दैनन्, लगानीको अर्को क्षेत्र खोज्छन्; अर्को चुनौती मोल्ने तयारीमा लाग्छन्।
भाष्कर, नकिम र राजेशले पनि त्यही गरे।
आजभन्दा २५ वर्षअघि जयनेपाल र कुमारी हल पुनर्निर्माण गरेर सिनेमा हल व्यवसायमा प्रवेश गरेका उनीहरूले देशभरि 'क्युएफएक्स' को ठूलो सञ्जाल खडा गरेका छन्। नेपालको मनोरञ्जन क्षेत्रमा क्रान्ति नै ल्याएका छन्।
यति हुँदाहुँदै उनीहरूले तीन–चार करोड रूपैयाँ लगानीको सिनेमा हलमा आफूलाई सीमित राख्न चाहेनन्। त्योभन्दा कयौं गुणा ठूलो सपना देख्न र कयौं गुणा ठूलो जोखिम मोल्न तत्पर भए।
एक सय ६० करोड रूपैयाँ लागतको 'लबिम मल' त्यही तत्परताको परिणाम हो।
क्युएफएक्स टिमका यी तीन साझेदारमध्ये भाष्कर ढुंगानाले हामीसँगको भिडिओ कुराकानीमा लबिम मल स्थापनासँग जोडिएको व्यावसायिक उडानको वृत्तान्त सुनाएका छन्।

लबिम मलको सुरूआत क्युएफएक्सकै निरन्तरताका लागि भएको हो।
जयनेपाल, कुमारी र सिभिल मलको क्युएफएक्स सफल भएपछि भाष्कर र उनको टिम ललितपुरमा पनि खोल्ने योजनामा लागे।
सुरूमा उनीहरूले ललितपुरको 'अशोक सिनेमा हल' पुनर्निर्माण गर्न खोजेका थिए। तर अशोकका सञ्चालकसँग कुरा मिलेन। उनीहरूले सिनेमा हल बन्द गरेर पार्टी प्यालेस चलाउने निधो गरिसकेका थिए।
त्यति बेला पुल्चोकमा ललितपुर विशाल बजार भर्खरै खुलेको थियो।
भाष्कर र उनका साथीहरू त्यसको माथिल्लो तलामा सिनेमा हल बनाउने प्रस्ताव लिएर गए।
छलफल अघि बढ्यो।
विशाल बजार सञ्चालकहरूले भने, 'सिनेमा हल मात्र होइन, पूरै विशाल बजार चलाउनू।'
खासमा ललितपुर विशाल बजारले राम्रो कारोबार गरेको थिएन। धेरैजसो सटर भाडामा गएका थिएनन्। भाडामा लिनेले पनि राम्ररी चलाउन सकेका थिएनन्। एक किसिमले भन्दा, त्यो सिंगो बजार लथालिंग अवस्थामा थियो।
भाष्करले आफ्ना साथीहरूलाई सुनाए, 'प्रस्ताव त राम्रो हो, तर जुन हिसाबले यो भवन बनाइएको छ, त्यही हिसाबले यहाँ राम्रो सपिङ कम्प्लेक्स विकास गर्न सकिँदैन।'
उनले अगाडि भने, 'यो घर लामो समयलाई भाडामा लिएर तलैदेखि पुनर्निर्माण गर्न सकियो भने मात्र ठिक हुन्छ, नभए काम छैन।'
नकिम र राजेशले भाष्करको आइडिया मनपराए।
विशाल बजार कम्पनीसँग छलफल बढ्यो।
कुरा त मिल्यो, तर मूल समस्या त्यसपछि सुरू भयो।
सिनेमा हल व्यवसायबाट फड्को मारेर सपिङ कम्प्लेक्स चलाउने आँट गरे पनि भाष्कर र उनको टिमसँग आर्थिक स्रोत थिएन। तीन–चार करोड लगानीमा हल चलाइरहेको समूहका लागि विशाल बजार भाडामा लिनु र पुनर्निर्माण गरेर अत्याधुनिक सपिङ कम्प्लेक्स बनाउनु आफैमा ठूलो कुरा थियो। उक्त सपिङ मलको अनुमानित लागत ७०–८० करोड रूपैयाँ थियो।
त्यही बेला अर्को समस्या पर्यो — सेयर बजार र रियल–इस्टेट व्यवसायमा एकैचोटि मन्दी आयो।
जुन व्यवसायीले ललितपुर विशाल बजार पुनर्निर्माणमा ७० प्रतिशत लगानी गर्छु भनेर भरोसा दिएका थिए, उनको धेरै पैसा सेयर र रियल–इस्टेटमा फस्यो।
