रेमिटेन्स ल्याउनेको कथा
सुन्दर भविष्यका लागि ऊर्जाशील वर्तमान साट्न वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या ठूलो छ। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार दैनिक दुई हजार हाराहारी युवा कामको खोजीमा परदेश पुगिरहेका छन्। अहिलेसम्म ४० लाखभन्दा धेरै वैदेशिक रोजगारीमा गएको श्रम मन्त्रालयको अनुमान छ। तिनमा बाध्य भएर बिदेसिनुपर्ने नियति धेरैको छ। उनीहरूकै जीवनको उतारचढाव र परदेशको अनुभव हामी यो शृंखलामा प्रकाशन गर्नेछौं। आजको अंकमा मलेसिया र कतारमा काम गरी फर्केर फेरि साउदी पुगेका दीपक तिरूवाको कथा —
दीपक तिरूवाले आफ्नो ऊर्जाशील उमेरको डेढ दशक खाडी र मलेसियामा खर्च गरिसके।
काम गर्न सकेदेखि अर्काको देश धाएर मेसिनसरी घोटिँदै आएका ३५ वर्षीय तिरूवा भन्छन्, 'बच्चै बेला थियो। उमेर त ठ्याक्कै याद छैन तर म केटाकेटीमै भारत गएको हुँ। बिहेपछि पनि जहान लिएर दुई/अढाई वर्ष भारतमै बसेँ।'
दैलेखको भगवतीमाई गाउँपालिका-४ का तिरूवा भारतमा स्याउ, नासपाती, आरू लगायत फलफूल टिप्ने काम गर्थे। कमाइ दिनको सय भारतीय रूपैयाँ थियो। दिनभर काम गर्दा मुस्किलले खान पुग्थ्यो।
त्यसैबीच उनको बिहे भयो। छोरा जन्मियो। जिम्मेवारी बढ्यो। सय रूपैयाँ दिनको कमाइले परिवारको गुजारा चल्न छाड्यो।
जति घोटिँदा पनि गुजारा नचलेपछि उनी जहान र छोरा लिएर गाउँ फर्किए। र, आफ्नै ठाउँमा रोजीरोटीका उपाय खोज्न थाले।
तर बाबुबाजेको खोरियामा दस नंग्रा खियाउँदा पनि केही सीप चलेन। रूखो बारी; जति जोतिएर काम गरे पनि उब्जाउ नहुने। कति दिन त आधा पेट नै काटे। कति दिन भोकै बसे।
भोकले पेट बाउँडिन्थ्यो। कमजोरीले शरीर रिङ्ग्याउँथ्यो। अभावमै खाने मुख बढिरहे। छोराछोरी थपिएसँगै जिम्मेवारीको बोझले थिच्दै लग्यो।
ऊर्जाशील उमेरमा आफ्नै माटोमा पाखुरी बजार्छु भनेर कम्मर कस्दा पनि अवस्था नसुध्रिएपछि आखिरमा दीपक तिरूवाले परदेशको बाटो तताउने निधो गरे।
दीपक आमनेपाली युवाले बेहोरिरहेको बेरोजगारी समस्याका भुक्तभोगी हुन्। आफ्नै गाउँ-ठाउँमा केही गर्छु भन्ने मन हुँदाहुँदै अडिने आधार नभेटेर परदेशको बाटो रोज्न बाध्य युवा!
'यसै दुःख उसै दुःख, बरू घोटिन परे पनि दुई-चार पैसा कमाइ होला भन्ने भयो, अनि कुम्लो कसियो,' उनले भने, 'आफ्नै ठाउँमा आँटोपिठो उब्जाउ गरेर खान पुग्ने भए यो बिरानो मुलुकमा हाडछाला घोट्ने रहर कसलाई हुन्थ्यो र!'
दीपक अहिले साउदी अरबको रियादमा छन्। हामीसँग फेसबुक मेसेन्जरमा भिडिओ संवाद गरिरहँदा उनको अनुहार मलिन देखिन्थ्यो।
कुरा गर्दागर्दै भक्कानिन लागेका दीपकले सम्हालिँदै भने, 'भोकै मर्न कसरी सकिन्छ र! आफू मात्रै भए त दुःख हुन्थेन होला। केटाकेटीको बिजोगै भयो नि!'
