रूपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमाले विजयी भएको छ।
शुक्रबार सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार नगरप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका फणीन्द्रप्रसाद शर्मा विजयी भएका हुन्।
नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति समेत रहेका शर्माले यसअघिका नगरप्रमुख समेत रहेका नेकपा एमालेका चित्रबहादुर कार्कीलाई हराउँदै विजयी भएका हुन्।
विजयी शर्माले १५ हजार ६८६ मत ल्याएका छन् भने कार्कीले १५ हजार १०४ मत ल्याएका छन्। कार्की र शर्माको मतअन्तर जम्मा ५ सय ८२ मात्र छ।
अहिले पराजित कार्की २०७४ सालको निर्वाचनमा शर्मालाई पराजित गर्दै नगरप्रमुखमा निर्वाचित भएका थिए।
पाँचदलिय सत्तारूढ गठबन्धनले मिलेर नगरपालिकामा उम्मेदवारी दिँदा एमाले भने एक्लै निर्वाचनमा उम्मेदवारी दिएको थियो।
जसअनुसार उपप्रमुखमा एमालेकी विना रानाले गठबन्धनका नारायणबहादुर महतलाई पराजित गरेकी हुन्।
राना यसअघि समेत नगरउपप्रमुख थिइन्। विजयी रानाले १५ हजार ७६२ मत ल्याउँदा महतले १३ हजार ७२० ल्याएका हुन्। राना र महतको मतअन्तर २ हजार ४२ छ।