यसले भाष्कर र उनका साथीहरू हच्के।
परियोजना सुरू गर्ने कि नगर्ने भनेर उनीहरू दुबिधामा परे।
'हामीबीच धेरै वादविवाद भयो। कसरी अघि बढ्ने? के गर्ने? यो समस्या कसरी पार लगाउने? हामी धेरै समय यसैमा अलमलियौं,' भाष्करले हामीसँगको भिडिओ कुराकानीमा भने, 'सिनेमा हलको सानो व्यवसाय गर्दै बसेका हामीले एकैचोटि ठूलो काम आँटेका थियौं। तर त्यो काम फत्ते गर्ने पुँजी हातमा थिएन। हाम्रो निम्ति एकदमै अप्ठ्यारो परिस्थिति सिर्जना भएको थियो।'
एक मन त उनीहरूलाई योजना बीचैमा छाडौं कि भन्ने पनि भयो। तर देखिसकेको सपना अधुरो छाड्न उनीहरूको व्यावसायिक चेतले दिएन। त्यसमाथि यही काममा उनीहरूले ७–८ करोड रूपैयाँ फसाइसकेका थिए।
पुल्चोकजस्तो केन्द्रमा रहेको विशाल बजारलाई अत्याधुनिक स्वरूपमा पुनर्निर्माण गर्न सके राम्रो प्रतिफल पाइन्छ भन्ने उनीहरूको ठूलो विश्वास थियो।
'यही विश्वासले हामी यति ठूलो काम आँट्न तत्पर भएका थियौं। तर पुँजीको समस्याले हामीलाई धरमर बनायो,' भाष्करले भने।
गहन सोचविचारपछि आखिरमा उनीहरूले बैंकसँग ऋण लिएर परियोजना अघि बढाउने निधो गरे।
विभिन्न बैंकसँग छलफल सुरू भयो।
'हामीले जयनेपाल, कुमारीदेखि सिभिल मलका सबै क्युएफएक्स राम्ररी चलाएका थियौं। कारोबार राम्रो थियो,' भाष्करले भने, 'हाम्रो त्यही व्यावसायिक साख देखेर एनआइएमबी (नेपाल इन्भेस्टमेन्ट मेघा बैंक) लगानी गर्न तयार भयो।'
बैंकको कर्जाबाहेक भाष्कर, नकिम र राजेशले यो परियोजना अघि बढाउन आफ्ना केही पारिवारिक सम्पत्ति पनि बेचे।
'हरेक व्यवसायीले आफ्नो क्षमताभन्दा ठूलो चुनौती मोलेको हुन्छ। हामीले पनि त्यही गर्यौं। सिनेमा हलहरू राम्रै चलिरहेका थिए, तर हामीले नयाँ क्षेत्रमा उडान भर्न बैंकसँग करोडौं ऋण लियौं। आफ्नो पुर्ख्यौली घरखेत बेच्यौं। कमाएको सबै पैसा यसैमा खन्यायौं,' उनले भने, 'निर्माण सकिएर सञ्चालनमा आउँदासम्म १ अर्ब ६० करोड रूपैयाँ लगानी भयो।'
तीन–चार करोडको हल चलाउने मान्छेलाई डेढ अर्बभन्दा बढीको लगानी त यस्तो भयो, मानौं स्वयम्भु डाँडा उक्लिरहेको व्यक्तिले एकैचोटि सगरमाथा चढेको होस्!
'यो परियोजना धान्न सकेनौं भने हामी युवा व्यवसायीहरू एकैचोटि सडकमा आउनेवाला थियौं,' भाष्करले भने, 'यसले हामीलाई जिन्दगीकै सबभन्दा ठूलो तनाव दियो। हाम्रो रातको निद्रा हरायो। चिन्ताले रक्तचाप बढ्यो। औषधि खानुपर्ने अवस्था आयो।'
भाष्कर र उनका साथीहरूले आफ्नो व्यावसायिक यात्रामा मोलेको यो चुनौती आज एक सफल व्यवसायको उदाहरण बनेको छ।
लबिम मलले काठमाडौंको 'सपिङ कल्चर' मै परिवर्तन ल्याएको छ। आज यो किनमेल गर्ने थलो मात्र होइन, मध्यमवर्गीय उपभोक्ताको निम्ति 'स्ट्याटस सिम्बल' बनेको छ।

एउटा खण्डहरमा परिणत भइसकेको ठाउँलाई सहरको भर्भराउँदो गन्तव्यमा परिणत गर्न भाष्कर र उनको टिमले के–के गरे त?
