२०७४ को निर्वाचनमा बाराको जितपुर-सिमरा उपमहानगरपालिकामा एमाले विजयी भएको थियो।
यसपटक भने उसले त्यो उपमहानगरमा मेयर गुमाएको छ, उपमेयर जितेको छ। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका राजन पौडेलसँग नेकपा एमालेकी सरस्वतीदेवी चौधरी पराजित भएकी छन्।
जितपुर-सिमरा गुमाए पनि एमालेले त्यसको क्षतिपूर्ति कलैया उपमहानगरपालिकाबाट गरेको छ। २०७४ मा झिनो मतले कलैया गुमाएको एमालेले यसपटक एक्लैले सत्ता गठबन्धनलाई हराएको हो। उसले मेयर र उपमेयर दुबैमा जित हात पारेको छ।
गत निर्वाचनमा एमालेले बाराकै कोल्हवी नगरपालिका जितेको थियो। यसपटक त्यो नगरपालिका कांग्रेसले खोसेको छ। त्यसको बदला एमाले निजगढ नगरपालिकाबाट लिएको छ। कांग्रेस-माओवादी गठबन्धनलाई हराउँदै उसले मेयर र उपमेयर दुबै जितेको छ।
गत निर्वाचनमा नजितेको पर्सा ठोरी गाँउपालिकामा एमालेले यसपटक माओवादी केन्द्रलाई हराएको छ। महोत्तरीको रामगोपाल नगरपालिका पनि माओवादीबाट खोसेको छ। विगतमा जितेको सर्लाहीको लालबन्दी, हरिवनलगायत नगरपालिका एमालेले हारेको छ।
२०७४ मा नजितेका ठाउँहरू पनि एमाले जितेको माथिको मतपरिणामले प्रष्ट पार्छ।
देशैभरि २०७४ को भन्दा खराब परिणाम व्यहोरे पनि मधेस प्रदेशमा भने यस पटक एमालेले राम्रो गरेको छ।
शुक्रबार साँझसम्म एमालेले २०७४ को भन्दा धेरै पालिका जितिसकेको छ। मधेस प्रदेशमा अझै पनि मतगणना जारी छ। मधेसमा मतगणना जारी भइरहदा उसले २१ पालिकामा विजय हासिल गरिसकेको छ। २०७४ मा एमालेले मधेसमा १८ पालिका जितेको थियो।
त्यो बेलामा एमाले मधेसमा पाँचौं ठूलो दल बनेको थियो। यसपटक भने एमालेले मधेसमा आफ्नो स्थान सुधार्ने निश्चित भइसकेको छ।
एमालेले मधेस प्रदेशमा जितेका पालिकाहरू
पर्सा
१.सखुवा प्रसौनी गाउँपालिका
२.पोखरिया नगरपालिका
३.पर्सागढी नगरपालिका
४.ठोरी गाउँपालिका
५.छिपहरमाई गाउँपालिका
बारा
६.निजगढ नगरपालिका
७.परवानीपुर गाउँपालिका
८.प्रसौनी गाउँपालिका
९.कलैया उपमहानगरपालिका
रौतहट
१०.मौलापुर नगरपालिका
महोत्तरी
११.रामगोपालपुर नगरपालिका
धनुषा
१२.नरहा गाउँपालिका
१३.विदेह नगरपालिका
१४.औरही गाउँपालिका
१५. कर्जन्हा नगरपालिका
१६.कल्याणपुर नगरपालिका
१७.धनगढीमाई नगरपालिका
१८.विष्णुपुर गाउँपालिका
१९.सिराहा नगरपालिका ,
सप्तरी
२०.अग्नीसाइर कृष्णासवरन गाउँपालिका
२१.राजगढ गाउँपालिका