नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा फेरि मतदान गर्न माग गरेको छ। मतदान सकिएको एक सातापछि कांग्रेसले पुन: मतदानको माग गर्दै आज विज्ञप्ति निकालेको हो।
वैशाख ३० मा भएको स्थानीय चुनावको मतदानका बेला नेकपा एमालेका कार्यकर्ताले कांग्रेसका उम्मेदवार तथा प्रतिनिधिलाई आक्रमण गरी घाइते बनाएको र बुथ कब्जा गरेको भन्दै कांग्रेसले पुन: मतदानको व्यवस्था मिलाउन माग गरेको छ।
‘सो नगरपालिकामा भएको बाहुबलको प्रयोग र बुथ कब्जा जस्तो अलोकतान्त्रिक कार्यको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ। निर्वाचनमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधि र मतदातालाई सुरक्षित राख्नका लागि निषेधाज्ञा (कफ्र्यू) जारी गर्नु परेको घटनाले स्थिति निकै भयावह भएको स्पष्ट छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राजीनामा दिएका मतदान अधिकृतलाई 'घेराबन्दीमा पारेर कब्जा गरिएका मतदान केन्द्रका मतपेटिकाहरु बुझ्न बाध्य पारिएकोले नगरपालिकामा भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष निर्वाचन हुन नसकेको स्पष्ट हुन आउछ' कांग्रेसले भनेको छ।
कांग्रेसले यहाँ पुन मतदानको व्यवस्था मिलाउन माग गरेको हो।
‘निर्वाचनको निश्पक्षता, स्वतन्त्रता र पारदर्शीतामा गम्भीर चुनौती दिने यस किसिमको जघन्य घट्नामा संलग्न उपर कानून बमोजिम कडा कारबाहीको माग गर्दै कांग्रेस त्यसरी कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोगसमक्ष अनुरोध गर्दछ,’ कांग्रेसले भनेको छ।