जबाफमा भाष्करले ललितपुर विशाल बजारको पुनर्निर्माण र ब्रान्डिङको कथा सुनाए —
जसरी युवा पुस्तालाई लक्ष्य गरेर 'क्युएफएक्स' नाम राखिएको थियो, त्यही पुस्तालाई हेरेर यो सपिङ कम्प्लेक्सको नयाँ नामकरण गरियो।
'ललितपुर विशाल बजार भन्दा न्यूरोडकै विशाल बजारको झल्को आउँथ्यो। कुनै नयाँपन थिएन। त्यसमाथि त्यो ब्रान्ड असफल भइसकेकाले फेरि त्यही नाममा चलाउँदा ग्राहक आकर्षित होलान् भन्ने पनि हामीलाई लागेन। त्यसैले हामीले छोटकरी नाम प्रयोग गर्ने निधो गर्यौं,' भाष्करले भने।
त्यही छोटकरी नाम राख्ने उपक्रमको परिणाम हो — लबिम मल।
भवन पुनर्निर्माणका पछाडि पनि यी तीन जनाको छुट्टै सपना जोडिएको छ।
त्यो बेला काठमाडौंमा किनमेल गर्ने र खाना खाने राम्रो गन्तव्य भनेकै या त न्यूरोड, या दरबारमार्ग। मध्यमवर्गका उपभोक्ता न्यूरोड जान्थे, अलि उच्चवर्ग दरबारमार्ग घुम्थे। भाष्कर र उनको टिमले दरबारमार्गको किनमेल र खानपिन अनुभवलाई सपिङ कम्प्लेक्सको रूप दिने योजना बुने।
'दरबारमार्ग घुम्दा जे–जस्तो अनुभव हुन्छ, ती सबै अनुभव एउटा घरभित्र समेट्यो भने कस्तो होला?' उनले भने, 'यही प्रश्न दिमागमा राखेर हामीले लबिम मलको डिजाइन गर्यौं।'
यसका लागि उनीहरूले भारतबाट आर्किटेक्ट झिकाए। ती आर्किटेक्टले भारतीय ढाँचाका थुप्रै सपिङ मलको नक्सा बनाए।
तर ती कुनै पनि नक्सा उनीहरूले रूचाएनन्।
'हाम्रो एउटै माग थियो — यो भारत वा सिंगापुरको जस्तो हाईफाई मल होइन, दरबारमार्गको झलक दिने खालको हुनुपर्छ। यहाँ आउँदा हरेक व्यक्तिलाई यस्तो लाग्नुपर्छ, मानौं सडकको बीचमा घुम्दैछौं,' भाष्करले आफ्नो योजना सुनाए।
यही योजना अनुसार आर्किटेक्टले नयाँ ढाँचामा काम सुरू गरे।
अहिले तपाईं लबिम मल घुम्न जानुभयो भने यसका धेरै अंशमा दरबारमार्गको झलक पाउनुहुन्छ।
दरबारमार्गमा रहेको तीनधारा संस्कृत पाठशालाको झल्को आउने गरी लबिम मलमा सुर्कीचुना र परम्परागत इँटाको डिजाइन प्रयोग गरिएको छ।
दरबारमार्गको फुटपाथमा पहिले जस्तो ढुंगा छापिएको देखिन्थ्यो, त्यसलाई प्रतिबिम्बित गर्दै लबिम मलमा पनि टायलहरू छापिएका छन्।
दरबारमार्गको फुटपाथमा जस्तै यहाँ पनि हरेक तलामा फलामे रेलिङ राखिएको छ।
दरबारमार्गमा जस्तै यहाँ पनि अन्तर्राष्ट्रिय ब्रान्डका आउटलेट छन्। काठमाडौंका केही लोकप्रिय रेस्टुरेन्टका शाखा पनि खोलिएका छन्।
'सुरूका दिनमा हामीलाई अन्तर्राष्ट्रिय ब्रान्डहरू ल्याउन गाह्रो भयो। पाटनमा ठुल्ठूला ब्रान्डका आउटलेट कुमारीपाटीमा खोलिएका थिए। तिनलाई कुमारीपाटी नै पाटनको मुख्य सपिङ सेन्टर हो भन्ने लाग्थ्यो,' भाष्करले भने, 'ती ब्रान्डसँग छलफल गर्दै हामीले धेरै दुःख गरेर यहाँ आउटलेट खोल्न मनायौं। पछि बिस्तारै अरू धेरै ब्रान्ड हाम्रो आइडियामा सहमत हुँदै गए।'
