सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ले अग्रता कायमै राखेका छन्।
विभिन्न वडाको मतगणनाको पछिल्लो अपडेट अनुसार उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका साम्पाङले ३८ हजार ६५६ मतगणनामा ११ हजार ६८० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईले १० हजार ५५८ मत प्राप्त गरेका छन् ।
राई र साम्पाङ बिचको मतान्तर १ हजार १२२ रहेको छ । प्रमुख पदकै अर्का उम्मेदवार नेकपा एमालेकी मञ्जु भण्डारी (सुबेदी) ले भने ८ हजार ६४८ मत पाएर तेस्रो स्थानमा रहेकी छिन् ।
उपमेयरमा भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाको अग्रता कायमै रहेको छ। उनले हालसम्म १२ हजार १२५ मत प्राप्त गरिसकेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पदम इस्वोले ११ हजार ६२६ मत प्राप्त गर्दै ५०२ मतान्तरले पछि परेका छन्।
धरान मा हालसम्म १३ वटा वडाको मत गणना भइसकेको छ। मतगणना सम्पन्न भएका वडाहरूमा १, ३, ९ र १८ मा वडाध्यक्ष सहित नेपाल कांग्रेसको प्यानलै विजयी भएको छ। वडा नम्बर २, ४, ५, ७, ८, १० १२ र १९ मा एमालेले जित निकालेको छ। वडा नम्बर ६ मा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भुपेन्द्र भट्टराई विजयी भएका छन्।
११, १३ र १४ को मत गणना भइरहेका छ भने, १५, १६ र १७ को मतगणना हुन बाँकी छ।