विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन्।
गठबन्धनबाट साझा उमेदवार बनेका नागेशले ३० हजार १ सय ७० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाए।
यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मत पाए। राप्रपाका प्रल्हाद प्रसाद साहले ५२१६ मत पाएका थिए।
उपमेयरमा भने गठबन्धनलाई हराउँदै एमाले निर्वाचित भएको छ। एमालेकी शिल्पा कार्की २५ हजार ६ सय ८० मतसहित उपमेयरमा निर्वाचित भएकी हुन्।
उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत मात्रै पाए। यस्तै राप्रपाकी विन्दा कुमारी लुइटेल आचार्यले ६४०१ मत पाइन्।
यसअघिको स्थानीय निर्वाचन २०७४ मा विराटनगर महाननगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की निर्वाचित भएकी थिइन्।
मेयरमा निर्वाचित कोइराला नेपाली कांग्रेस मोरङ जिल्लाका उपसभापति हुन्, कार्की एमालेकी सक्रिय नेता हुन्। विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार मतदाता रहेकोमा ८९ हजार ६७८ मत खसेको थियो।