राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले पूर्वकेन्द्रीय सदस्य महेश्वर घिमिरे र गीता रेग्मीलाई जिम्मेवारीमा फर्काउन अस्वीकार गरेको छ।
साउन २३ गते पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा पूर्वकेन्द्रीय सदस्य घिमिरे र रेग्मीसहित गृह मन्त्रालय अन्तर्गतको हज कमिटीबाट बहिर्गमित भएका ईश्रामुल्ला मियाँलाई केन्द्रीय सदस्यको जिम्मेजारी दिने प्रस्ताव थियो।
तर केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल, डा. तोसिमा कार्की लगायतले विरोध जनाएपछि घिमिरे र रेग्मी केन्द्रीय सदस्य मनोनीत हुनबाट रोकिएका थिए।
‘हामी पार्टी निर्माणको चरणमा छौं। सबैले आ–आफ्नो ठाउँबाट पार्टी निर्माणमा योगदान दिइरहेका छन्। मन नलागे पार्टी छाड्ने, वैदेशिक अध्ययनमा जाने, अरू काममा सक्रिय हुने, फेरि मन लाग्यो पार्टीमा फर्कने परिपाटीको अन्त्य हुनुपर्छ, यसको पनि विधि बनाएर जानुपर्छ, विधिको पालना पनि हुनुपर्छ,’ बैठकमा केन्द्रीय सदस्य धिताल लगायतले राखेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो।
रास्वपाका एक नेताले दिएको जानकारी अनुसार घिमिरे र रेग्मी दुवैजना संस्थापक केन्द्रीय सदस्य हुन्। रास्वपा स्थापनाकालमा २१ सदस्यीय केन्द्रीय कमिटी थियो।
घिमिरे पार्टी स्थापनाताक समानुपातिक सूची बनाउने, समानुपातिकबाट सांसद छान्ने कार्यदलका संयोजकसमेत थिए।
२०७९ को प्रतिनिधि सभा निर्वाचन लगत्तै उनी वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया गएका थिए। त्यहाँबाट फर्किएपछि पार्टी काममा सक्रिय हुन चाहेको भन्दै रास्वपाको सम्पर्कका पुगेका थिए। तर केन्द्रीय समिति बैठकले उनलाई जिम्मेवारीमा फर्काउने प्रस्ताव अस्वीकार गर्यो।
गीता रेग्मीलाई भने सुरूआतमै राजीनामा दिन लगाइएको थियो।
‘सुरूमा रास्वपाको केन्द्रीय समिति २१ सदस्यीयभन्दा नबढाउने पार्टीको नीति थियो। केन्द्रीय समितिमा दलित सदस्य नभएकाले सविना विश्वकर्मालाई ल्याउनुपर्ने भयो, त्यसैले उहाँलाई त्यतिबेला राजीनामा दिन लगाइएको थियो,’ संस्थापकमध्येका एक केन्द्रीय सदस्यले भने।
तर रास्वपा २१ सदस्यीय केन्द्रीय समितिको अडानमा भने रही रहेन। सुमना श्रेष्ठ, डा. अरनिको पाँडे र गणेश कार्कीलाई मनोनीत गर्दै २४ सदस्यीय केन्द्रीय समिति पुर्याइएको थियो।