दैनिकजसो बिरामीहरू जाँच गर्ने, उपचार गर्ने र निरन्तर सेवामा तल्लीन रहँदा थकित शरीर र मनलाई केही ऊर्जा आवश्यक थियो।
जीवनलाई केही क्षण आफ्नै लागि बाँच्ने, प्रकृतिसँग संवाद गर्ने समयको खाँचो महसुस भइरहन्थ्यो। नेपाल जस्तो देवभूमिमा यस्ता अवसरहरू पाइने कुरा नै आफैमा सौभाग्यको अनुभूति हो।
यहाँका हिमाल, पहाड र तराईका फाँटहरूले सधै मेरो मन प्रफुल्लित बनाउने गर्छन्।
नेपालका विभिन्न जिल्लाहरूको भ्रमण गर्ने, सांस्कृतिक विविधता बुझ्ने र हिमालहरूको सौन्दर्य नियाल्ने चाहना मेरो मनमा सधै गहिरो रूपमा बास गर्छ। यही चाहनाले यो पटक हामीले दाङबाट मनाङ जिल्लाको प्रसिद्ध तिलिचो तालसम्मको यात्रा तय गर्ने निर्णय गर्यौं।
तिलिचो ताल-संसारकै एक उच्च स्थानमा अवस्थित ताल-समुद्री सतहदेखि ४,९१९ मिटरको उचाइमा छ। यो नेपालकै सुप्रसिद्ध अन्नपूर्णा क्षेत्रभित्र पर्छ, जुन अन्नपूर्ण सर्किट पदयात्राको प्रमुख गन्तव्यहरूमध्ये एक हो।
दाङबाट चैतको पहिलो हप्ता हामी यात्राका लागि तीन जना घोराहीदेखि लमजुङको बेँसीसहरका लागि हिँड्यौं।
बेँसीसहरबाट साना जिपहरू मनाङसम्म जाने रहेछन्।
प्रति व्यक्ति ३००० रुपैयाँ मनाङसम्म र ३५०० रुपैयाँ खाङसरसम्म लिँदा रहेछन् उनीहरू।
लमजुङको बेँसीसहरबाट बिहानको करिब ११ बजेतिर हामी मनाङका लागि अगाडि बढ्यौं।
ठाउँ ठाउँमा राम्रो चिप्लो बाटो थियो भने केही ठाउँमा हाम्रो गाडीलाई पनि गाह्रो हुने गरी बाटो बिग्रिएको अवस्था थियो।
कुशल हातमा गाडीका स्टेरिङहरू थिए, त्यसैले होला हामी ढुक्क जस्तै थियौं।
बाटोमा विभिन्न झरनाहरू हेर्दै हामी पहिलो दिन मनाङको 'घ्यारु' भन्ने गाउँमा बास बस्न पुग्यौं।
-1749288527.jpg)
समुद्र सतहबाट ३६७० मिटर उचाइमा रहेको उक्त गाउँबाट सुन्दर हिमालहरू हेर्न पाइँदो रहेछ।
अन्नपूर्ण सर्किट पदमार्गमा पर्ने उक्त गाउँ मनमोहक थियो।
अझै पर्यटक मौसम सुरू नभइसकेको अवस्थामा उक्त गाउँमा एक परिवार मात्र भेट्यौं जसको घरमा हामीले बास बसेका थियौं।
अर्को दिन बिहानै हामी घ्यारुबाट खाङसरका लागि बेँसीसहरबाट आएको गाडीमै लाग्यौं।
हाम्रो गन्तव्य तिलिचो ताल भएकाले मनाङका विभिन्न ठाउँहरू दृश्यावलोकन मात्रै गरी हामी सिधै खाङसरतर्फ लाग्यौं।
तर आजको हाम्रो गन्तव्य खाङसर मात्र थिएन। आज हामीले त्यहाँबाट अझ माथि—तिलिचो बेसक्याम्पसम्म पुग्नुपर्ने थियो।