उनका लागि वैदेशिक रोजगारको बाटो पनि सहज रहेन। भारत गएर फलफूल टिपेको बाहेक अरू सीप थिएन। पढाइलेखाइ पनि सामान्य थियो। सीप नभए पनि काम गर्नसक्ने उमेरका युवा ज्यामी, कुल्ली लगायत कामका लागि मलेसिया र खाडी मुलुक जाने गर्छन्। दीपकले पनि त्यसै गरे।
कुल्ली कामकै लागि भए पनि परदेश गएर पसिनासँग पैसा साट्ने निधो गरे।
'गाउँ बसेर काम, पानी, पैसा केही नभएपछि के गर्नु,' उनले भने, 'ऋणपान गरेर मलेसिया हिँडेँ नि!'
दीपकसँग परदेशमा घोटिएका प्रत्येक वर्षको एक-एक हिसाबकिताब छ। भारतबाट फर्किएर सन् २००८ मा उनी पहिलोपटक मलेसिया गएका थिए।
त्यति बेला एसएलसी परीक्षा चलिरहेको थियो। टेस्ट पास गरेका दीपकले पनि एसएलसी दिनुपर्थ्यो। तर उनी पढाइ छाडेर परदेश हानिए।
उनले सबभन्दा पहिला मलेसियाको कपडा कम्पनीमा सामान मिलाउने, प्याकिङ गर्ने, बोक्ने लगायत काम गरे। तलब ४४६ मलेसियन रिंगेट (करिब १५ हजार रूपैयाँ) थियो। ओभरटाइम पनि पाउँथे। कमाइ राम्रै थियो।
तीन वर्षको करार सकिएपछि सन् २०११ मा उनी नेपाल फर्किए। एक वर्षजति घरै बसे। जब वर्षदिन कमाएर ल्याएको पैसा सकिन लाग्यो, उनी सन् २०१३ मा कतार गए।
कतारमा पेट्रोलियम पाइपलाइनको काम गर्थे। दिनभर खन्ने र पाइप तान्ने-मिलाउने गर्नुपर्थ्यो। महिनाको ८०० कतारी रियाल (करिब ३० हजार रूपैयाँ) तलब थियो।
उनले कतारमा लगभग तीन वर्ष काम गरे र सन् २०१६ मा नेपाल फर्किए।
कतारबाट फर्किएपछि करिब सात वर्ष उनी नेपालमै बसे। परिवारसँगै बसेर केही उद्यम गरूँ भन्ने उनको धोको थियो। तर त्यो धोको पूरा भएन।
'ऋणपान तिरेर अलिअलि बचेको थियो,' उनले भने, 'जोडजामका नाममा आठ लाख खर्च गरेर एउटा घर बनाएँ, त्यत्ति हो।'
कतार र मलेसियाको धूपबाट जोहो गरेको पैसाले चिटिक्क परेको सानो घर बनाएका छन् दीपकले। त्यसअघि दाजुभाइसँग पुर्ख्यौली घरमा बस्थे। अहिले पुरानो घर दाइ र भाइको हो। त्यहाँबाट दस मिनेट उकालो लागेपछि उनको नयाँ घर पुगिन्छ।
'घर बनाइसक्नुभएको रहेछ, तैपनि किन फेरि साउदी जानुभयो त?' हाम्रो यो प्रश्नमा उनी एकछिन टोलाए।
सात सेकेन्डको मौनपछि उनले भने, 'गाउँठाउँमा जति काम गरे पनि परिवारलाई खान-लाउन पुर्याउनै सकिएन। आफ्नो त जिन्दगी नै अर्काको निम्ति हाड घोटेर गइगयो, बच्चाबच्चीलाई पनि आफूजस्तै बनाउन त भएन नि! त्यही सोचेर साउदी आएँ।'
दुई वर्ष हुनै आँट्यो, दिपक साउदी गएको।
उनी साउदीको रियादमा आर्मी क्याम्प सरसफाइको काम गर्छन्। झाडु, पोछासँग महिनाभरि घोटिन्छन्। तर कमाइ चित्तबुझ्दो छैन भन्ने उनको गुनासो छ।
'सुरूमै त्यति भनेको भए त चित्त बुझ्थ्यो होला,' उनले भने, 'धेरै कमाइ हुने लोभ देखाएर तलब थोरै दिने रहेछन्।'
उनलाई साउदी पठाउने दलालले ओभरटाइम पाइन्छ भनेको थियो। ओभरटाइम समेत गर्दा महिनाको १३ सय रियाल कमाइ हुने आश्वासन दिएको थियो। तर परदेशको बसाइ नेपालमा सुनेजस्तो नहुने रहेछ। अहिले उनी मासिक हजार रियाल, अर्थात् करिब ३५ हजार रूपैयाँ कमाउँछन्। यसनिम्ति महिनाभर हाडछाला घोट्नुपर्छ। दुःखैदुःखको चाङ छ। राम्रो खाउँ भन्दा पनि कमाइले पुग्दैन।
