सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान खण्डको सिद्धबाबामा खसेको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ।
प्रहरी चौकी दोभान पाल्पाका प्रहरी नायब निरीक्षक रूम केसीका अनुसार तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै सडक माथिबाट पहिरो खस्दा उक्त दुर्घटना भएको हो।
पहिरोमा परेर लु५१प ६६३३ नम्बरको मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गरेका रामपुर नगरपालिका–६ तालपोखरा बस्ने ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल पछाडि बस्ने जनककी श्रीमती २९ वर्षीया कल्पना चापागाईं घाइते भएकी छन्।
प्रहरीका अनुसार मंगलबार साँझ साढे ६ बजेतिर झरेको पहिरोमा परेका जनकलाई सडकदेखि ३५ मिटर तल भिरबाट उद्धार गरिएको थियो।
घटना भएको १५–२० मिनेटभित्रै पहिरोले पुरिएको अवस्थाबाट उद्धार गरिएका जनकलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
घाइते भएकी कल्पनाको बुटवलमा उपचार भइरहेको प्रहरी नायब निरीक्षक केसीले जानकारी दिए।
पहिरोका कारण केही समय अवरूद्ध भएको सडकमा अहिले पहिरो हटाएर आवागमन सुरू गरिएको छ।