खाङसर पुग्दा बिहानको १० बजिसकेको थियो। त्यहाँको एउटा लजमा स्वादिलो नेपाली खाना खाएर हामी तीनै जना आफ्नो गन्तव्यतर्फ अगाडि बढ्यौं।
यसअघि म अन्नपूर्ण आधार शिविर, लाङटाङको क्याञ्जिन री जस्ता पदमार्गमा हिँडिसकेको थिएँ, त्यसैले मलाई खासै अप्ठेरो महसुस भएन।
तर अरू साथीहरूलाई भने यो उचाइमा एकैपटक आउँदा केही असहज महसुस भयो।
यस्तो असहजताको बाबजुद पनि हामी हाम्रो संकल्पमा दृढ थियौं।
'अल्टिट्युड माउन्टेन सिकनेस' (एएमएस) का बारेमा हामीलाई राम्ररी जानकारी थियो।
तराईको फाँटमा बस्ने हामी, एकैदिनमा बिनाविश्राम ४००० मिटरभन्दा माथिको हिमाली काखमा पुगेका थियौं।
यति माथि स्वाभाविक रूपमा अक्सिजनको कमी हुन्छ, र हामीले पनि त्यो कमी विस्तारै महसुस गरिरहेका थियौं।
खाङसरबाट खाना खाएर करिब ११ बजेतिर हामी तिलिचो बेसक्याम्पतर्फ अघि बढ्यौं।
मनमा उमंग थियो, तर गन्तव्य भने अझै टाढा थियो।
-1749288531.jpg)
सुख्खा जमिन र टाकुराबाट लाग्ने चिसो हावालाई छिचोल्दै हामी अघि बढिरहेथ्यौं।
खाङसरपछि बाटो एक्कासि तीव्र उकालो हुने रहेछ।
उकालो चढ्न नसकी बीच बाटोबाटै फर्किरहेका केही पर्यटकहरूसँग हाम्रो भेट भयो।
उनीहरू पहिलो पटक पदयात्रामा निस्केका रहेछन्।
श्रीखर्कको उकालो चढ्न नसक्ने अनुभवपछि उनीहरू फर्किन बाध्य भएका थिए।
-1749288529.jpg)
हामी भने जसोतसो गर्दै उकालो चढ्दै गयौं।
श्रीखर्कमा पुग्दा, किन हो किन, एक किसिमको ठूलो विजय प्राप्त गरेको अनुभूति भयो —
सायद त्यसकारण होला कि केही समयअघि हामीले त्यही उकालो पार गर्न नसकी फर्किएका यात्रुहरू देखेका थियौं।
श्रीखर्कमा 'हट लेमन टी' खाएर फेरि उकालो चढ्न थाल्यौं।
त्यहाँबाट माथि 'अपर श्री खर्क' हुँदै हामी बेसक्याम्पतर्फ लाग्यौं।
ठूला–ठूला हिमालका काख चिर्दै, उकालो ओरालो गर्दै, भीरका सँघुरा बाटाहरू पार गर्दै हामी अघि बढिरह्यौं।
हामीसँग बोकेको चकलेटले हामीलाई थप ऊर्जा दिएको थियो।
-1749288529.jpg)
-1749288527.jpg)
बाटोमा अझै पनि फर्किरहेका थुप्रै थकित यात्रुहरू देख्दा डर लाग्दथ्यो —
'कतै हामी पनि लडेर फर्किनुपर्ने त होइन?' भन्ने सोच आउँथ्यो।
पहिरी गएको एरियामा पुग्दा, चिप्लिएर लडिन्छ कि! भन्ने डर अझ बढ्थ्यो।