'सस्तो खाँदा पनि ४ सय रियाल त खानपिनमै सकिन्छ। जति मुठ्ठी कस्दा पनि बल्लतल्ल ६ सय रियाल बच्छ। भन्नुस् त, त्यतिले घर खर्च टार्ने कि साहुबाट लिएको सयकडा तीन ऋण तिर्ने?' भिडिओ कलमा कुरा गरिरहेका दीपकले निधार खुम्च्याए।
उनले काम गर्ने आर्मी क्याम्पमा लुगा धुने, भाँडा माझ्ने र सरसफाइका लागि लगभग ४० जना आप्रवासी छन्। बस्ने ठाउँ कम्पनीले व्यवस्था गरिदिएको छ। बिजुली, पानीको पैसा तिर्न पर्दैन। खान भने आफ्नै कमाइबाट खानुपर्छ।
'सागपात, फलफूल त छोइसाध्य छैन। हरियो सब्जी किनेर खानै सकिँदैन,' उनले भने, 'यहाँ खान सकिने भनेको भात र माछामासु नै हो। त्यही खान्छौं।'
उनका अनुसार दुई छाक हरियो सब्जी किन्दा २० रियाल खर्च हुन्छ। त्यति नै पैसामा प्याकेट मासु चार छाकभन्दा बढी खान पुग्छ।
उनी दैनिक आठ घन्टा लगातार काम गर्छन्। सातामा शुक्रबार एकदिन बिदा हुन्छ। छ दिनको अथक परिश्रमले यति थाकिसकेका हुन्छन्, शुक्रबारे साप्ताहिक बिदामा उनी प्राय: कोठाबाहिर निस्कँदैनन्।
'यहाँ कहाँ छ र घुम्न जाने ठाउँ! गए त्यही बजारतिर हो,' उनले भने, 'बजार जाने हो भने ६० रियाल भाडा लाग्छ। त्यत्रो पैसा कसरी खर्च गर्नु! बरू कोठामै बसिन्छ। मोबाइल चलाइन्छ। घरमा कुरा गरिन्छ। यसरी नै दिन बितिहाल्छ।'
उनको कोठाबाट काम गर्ने ठाउँ पुग्न पनि आधा घन्टा लाग्छ। उनीहरू क्याम्पकै गाडीमा आउजाउ गर्छन्। साप्ताहिक बिदाको अघिल्लो दिन बिहीबार कामबाट फर्कँदा नै चाहिने सामान जोहो गर्छन्। बिदाको दिन त कहिलेकाहीँ बाँसुरी बजाएरै कटाइदिन्छन्।
'बाँसुरी बजाउन एकदमै मन पर्छ। टाइम पास हुन्छ भनेर पाइपको बाँसुरी बनाएको छु। गाउँमा पनि बजाउँथेँ। बाँसुरी बजाउँदा त कहिलेकाहीँ गाउँमै छु जस्तो पो लाग्छ!' उनले हाँस्दै सुनाए।
दीपक बस्ने कोठामा उनीसहित चार जना छन्। सबै चिनजानकै भएकाले बसाइ सजिलो छ। खानेकुरा पनि मिलेर पकाउँछन्। सँगै हाँसखेल गर्छन्, सँगै सुखदु:ख साट्छन्। उनको चित्तदुखाइ एउटै छ — सोचेजति कमाइ नहुनु।
उनले यहाँ आउनुअघि ओभरटाइम पाए दिनकै १०-१२ घन्टा खट्छु भन्ने सोचेका थिए। तर पाएनन्। यसले कमाइ सोचेजस्तो भएन।
'यत्रो वर्ष भइसक्यो। न आफूले चाहेजस्तो खान लाउन पाइएको छ, न घरपरिवारको अवस्था सुध्रिएको छ,' उनले भने।
दीपकका चार छोरा र एक छोरी छन्। श्रीमती र उनीसमेत सात जनाको परिवार छ। दीपक मुस्किलले महिनाको २० हजार रूपैयाँ घर पठाउँछन्। त्यसले परिवारलाई खटाई खटाई खान पुगे पनि साउदी जाँदा लागेको साहुको ऋण तिर्न सकेका छैनन्।
'एजेन्टले एक लाख ७० हजार रूपैयाँ लाग्छ भनेर म्यानपावर पुर्याएको थियो,' उनले भने, 'ऋणपान गरेर बुझाएको हुँ, अहिलेसम्म तिर्न सकेको छैन।'
त्यसो त अड्कलेको पैसाले घरखर्च सधैं के टर्थ्यो र! कहिले के पर्छ, कहिले के! उनले पठाएको पैसाले सधैं घरखर्च धान्दैन। बेलाबेला ऋणपान र सरसापट गर्नैपर्छ। उनकी श्रीमती पनि घरखेतमा काम गर्छिन्। केही वस्तुभाउ पालेकी छन्। थोरै भए पनि बारी छ। तर रूखो बारीमा उब्जनी के हुनु?
