बिहानको पाँच बजे यात्रा सुरू गर्ने तय भइसकेको थियो।
म समयमै पुग्न हतारिँदै घरबाट हिँडेँ। जानु थियो गुल्मीको टिमुरे!
पाँचै बजे सोह्रखुट्टेबाट हाम्रो गाडी हिँड्यो। गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालले आयोजना गरेको यात्रामा हामी ३५ जना थियौं।
काठमाडौं हुँदा बस सरर गुडिरहेको थियो। थानकोट कटेपछि खाल्डाखुल्डीमा ढलपल सुरू भइहाल्यो।
केहीबेर त झसङ्ग भयौं। बाटो कहिले बन्ने ठेगान नभएको देखेर दिक्क पनि लाग्यो। किन छिटो बन्न सकेन? मनमा अनेक प्रश्नहरू उब्जिन्थे।
बाटमा कामदाहरूले सडक बनाइरहेको देखेपछि आफू किशोरा अवस्थामा हुँदाका पलहरू मानसपटलमा घुम्न थाल्यो।
म ६ कक्षामा पढ्थेँ। गाउँमा मोटर बाटो बन्दै थियो। गाउँमा आउन लागेको मोटरबाटो बनाउन हामीले पनि श्रमदान गर्नुपर्थ्यो। स्कुलले नै विद्यार्थीलाई एकदिन सडकमा लगेर श्रमदान गर्न लगाउथ्यो। त्यतिबेला विकास निर्माणका लागि जनताले श्रमदान गर्ने चलन थियो। सायद गाउँघरमा यो चलन अझै पनि होला।

बसको झ्यालबाट बाहिरको दृष्य हेर्न औधि रमाइलो लाग्छ। सँधै हिँड्ने यो राजमार्गमा हिँड्दा आज बेग्लै अनुभूति थियो। किनकी सधैं हिँडेको बाटो हुँदै नौलो ठाउँमा सहकर्मी तथा साथीहरूसँग घुम्न जाँदै थिएँ।
कतै मकैका बोटहरूले ढाकेका, कतै चैते धान वयली खेल्दै गरेका फाँटहरू! बस्ती, फाँट, जंगल हुँदै दौडिएको गाडीबाट एकपटक चिलाउनेको बोट देखेँ। हरियो पातले भरिएको बोटमा सेता फूलहरू फुलेका थिए। त्यो दृष्यले पनि बाल्यकालमै पुर्यायो। सानो हुँदा कहिले धागोमा त कहिले सल्लाको पातमा चिलाउनेका फूल राखेर उडाउँथ्यौं। फलेका दानालाई भुरूङ बनाएर खेलेको सम्झेँ। साँच्चै कति सुन्दर थिए ती दिनहरू है। न कसैको डर न कुनै कुराको चिन्ता!
ढ्याक, डन्डिबियो, सिरेडुम खेल खेल्दै हुर्कियौं। त्यो बेला सँगै खेलेका साथीहरू सम्झिँदै यो यात्राभरी भावविवोर भइरहेकी थिएँ।
झ्यालबाट प्याजी रङको फूलहरू देख्ला पनि बाल्यकालकै याद आउँथ्यो। अंगेरीको खाँदै खेलेको याद आउँथ्यो। पाकेको अंगेरी खाएपछि साथीहरूलाई रंगीएको जिब्रो देखाउँदै कसको गाडा बस्यो भन्दै हामी हाँस्थ्यौं।
खुसी हुनलाई रंगीएको जिब्रो देखे पुग्ने कस्तो बालापन है!