तर जसोतसो गर्दै, त्यो साँझ हामी तिलिचो बेसक्याम्पसम्म पुग्न सफल भयौं।
तिलिचो बेसक्याम्प पुग्दा हामी तीनै जनालाई सास फेरिन निकै गाह्रो महसुस भयो।
भोक पनि खासै लागेन। साँझको खाना पनि त्यति रूचेन।
'अल्टिट्युड सिकनेस' का लक्षणबारे राम्ररी बुझेका हामीलाई तुरून्तै थाहा भयो—यो उचाइको असर हो।
सामान्यतया यति धेरै उचाइमा आउनुभन्दा पहिले कम्तीमा ३–४ दिन अलिक कम उचाइमा बिताएमा यस्ता समस्या देखिँदैनन्।
तर हामी त एक दिनअघि मात्रै तराईको फाँटबाट सिधै ३७०० मिटरको घ्यारुमा बसी आज ४२०० मिटरको बेसक्याम्प आइपुगेका थियौं।
स्थिति गम्भीर नदेखिए पनि केही समय विश्राम गरी, स्वास्थ्यको अवस्था मूल्यांकन गरेर मात्र अर्को दिनको यात्रा तय गर्ने निष्कर्षमा पुग्यौं।
भोलिपल्ट बिहानै हामीलाई बेसक्याम्पबाट तिलिचो ताल पुग्नुपर्ने थियो।
त्यो रात मलाई त निद्रा पर्यो, तर बाँकी दुई साथीहरूलाई भने बीच–बीचमा सास फेर्न गाह्रो भएर निद्रामा अवरोध भएको रहेछ।
जसोतसो त्यो रात कटायौं।
बिहान उठेपछि हामीले परामर्श गर्यौं—अगाडि बढ्ने कि नबढ्ने?
तीन जनामध्ये दुई जना मात्रै अगाडि जाने निर्णय गर्यौं भने एकजना साथी भने बेसक्याम्पमै विश्राम गर्ने निष्कर्षमा पुग्नुभयो।
-1749288527.jpg)
होटलका साहुजीलाई हाम्रो साथीलाई राम्रोसँग खानपिन गराइदिनुहोला, समय समयमा स्वास्थ्य अवस्था बुझिदिनुहोला भनेर आग्रह गर्यौं।
त्यसपछि हामी दुई जना बेसक्याम्पबाट तिलिचो तालतर्फ लाग्यौं।
बीच बाटोमा पुग्दा माथिबाट बिहानै हिँडेर फर्किंदै गरेका पर्यटकहरूसँग हाम्रो भेट भयो।
उनीहरूसँग तालको अवस्था र बाटोको बारेमा जानकारी लियौं।
उनीहरूले ताल अहिले जमेको अवस्थामा रहेको बताए।
निलो तालको तस्बिर हेरेर आएका हामीलाई थोरै खिन्नता लाग्यो, तर 'जमेको ताल हेर्नु पनि त एक प्रकारको अनौठो अनुभव हो नि' भनेर हामी अघि बढ्यौं।
साथमा बोकेको पानी र चकलेटले हामीलाई ऊर्जा दिइरह्यो।
जति माथि पुग्दै थियौं, उति अक्सिजनको कमी महसुस भइरहेको थियो।
समय–समयमा खुट्टा गलिरहेको अनुभव हुन्थ्यो।
टाढा–टाढाबाट हाम्रो देशको प्रकृति अवलोकन गर्न आएका विदेशी पर्यटकहरू देख्दा गर्व लाग्थ्यो।
जसोतसो गर्दै मध्यदिनतिर हामी तिलिचो ताल पुग्यौं।
ताल पूर्णतः स्थिर अवस्थामा थियो।
तुषारो जमेर ताल सेतो देखिन्थ्यो—अद्भुत दृश्य!