'अहिलेसम्म त यस्तै चल्दैछ। अब छोराछोरीले पढेर कमाउन थाले बुढेसकालमा सजिलो होला कि भन्ने छ,' दु:खैदु:खले घेरिँदा पनि दीपकको आँखामा सन्तोषका रेखा बाँकी छन्।
'पहिले पनि ठूलो परिवार हो। आमाबुबा, तीन दाजुभाइ र चार दिदीबहिनी थियौं। आमाबुबा बितिसक्नुभयो,' उनले अगाडि भने, 'अहिले भाइ र दाइका जहान भारतमा छन्।'
उनको परिवार मजदुरी गर्न पहिल्यैदेखि भारत जान थालेको हो। आफ्ना पुर्खा र आफूसमेत कुल्ली काम गर्न अर्काको देश धाउनुपरेकाले बालबच्चाले त्यो नियति भोग्न नपरोस् भन्ने दीपक चाहन्छन्।
'हामीले जे जति दुःख पाइयो, जे जति दु:ख सहियो, छोराछोरीले त्यही दु:ख भोग्न नपरोस्,' उनले भने, 'पेट पाल्नकै लागि अर्काको देशमा घोटिनु नपरोस्।'
दीपकका छोराछोरी गाउँको सरकारी स्कुलमा पढ्दैछन्। जेठा छोरा कक्षा ११ पुगिसके। छोराछोरीलाई बोर्डिङ स्कुल राख्ने उनको इच्छा थियो। तर खर्च पुर्याउनै सकेनन्। उनको सबभन्दा ठूलो थकथकी यसैमा छ।
'जहाँ पढे पनि उनीहरूको पढाइ नछुटोस्, त्यति भए मलाई अरू केही चाहिन्न,' उनले भने।
'अब कति बस्ने विचार छ साउदीमा?'
हाम्रो यो प्रश्नमा दीपक फेरि एकछिन चुप्प लागे।
लगभग पाँच सेकेन्डपछि जबाफ फर्काए, 'सकेसम्म धेरै बस्दिनँ। आउँदो जेठ वा असारसम्म फर्कने योजनामा छु।'
'त्यसपछि त नेपालमै बस्ने होला नि?'
यो प्रश्नको जबाफ दिन भने उनले एक सेकेन्ड पनि लगाएनन्।
'कहाँ नेपालमै बस्नु!' फ्याट्टै भने, 'यहाँ आउँदाको सयकडा तीन त साहुलाई तिर्नै बाँकी छ। त्यसैले फेरि मलेसियातिर दगुर्नुपर्छ कि भन्ने लाग्दैछ।'
'नगई सुखै छैन,' कुराकानीको आखिरीमा उनले भने, 'नेपाल बेरोजगार युवाहरू जन्माउने देश हो। कामै नपाएर कोही भोकभोकै मर्यो भने पनि कसैलाई केही मतलब हुँदैन।'
***
यो शृंखलाका थप स्टोरी:
(तपाईंहरू पनि वैदेशिक रोजगारमा जानुभएको छ र आफ्नो अनुभव बाँड्न चाहनुहुन्छ भने setopatidebate@gmail.com मा हामीलाई इमेल गर्नुहोस्। हामी मेसेन्जर, भाइबर, ह्वाट्सएप वा तपाईंलाई अनुकूल हुने माध्यमबाट भिडिओ कुराकानी गरेर तपाईंको अन्तर्वार्ता लिनेछौं र यो शृंखलामा प्रकाशन गर्नेछौं। परदेशमा पसिना बगाउँदै देशमा रेमिटेन्स पठाउँदाको तपाईंको अनुभव सुन्नु र अरूलाई सुनाउनु हाम्रो उद्देश्य हो।)