आफ्नो बालापन सम्झिँदै गर्दा आफू नै आमा बनिसकेको झन्डै बिर्सिएछु।
मभित्रको आमाको मनले फेरि सोच्यो- आजभोलि यो सहरकेन्द्रित बसाइँका कारण बालबालिकाले प्राकृतिक अनुभूति लिन पाएका छैनन्।
बन्द कोठामा नै उनीहरूको संसार छ। खेल्ने, बस्ने, पढ्ने सबै थलो कोठा नै बनेको छ। प्राविधिक सुख सुविधाको प्रचुर उपयोग गरे पनि यी वन जंगल, पाखापखेरा, वनस्पति, बोटविरूवासँगको सामिप्यताबाट वञ्चित छन्।
नयाँ पुस्ताबारे यी मनोभावहरू खेलिरहँदा बस कुन बेला पोखरा पुग्यो पत्तै पाइनँ।
लेकसाइडमा भइरहेको गाउँ पर्यटन मेलामा सहभागी जनाउन निम्तो आएको थियो। त्यसैले सिधै कार्यक्रमस्थल पुग्यौं। कार्यक्रमस्थलतिर जान लाग्दा मेरा आँखा खरले छाएको रोधी घरमा पर्यो।
खरले छाएको चिटिक्कको घरसँगै उभिएर एउटा तस्बिर खिँचाएँ। विभिन्न किसिमका खोस्टा र चोयाले बुनेका डोको, स्याखुहरू साथै गाउँघरका उत्पादित वस्तुहरूले कार्यक्रमलाई मनमोहक बनाएको थियो। त्यो घरले पनि आफू हुर्किएको गाउँको सम्झना दिलायो।
समय निकै ढल्किसकेको थियो।
हाम्रो गन्तव्य गुल्मी थियो। त्यसैले खाना खाएर कुस्मा बाग्लुङ हुँदै गाडि गुड्यो। लुम्लेको हावाले अनुहारमा हान्दा 'मुटुछुने लुम्लेको हावाले' भन्ने गीत गुनगुनाएँ।
कालीगण्डकीको पानीलाई थुनेर बनाइएको मिर्मितालको सुन्दर दृश्य नियाल्दै हामी खैरेनी हुँदै शान्तिपुर बजार पुग्यौं। रात छिपिइसकेता पनि हामी त्यस दिनको गन्तव्य टिमुरे पुगिसकेका थियौं।

टिमुरेमा स्थानीय सरकार र बासिन्दाको आतिथ्य गजबको थियो। दिनभरको थकाई बिर्साउने स्थानीय परिकारको स्वाद लिँदै त्यहाँ आयोजित सांस्कृतिक कार्यक्रम हेर्यौं।
चराचुरूंगीको चिरबिर र पशुचौपायाको आवाजसँगै भारी वर्षाले बिहानको स्वागत गर्यो। त्यो दिन टिमुरे ताल जाने योजना भएता पनि बिहानैदेखि पानी परेको पर्यै भयो।
गाउँबाट टिमुरे ताल पुग्न १३ किलोमिटर उकालो जानुपर्ने रहेछ। धैरैजना साथीहरू बिहानै उठेर गएता पनि हामी पानीमा भिजेर नजाने सोचमा थियौं। गाउँपालिकाका सरहरू पनि जान लाग्नु भएको देखेपछि भने उहाँहरूकै गाडिमा गयौं।
बाटोमा ऐँसेलुका झाङहरू टन्नै थिए। बीचमा गाडि रोकेर लटरम्म फलेका ऐँसेलु र चुत्रो खाँदै टिमुरे टावर पुग्यौं।
डाँडामा लुकामारी खेलिरहेको बादल र बीचमा मुस्कुराइरहेको टिमुरे ताल आहा!
चिसो तालको हावाको बेग महशुस गर्दै ताल किनारमा बस्दै प्रकृतिको स्पर्श लिन थालेँ। नछोएरै पनि छोएझैं लाग्ने प्रकृतिले मलाई खुबै लठ्यायो त्यो दिन।
त्यहाँ केही तस्बिर खिच्यौं। सोचेँ साँच्चै तस्बिरमा कैद गरिएका दृश्यभन्दा हजार गुणा सुन्दर हुने रहेछन जमिनमा टेकेर हेरेका दृश्यहरू।
टिमुरे तालबाट गाउँ फर्कियौं। त्यो दिन पनि त्यही कार्यक्रम थियो। स्थानीय झाँकी र बाजागाजासहितको प्रस्तुतिले कार्यक्रमलाई थप सुन्दर बनाएको थियो।
उपस्थित सबै पाहुनालाई हातमा मायाको चिनो दिई स-सम्मानसहित बिदा गरिएको त्यो दृश्य साँच्चिकै आत्मियता बढाएको थियो।
फूलका मालाहरू, मिठा परिकारहरू, ती मायाका पलहरू मनमै लिएर निस्कियौं।
शान्तिपुर बजारबाट केही घण्टाको यात्रा पार गरेपछि चोरकाटे खैरहनी रूद्रवेणी हुँदै रिडी तीनमुखे पुलको अवलोकन गर्यौं। अनि नजिकैको रूरू आश्रम पनि।
आश्रममा बस्नुभएकी एउजना आमा नजिकै आएर कुरा गर्न खोज्नु्भयो। तर उहाँ बोल्न नसक्ने हुनु हुँदो रहेछ। उहाँले केही भन्न खोजिरहनुभएको थियो तर उहाँको हातको हाउभाउ बुझ्नै कठिन।
त्यहीबेला अर्को आमा आउनुभयो।
हामीलाई देखेर हतार हतार आउनुभएको रे! उहाँ पनि आफ्नो कुरा सुनाउन थाल्नुभयो। म चुपचाप सुनिरहेँ। उहाँले मनका गाँठाहरू फुकाउन मान्छे पाएर होला आमाको अनुहार उज्यालो भइरहेको थियो।
-1751091726.jpeg)
अहिले पनि ती आमालाई सम्झिन्छु जसले केही भन्न खोजिरहनु भएको थियो। तर मैलै उहाँले भन्न खोजेको कुरा बुझिनँ। केही कुरा नभएता पनि ती आमाले केही भन्न खोजिरहनुभएको थियो भन्ने कुरा चाही बुझेँ।
अहिले म ती आमाले भन्न खोजेको कुराबारे अनेक अनुमान लगाइरहेको छु। त्यसैले त उहाँ मेरो सम्झनामा बसिरहनुभएको छ।
अपरिचितहरू आएर आफ्ना कुरा सुनाउँदा म छक्क पर्छु। आफ्ना कुरा सुनाएर उनीहरू उज्यालो अनुहार बनाउँदै जान्छन्। म भने आफैसँग प्रश्न गर्छु- मान्छेले मलाई किन विश्वास गरेका होलान्? के म उनीहरूको घाउको मह्लम बन्न सक्छु?
