२०७२ को भूकम्पपछि अमेरिकाले नेपाललाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा खारेज भएको छ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सूचना जारी गरेर टिपिएस सुविधा बन्द गर्ने निर्णय गरेको युएस सिटीजनसिप एन्ड इमिग्रेसन सर्भिसको वेबसाइटमा उल्लेख छ।
यो निर्णय गृहमन्त्री कृष्टि नोयमले नेपालको अवस्थाको समीक्षा र एजेन्सीहरूसँगको परामर्शपछि लिएको बताइएको छ।
अमेरिकाले टिपिएस सुविधा खारेज गरेसँगै यो सुविधाअन्तर्गत अमेरिका बसिरहेका नेपालीहरू फर्किन पर्ने हुन्छ। त्यसका लागि अगस्ट ६ सम्मको समय तोकिएको छ।
टिपिएस सुविधा लिएर साढे ७ हजारदेखि ८ हजारको हाराहारीमा नेपालीहरू अमेरिकामा बसिरहेको न्युयोर्कमा रहेका कानुन व्यवसायी बासु फुलाराले सेतोपाटीलाई बताए।
यद्यपि सबै नेपाल फर्किन नपर्ने उनको भनाइ छ।
'जसले टिपिएस सुविधा लिएका थिए। उनीहरूले अरू प्रक्रिया अपनाउन पाउछन्। अमेरिकी नियम उलंघन नगरी बसेकाहरूले टिपिएस पाउनुभन्दा अगाडिकै अवस्थामा जान पाउने प्रावधान छ,' उनले भने,'कुनै पनि उपाय नभएकाहरूले मात्र नेपाल फर्किन पर्ने हुन्छ। त्यो संख्या १५ सयदेखि ३ हजारको हाराहारीमा हुन सक्छ।'
किन पाएका थिए नेपालीले टिपिएस?
२०७२ वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गयो। भूकम्पका कारण ठुलो क्षति भएको भन्दै अमेरिकामा रहेका नेपालीलाई अमेरिकाले टिपिएस सुविधा दिएको थियो। त्यो सुविधा पाउनका लागि २०७२ वैशाख १२ गतेसम्म अमेरिका पुगेको हुनपर्थ्यो। त्योभन्दा पछाडि उक्त सुविधा पाउन सक्दैनथे। तर भूकम्प जानुभन्दा अगाडि या गएकै दिनमा जुनसुकै तरिकाले गएको भए पनि उनीहरूले टिपिएस सुविधा पाएका थिए।
'अमेरिकाले २०१५ को जुनमा नेपालीलाई टिपिएस सुविधा दिएको हो। तर त्यसका लागि भूकम्प गएको दिनसम्म भए पनि अमेरिका पुगेको हुनपर्थ्यो,' फुलाराले भने,'सुरूमा १८ महिनाको लागि दिइएको यो सुविधा समय थपिँदै थपिँदै अहिलेसम्म लागू थियो। अब भने पूर्ण रूपमा खारेज हुने भएको छ।'
भूकम्प पछिको अवस्था सुध्रिएको र अमेरिकामा रहेका भूकम्प पीडितहरूले पनि आफ्नो अवस्था सुधारेको भनेर रिपोर्ट आइसकेकाले यो खारेज भएको फुलारले बताए। त्यस्तै नेपालको राजनीतिक अवस्था अस्थिर भए पनि हिंसात्मक खालको नभएकाले समेत यो खारेज भएको उनको भनाइ छ।
टिपिएस सुविधा लिइरहेकाहरूको विकल्प के हुन सक्छ?
टिपिएस भनेको आफैमा अस्थायी प्रावधान हो। प्राकृतिक प्रकोप, बाढी, पहिरो, हिंसा लगायतका कारण देशको अवस्था बिग्रिएमा अमेरिकाले दिने एउटा सुविधा हो। त्यसैले भूकम्पका कारण नेपालीले पनि टिपिएस सुविधा पाएका हुन्। सुरूमा हजारौको संख्यामा टिपिएसको सुविधा लिइएको भए पनि धेरैले आफ्नो 'स्टाटस' परिवर्तन गरिसकेका छन्।
अझै पनि २ महिनाभित्र टिपिएसको प्रावधान परिवर्तन गर्न मिल्ने ठाउँ रहेको फुलाराले बताए।
टिपिएस सुविधा लिनुभन्दा पहिला कोही विद्यार्थी भिसामा थिए भने उनीहरू फेरि विद्यार्थी भिसामा बस्न पाउँछन्। तर त्यसका लागि कलेजबाट आइ-ट्वेन्टी भने प्राप्त गर्नुपर्छ। त्यस्तै भिजिट भिसामा आएकाहरूले आफ्नो भिसा परिवर्तन गर्न सक्छन्।
'कसैले आफ्नो भिसा पूर्वअवस्थामा फर्काउन सक्छन्। कोही शरणार्थीको प्रक्रियामा जान सक्छन्। ग्रीनकार्ड भएका र यहाँको नागरिकता लिएकासँग बिहे गरेर ग्रीन कार्डको प्रक्रियामा जान सक्छन्,' फुलाराले भने, 'कानुनी प्रक्रियाका लागि थुप्रै बाटो भएकाले टिपिएस सुविधा लिएका सबै फर्किनुपर्ने नहुन सक्छ। अदालतमा जाने कुनै बाटो नभएका र विगतमा अमेरिकी नियम उल्लंघन गरेकाहरू मात्रै फर्किन पर्ने हो।'