त्यसले हाम्रो सारा थकान हरायो।
जीवनमा पहिलो पटक ४९०० मिटरभन्दा माथिको उचाइमा पुग्दा शरीर थाकेको थियो, तर त्यहाँको हिमाली सौन्दर्यले त्यो थकानलाई पूर्ण रूपमा मेटाइदियो।
माथिबाट चल्ने चिसो हावा, वरिपरि फैलिएको हिउँ—सबै दृश्य अविस्मरणीय थिए।
यो नेपालको प्रकृतिको एउटा अनुपम स्वरूप थियो।
नेपालमा रहेका यस्ता सुन्दर हिमाल, ताल–तलैया, लेक–बेंसी अनि पहाडहरू हेर्न पाउँदा मलाई निकै आनन्द महसुस हुन्छ।
तिलिचो ताल पुग्ने मेरो धेरै पहिलेदेखिको धोको थियो, आज आफ्नै आँखाले त्यो ताल नियाल्न पाउँदा मन असीमित खुसीले भरियो।
त्यहाँ बुद्ध र शंकरका मूर्ति थिए, जसले हामीलाई मौनै नियालिरहेको जस्तो अनुभव भयो।
-1749288530.jpg)
तालको छेउमै रहेको सानो हटमा केही समय बितायौं।
शान्त, गम्भीर, विशाल ताललाई ध्यानपूर्वक नियाल्यौं।
त्यो विशाल तिलिचो ताललाई आफ्ना आँखाभित्र, सम्झनाभित्र कैद गर्दै हामी दुबैजना करिब आधा घण्टा जति त्यहीँ रमायौं।
अब भने हामीलाई तल फर्कनु थियो, जहाँ हामीले आफ्नो तेस्रो साथीलाई आराम गर्न छाडेका थियौं।
करिब दुई–तीन बजे तिर हामी पुनः तिलिचो बेसक्याम्प फर्कियौं।
हामी फर्किंदा हाम्रो साथी खाजा खाइसकेर आगो तापिरहेको देख्दा धेरै राहत महसुस भयो।
आज फेरि थकाइले छोपेकाले हामीले एक दिन अझै तिलिचो बेसक्याम्पमै बस्ने निर्णय गर्यौं।
त्यही साँझ बेसक्याम्पमा ठूलो हिमपात भयो।
त्यो दिन त्यहाँ आइपुगेका नयाँ पर्यटकहरू भने अर्को दिन तिलिचो ताल जान सक्ने सम्भावना नदेखेर निराश भए।
हामीले आफूहरू भाग्यमानी भएको अनुभव गर्यौं।
सायद एक दिन ढिला गरेर आएको भए हामी पनि तिलिचो तालसम्म पुग्न पाउँदैन थियौं।
प्रकृतिप्रति आभार व्यक्त गर्दै अर्को दिन मौसम अझै खराब हुन नपाउँदै हामी तल झर्न थाल्यौं।
त्यो दिन हामी खाजाको लागि फेरि खाङ्सार झर्यौं।
-1749288528.jpg)
खाङ्सारबाट फेरि जिप रिजर्भ गरी उही बाटो पछ्याउँदै हामी आ–आफ्ना गन्तव्यतर्फ फर्कियौं।
शरीरमा थकान थियो, तर मनमा भने तिलिचो तालको सौन्दर्य, हिमाली वातावरण, अनि बाटोका ती अविस्मरणीय पलहरूले नयाँ ऊर्जा भरिरहेका थिए।
हाम्रो साथमा थिए ती अङ्गिनत सम्झनाहरू—जसले हामीलाई जीवनभर सम्झाइरहनेछ कि हामी कुनै दिन आकाशसँग कुरा गरिरहेका ती हिमालहरूको काखमा, ४९०० मिटरको उचाइमा पुगेर, तिलिचो ताल जस्तो अद्भुत स्थलमा पुगेका थियौं।
तालबाट फर्कँदा मैले भनेको थिएँ—'म फेरि पनि आउनेछु, त्यो निलो तालको स्वरूप देख्न, त्यो मौनतालाई फेरि एकपल्ट महसुस गर्न।'
यात्रा सकियो, तर यो यात्राले हाम्रो जीवनमा जुन भावनात्मक छाप छाड्यो, त्यो कहिल्यै मेटिने छैन।
-1749288528.jpg)
-1749288529.jpg)