कतै पढेकी थिएँ, ‘संसारको सबैभन्दा थकान र त्रासले भरिएको कर्म हो, अरूको गोप्य कुरा बोकेर हिँड्नु।’
त्यो किताब सम्झिएँ अनि सम्झिए त्यसका पात्र। अनि तल बगिरहेको वढीगाड मिसिएर बगिरहेको कालीगण्डकी नदीलाई नियालेँ।
कालीगण्डकीमा मिसिएको वढीगाड नदीलाई हेर्दै आफैंलाई प्रश्न गरेँ- 'प्राय: मैले देख्दा सँधै धमिलो देख्ने नदी आज पनि उस्तै छ। पानीमा पानी मिलाउँदैमा पानीको रङ नबदलिनुपर्ने हो तर यहाँ बदलिएको छ। रंग भर्न त रंग नै नचाहिने रहेछ हैन?'
अनि ती आमाका कुराहरू सम्झिएँ। सोचेँ, नहेरेरै पनि बुझिन्छ कसैको नियत नभेटेरै पनि भेटिन्छ मनको भाव अनि नसोचेरै पनि बाँचिरहन्छन् सम्झनामा यी अद्भूत भावहरू।
बस अगाडि बढीरहेको थियो, झ्यालबाट सुन्दर प्रकृति नियालेँ।
-1751091725.jpeg)
त्यो दिन हामी तानसेन बस्यौ।
भोलिपल्ट रानीमहलको अवलोकनमा गयौं।
आफ्नी प्रेमिकाको नाममा कसैले बनाएको महल पुगेपछि कहिले पनि नदेखेकी ती रानीको सम्झना हुने रहेछ। कसैको प्रेम यसरी सबैले सम्झेर पनि महान हुने रहेछ। उनीहरूको प्रेम सम्बन्ध आफैमा कस्तो थियो थाहा छैन। तर प्रेमको भावनाले ओतप्रोत महल भने सुन्दर थियो।
त्यसपछि हामी काठमाडौं फर्किन गाडी चढ्यौं।
गाडिमा नयाँ-पुराना गीतहरू गुज्जिरहेको थियो। बाटामा नदी देख्दा सोच्थेँ- कति यात्राहरू सँगै भएर पनि अधुरा हुने रहेछन्। सँगैको बगरलाई छोडेर नदी बगिरहेछ। न नदीले बगर भेट्छ न बगरले नै नदी!
जीवनको अनुभीतीहरूलाई मानिसले मानिस भएर र कहिले प्रकृति बनेर हेरे कति सुन्दर छन् नि है यी सबै!
हावा, पानी, माटो, नदी, बादल, हिमाल, पहाड, ढुंगा, माटो यी सबै मायाका स्पर्शहरू न हुन्। जसले जीवन बाँच्न प्रेरित गर्ने रहेछ।
यी सबै यादलाई संगालेर सुन्दर माला बनाउन मलाई भने समयले सिकायो। साँच्चै समय बलवान छ त्यसैले महंगो जीवनको उपहार भनेकै समय रहेछ। समयलाई चिनौं र समयसँगै समयको श्पर्शमा जीवनको अनुभूति लिने गरौं।
-1751091724.jpeg)
-1751091724.jpeg)