सबभन्दा ठूलो कुरा त, यो मल घुम्दा अरू सपिङ कम्प्लेक्समा जस्तो गुम्म वा चारैतिरबाट थुनिएको अनुभूति हुँदैन। दरबारमार्गमा जस्तै यहाँ प्राकृतिक हावा खेल्छ र हरेक तलामा घुम्दा सडकमै हिँडेजस्तो अनुभूति हुन्छ।
'नेपालीहरूलाई एयरकन्डिसन भएको कोठा वा घर खासै मन पर्दैन। हामी लगातार लामो समय एसीमा बस्न पनि सक्दैनौं। स्वच्छ हावा खेल्ने ठाउँ नै हामीलाई प्यारो लाग्छ। यही सोचेर हामीले लबिम मललाई यस्तरी डिजाइन गरेका छौं, ताकि हरेक कुनामा प्राकृतिक हावा खेल्ने ठाउँ होस्। मान्छेलाई कुनै सपिङ कम्प्लेक्सभित्र थुनिएको होइन, खुला ठाउँमा हिँडेको अनुभव होस्,' भाष्करले भने।
यो आइडियाले सबभन्दा ठूलो लाभ कोभिड महामारीमा भयो। लकडाउन हटेको धेरै समयसम्म मान्छेहरू संक्रमणको डरले बन्द ठाउँतिर जान रूचाउँथेनन्, उनले भने, 'लबिम मलको संरचना खुला भएकाले मान्छेहरू यहाँ आउजाउ गर्न सुरक्षित ठान्थे।'
युवा र मध्यम वर्गलाई लक्षित ब्रान्डिङ र नयाँ ढंगको संरचनाका कारण आज लबिम मलमा विभिन्न खालका व्यापारिक कार्यक्रम भइरहन्छन्। हरेक शनिबार यहाँ मेला लाग्छ।
यति मात्र होइन, धेरैलाई लबिम मल भन्नेबित्तिकै राम्रो ब्रान्ड र राम्रो रेस्टुरेन्टको कल्पना मनमा आउँछ। पसलहरू परिवर्तन भइरहे पनि यहाँ एकाध सटर मात्र खाली छन्। एउटा ब्रान्डले छाड्नेबित्तिकै त्यो ठाउँ अर्को ब्रान्डले लिइहाल्छ।
लबिमको व्यापारलाई लिएर भाष्कर आफै पनि सन्तुष्ट छन्।
'सोचेभन्दा बढी लगानी भएकाले प्रतिफल आउन समय लाग्छ होला, तर हामी निराश छैनौं,' उनले भने, 'अहिलेसम्म ब्रेक–इभन (नाफा–घाटा बराबर) मा आइसक्नुपर्थ्यो; तर भुइँचालो, कोभिड लगायत कारणले त्यो केही पर सरेको छ। तर हाम्रो वृद्धिदर राम्रो छ।'
यति हुँदाहुँदै लबिम मलले ऊर्जा र शुकून यति धेरै सोस्यो, अब फेरि यति नै ठूलो परियोजनामा लगानी गर्ने आँट नआएको उनी बताउँछन्।
'नयाँ नयाँ लगानीको प्रस्ताव नआएको होइन, तर तत्काल कुनै अर्को क्षेत्रमा हात हाल्नेबारे हामीले सोच्न पनि सकेका छैनौं,' भाष्करले भने।
अहिलेलाई उनी र उनका साथीहरू यतिमै खुसी छन् —
जसरी क्युएफएक्सले नेपालका सिनेमा हलमा क्रान्ति ल्यायो, त्यसरी नै लबिम मलले काठमाडौंको जीवनशैलीमा क्रान्ति ल्याएको छ।
काठमाडौंलाई कथाहरू सजीव हुने अत्याधुनिक सिनेमा हल दिएका उनीहरू सहरको जीवन्ततामा नयाँ कथा लेख्न सफल भएका छन्।
र, त्योभन्दा बढी पाटन सहरमा प्राचीनता र आधुनिकताको नयाँ संगम कोरेका छन्।
***