पोखरा महानगरको मतगणनास्थलमा घुसपैठ गर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जनमत पार्टीको प्रतिनिधिको पास प्रतिलिपी बनाएर घुसपैठ गर्न खोजेका रूपा गाउँपालिकाका डिल्लीराम तिवारी र अर्का एक व्यक्ति पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए।
‘जनमत पार्टीको पासको फोटोकपी देखाएर प्रवेश गर्न खोज्नुभएको थियो, हामीले गेटमै पक्राउ गरेर आफन्तको जिम्मा लगायौं,’ उनले भने, ‘मतगणनास्थलको सुरक्षामा कुनै कसर बाँकी राखेका छैनौं।’
पक्राउ परेका अर्का व्यक्तिमा मानसिक समस्या देखिएको उनले जानकारी दिए। यसअघि पनि मतगणनास्थलमा अनाधिकृत प्रवेश गर्न चाहेका एक व्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएर संझाइबुझाई गरेर छाडेको थियो। जनमत पार्टीको पास प्रतिलिपी लिएर मतगणनास्थल छिर्न खोजेका डिल्लीराम एमाले कार्यकर्ता रहेको जनाएको छ।
पोखरा महानगरको मतगणना जारी रहँदा अनपेक्षित परिणाम आएपछि एमाले नेता कार्यकर्ताले बुधबार नाराबाजी गरेका थिए। उनीहरूले मतगणना स्थगित गर्न माग गर्दै अवरोधको प्रयास गरेका थिए। एमालेले मतगणना प्रभावित पार्न प्रयास गरेको भन्दै सत्ता गठबन्धनले आपत्ती जनाउँदै आएको छ।