मकवानपुरको हेटौंडामा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर उम्मेदवार बनेका दीपकबहादुर सिंह मनोनयन दर्ता गर्ने दिनसम्म काठमाडौंमै थिए। उनी हतार-हतार हेटौंडा गए र उम्मेदवारी दर्ता गराए।
पार्टीभित्र र बाहिरको आग्रहपछि उनले उम्मेदवारी दिएका थिए। उम्मेदवारी दर्तासम्म उनका बारे धेरैलाई थाहा थिएन। राजा ज्ञानेन्द्रले २०६१ सालमा उनलाई जिविस सभापति मनोनित गरेका थिए। त्योबाहेक उनले अरू कुनै निर्वाचित पदमा काम गरेका थिएनन्।
मतगणना हुँदा भने उनले सत्ता गठबन्धनकी उम्मेदवार मीना लामा र एमालेका अनन्त पौडेललेलाई टक्कर दिए। कुनै बेला त उनले दुबैलाई उछिने पनि।
अन्तिम चरणमा पुगेको हेटौंडाको मेयरको मतगणनामा सिंहले अहिलेसम्म १९ हजार ३ सय ९३ मत पाएका छन्। एमाले उम्मेदवार पौडेलभन्दा उनी ५२० मतले पछि छन्।
उपमहानगरपालिकामा यसपालि राप्रपाका कुनै पनि उम्मेदवारले सिंहको जति मत पाएका छैनन्। हेटौंडामा सिंहले जित्ने सम्भावना त छैन तर उनले त्यहाँ आफ्नो बलियो उपस्थिति देखाएका छन्।
मकवानपुर कमल थापाको गृह जिल्ला हो। अहिले उनी राप्रपामा छैनन्। राप्रपाले हेटौंडामा मेयर र उपमेयर दुबैमा उम्मेदवारी दिएको थियो।
मेयरमा सिंहले अरू प्रतिष्पर्धीलाई टक्कर दिने मत ल्याउँदा उपमेयर उम्मेदवार इन्दिरा न्यौपाने निकै पछि छन्।
राप्रपाका मेयर र उपमेयरले पाएको मत तुलना गर्दा थाहा हुन्छ सिंहले हेटौंडामा पाएको मत राप्रपाको संगठनको मात्रै होइन।
सिंहले हेटौंडामा कांग्रेस र एमाले दुबै दलका परम्परागत मत आफूतिर तानेका छन्।
सत्ता गठबन्धनको तर्फबाट मेयर उठेकी लामाले भन्दा कांग्रेसबाट उपमेयर उम्मेदवार बनेका राजेश बानियाले झन्डै ८ हजार बढी मत ल्याएका छन्। उनले २९ हजार ३ सय २० मत ल्याएका छन्।
सत्तारूढ गठबन्धनका मेयर र उपमेयर उम्मेदवारको मतान्तरले भन्छ, कांग्रेसको उल्लेख्य मत सिंहलाई गएको छ।
मत गणनामा रहेका नेकपा एकीकृत समाजवादीका एक प्रतिनिधिका अनुसार केही वडामा त ६ छाप रूखमा र मेयरको हलोमा गएको छ।
'कांग्रेसले मत नदिएको भए त कसरी हामी अगाडि हुन्थ्यौं र? तर कांग्रेसका असन्तुष्टहरूको मत हलोमा गएको छ,' ती प्रतिनिधिले भने,'कांग्रेसले उम्मेदवार नबनाएकोमा यहाँका केही कांग्रेसी आक्रोशित भएका थिए। अर्कोतिर बागमती प्रदेशका सभापति इन्द्र बानियाँसँग आक्रोशितहरूको भोट पनि सिहंले पाएका हुन्।'
कांग्रेस मात्रै होइन एमालेका अनन्त पौडेललाई उम्मेदवार बनाएकोमा समेत एमाले कार्यकर्ता आक्रोशित थिए। त्यही आक्रोशको केही भोट सिहंलाई गएको देखिन्छ।
मत गणनामा बसेका कांग्रेसका एक प्रतिनिधिका अनुसार ६ छाप सूर्यमा र एक मत हलोमा दिएको पनि आफूले प्रशस्त भेटेको दाबी गरे।
'दीपक सिंह आफैं त्यत्रो भोट ल्याउन सक्ने प्रभाव भएका व्यक्ति होइनन्। तर सबैको आक्रोशको भोट उनले पाए,' उनले भने,'एमाले र कांग्रेसका असन्तुष्टहरूको भोट सिंहलाई गयो। जसले गर्दा उनको मत यति धेरै आएको हो।'
मकवानपुरमा राप्रपाको संगठन पनि नभएको चाहिँ होइन। २०७४ को चुनावमा राप्रपा उम्मेदवार मधुकरप्रसाद अधिकारीले ६८५७ मत पाएका थिए। सिंहलाई राप्रपाको भोट पनि राम्रै आएको देखिन्छ। कमल थापाको गृह जिल्ला भए पनि उनको पार्टी राप्रपा नेपालले उम्मेदवारी नदिएकाले राप्रपाको भोट बाँडिन पाएन। त्यसले पनि सिंहको मत बढाउन सघायो।
यो पनि पढ्नुस्: