गाउँबाट उच्च शिक्षा र राम्रो करियर रोज्न सहर छिरेकी एक जना दिदीले 'सहरिया' भिनाजुलाई आफ्नो बनाउने निर्णय गरिन्।
कलेज पढ्दापढ्दै भएको चिनजानलाई राजीखुसीमा दुवै जनाले बिहेमा परिणत गरे।
'भौगोलिक रूपमा गाउँ-सहर भए पनि जातपात सबै कुरा मिल्ने भएका कारण पारिवारिक रूपमा कुनै पनि समस्या भएन', कुरैकुरामा दिदीले सुनाएकी थिइन्। सहरिया शिक्षित परिवारमा बुहारी बनेर भित्रिएकी दिदी निकै खुसी थिइन्। साथीको दिदी भएकोले आफ्नै दिदीजस्तै व्यवहार हुन्थ्यो।
भिनाजु गैरसरकारी संस्थामा जागिरे। दिदीलाई भने सरकारी जागिर खाने हुटहुटी थियो। जसरी पनि सरकारी जागिर खाएर बाउआमाको इज्जत राख्ने दिदीको चाहना थियो। यो चाहनामा भिनाजु पनि साथ थिए।
बिहान दुवै जनाले घरको काम गर्थे, दिदीका हरेक काममा भिनाजुले सघाउँथे।
घरको काम जुन घोषित रूपमै महिलाको कोटामा पारिएको हुन्छन्, त्यस्ता अधिकांश काममा भिनाजुले सघाउँथे।
बुवाआमा दिदी भिनाजुसहित चार जनाको खुसी परिवार थियो। नन्दको बिहे भइसकेको थियो। घरका कुनै पनि कामलाई महिला पुरूषको भनेर कामको वर्गीकरण गरिएको थिएन।
भिनाजुका बुवाले पनि आमालाई घरको काममा निकै सघाउँथे, सायद त्यसकै प्रभावले पनि हुन सक्छ भिनाजुले काममा विभेद गरेनन्।
बिहान घरको काम दुवै जना मिलेर गर्थे, भिनाजु खाना खाएर अफिस जान्थे, दिदी लोक सेवा आयोगको तयारी कक्षा लिन जान्थिन्।
घरमा आएपछि पढाइ हुँदैन भनेर साथीभाइसँग ग्रुपमा छलफल गर्ने, थप अभ्यास गर्दा भिनाजु अफिसबाट फर्कने बेला हुन्थ्यो। बिहान नौ बजे सँगै घरबाट निस्केका दिदी भिनाजु साँझ ६ बजेतिर सँगै घर फर्कन्थे।
लोक सेवामा नाम ननिकालेसम्म बच्चा समेत नजन्माउने अठोटमा थिइन् दिदी।
एक महिना जति भएको थियो दिदी कक्षा लिन जान थालेको, एकदिन भिनाजुको बाइक स्टार्ट हुन मानेन, दुवै जना घरको गेटबाहिर उभिइरहे,भिनाजु अफिसको लागि ढिलो हुने भयो भन्दै चिन्तित देखिन थाले।
यसै मेसोमा पल्लो घरकी छिमेकी महिलाले दिदीकी सासूलाई फ्याट सोधिछन्, 'तपाईंकी बुहारी पनि जागिरे हो र दिज्जु?'
सासूले जवाफ दिइछन्, 'जागिर छैन, अब जागिर खान पढ्न जान लागेकी रे...'
सायद दिदीकी सासूलाई पनि छोराबुहारी घरबाट निस्किसके भन्ने लागे होला, खुलेरै कुराकानी गरिछन्।
फेरि तिनै महिलाले सोधिछन्, 'कस्तो जमाना आयो है दिज्यू...जागिर नखाँदै जागिरेभन्दा चर्को हुन थाल्यो, जागिर खाएसी के हाल होला!'
दिदीकी सासूले होस्टेमा हैंसे मिलाएजसरी बोलिछन्, 'हाम्रा पालामा जस्तो कहाँ छ र? अहिलेका बुहारी पढे-लेखेका छन्, घरमा भात पकाएर कहाँ बस्छन् र? लोग्नेको पछाडि लाग्यो हिँड्यो, केही बोल्न भएन। आफैंले मन पराएर जोडी बाँधेका छन्, हाम्ले खोज्देको होइन।'
छिमेकी महिला फेरि बोलिछन्, 'जागिर सागिर नभएपछि त घरमै बस्नु नि!, के लोग्नेको पछि लागेर जाने, बेलुकासँगै आउने गर्नु नि! बच्चाको स्कुल हो र? बिहान पढ्न जाने साँझ फर्कने गर्नलाई! पढ्नेले घरमै बसेर नि पढ्छन्।'
दिदीकी सासू के भन्दै थिइन् ढ्याक्क बाइक स्टार्टको आवाज आयो। दुवै जनाको कुरा रोकियो। छतबाट तल गेटतिर नियाले छोराबुहारी अहिलेसम्म बाहिर ननिस्कएको थाहा पाएर सायद अचम्म पनि लाग्यो होला।
दिदीले मात्रै होइन उहाँहरूको कुरा भिनाजुले पनि सुनिरहेका थिए।
बाटोमा सम्झाइबुझाइ गरे रे भिनाजुले। दुनियाँले जेसुकै भने पनि श्रीमानको साथ पाएपछि दिदी लोक सेवा परीक्षामै मात्र केन्द्रित भइन्। लोक सेवा आयोगको परीक्षा दिन थालेको दोस्रो प्रयासमा दिदीको सपना पूरा भयो। दिदी शाखा अधिकृत बन्न सफल भइन्। दिदीको सफलतामा दिदीभन्दा बढी भिनाजु खुसी थिए।
परिवारमा पनि बुहारी सरकारी अधिकृत भएकोमा खुसीको सीमाना थिएन, ससुरा बाले छिमेकीलाई लड्डु समेत खुवाएका थिए।
दुवै जना अफिस सँगै जाने आउने गर्न थाले। घरपरिवार राम्रोसँग चलेको थियो।
समय बित्दै गयो, दिदी आमा बन्ने भइन्। अरूबेला त सबै काममा सघाउने भिनाजु यस्तो बेलामा झन् सजग बनेर सघाउन थाले।
मुख फोरेर भन्न नसके पनि आमाले बेलाबेलामा छोरालाई कटाक्ष गर्थिन्, 'बिहे गरेर भित्राएदेखि अहिले बाउ बन्न लाग्दासम्म यस्तो छ अझ बाउ बनेपछि कस्तो होला है '?
भिनाजु केही बोल्दैनथे, भिनाजुले श्रीमतीलाई मात्रै होइन आमालाई, बहिनीलाई पनि उत्तिकै सघाउथे।
दिदी छोरीकी आमा बनिन्, सुत्केरी दिदीलाई भेट्न गयौं। भिनाजुले निकै ख्याल गरेको देख्दा लाग्थ्यो अहिलेको जमानामा पुरूषले यतिसम्म श्रीमतीको ख्याल पनि गर्दा रहेछन्। निकै थोरै सहयोगी श्रीमानमा यी भिनाजु पर्छन् जस्तो लाग्थ्यो।
घर चलाउन आर्थिक सहयोग त सबै श्रीमानले गर्छन् तर गृहस्थीका सामान्यदेखि सामान्य कुराहरू समेत महिलाले भन्दा भाँती पुर्याएर यी भिनाजुले पूरा गर्थे।
दिदीकी एउटी नन्द थिइन्। उनी पनि आमा बन्ने भएकी थिइन्। ज्वाइँ काठमाडौं बाहिर गएका कारण छोरीको साथी बस्न आमा एक साताको लागि छोरीकोमा गइछन्। आमा गएको पर्सिपल्ट ज्वाइँ फर्किए रे। ज्वाइँ फर्केपछि आमा पनि घर फर्किइछन्।
सुत्केरी दिदी छोरी सुताएर ओछ्यानमा पल्टिएकी थिइन् निदाएकी भने थिइनन्। सायद सासूआमालाई बुहारी निदाइ भन्ने लाग्यो होला, आफ्नी बहिनीसँग फोनमा दिल खोलेर गफ गर्न लागिन्।
उनीहरूबीचको कुरा दिदीले सुनिछन्।
सासूआमाले भन्दै थिइन्, 'हिजो छोरीलाई भेटेर आ'को कान्छी। मेरी छोरी त साह्रै भाग्यमानी छ, अहिले मात्रै होइन हेर बिहे गरेको दिनदेखि नै ज्वाइँले रानी बनाएर राखेका छन्। ढलेको सिन्कोधरी उठाउन दिन्नन् छोरीलाई। अस्ति म गएको थिएँ, सबै काम आफैंले गरे ज्वाइँले। मेरी छोरी त माइतमा भन्दा नि फुर्केर पो बसेकी छ। बिहान उठ्न पाको छैन बिस्तारामा चिया पुर्याउँछन् ज्वाइँले, कति जानेका हुन कान्छी।'
एकैछिन उताबाट सासूकी बहिनीले के सोधिन कुन्नी, फेरि सासू बोल्न थालिन्, 'छोराको त के कुरा गर्छेस् कान्छी? ताल पर्यो भने बुढीको लुगा धुन नि बेर लाउन्न। लोग्ने मान्छे भएर स्वास्नीले जे भन्यो त्यही मान्न हुन्छ र? अलिअलि मात्रै कहाँ हो र? बुहारी छोरो, छोरो चाहिँ बुहारी जस्तो त मेरोमा त। बुहारीलाई केही गर्न दिँदैन। तेरो छोरालाई बेलैमा सिकाएस् है, भोलि बुहारी ल्याएर ठूलीआमाको छोराजस्तो हुने होइन भनेर। लोग्नेमान्छे भएर स्वास्नीको इशारामा चल्ने होइन भनेर। देखेकी छस् नि हाम्रो घरको ताल।'
'हेर कान्छी ! मेरा ज्वाइँ त देउतै परेछन्, छोरीले सुखसयल काटेकी छ तर छोरै जोइटिंग्रे हुने भयो यही पीर छ। कोही आफन्त आउँछन् बुहारीलाई पत्तो हुन्न उही अघि सर्छ काम गर्न'।
दिदीले आफ्नै कानले यी कुरा सुनिन्, तर केही भनिनन्, भनेर केही अर्थ पनि थिएन। छोरी उठेर च्याँच्याँ गर्न थाली, हत्तपत्त सासूले फोन काटिन्।
कुरैकुरामा दिदीले सुनाउँथिन्, 'सहरमा यस्तो हालत छ अहिलेको जमानामा। ससुराबाले बुहारीले नाम निकाल्दा लड्डु बाँड्छन्, सासू छिमेकी महिलासँग बेतुकका कुरा काटेर बस्छिन्। तिमी आफैं भनन बहिनी, दुवै दाजु बहिनी यिनै आमाका सन्तान हुन्। छोरीलाई ज्वाइँले सघाउँदा ज्वाइँ राजा/देउता भए, उनै आमाको छोराले म बुहारीलाई सघाउँदा छोरो कसरी जोइटिंग्रे भयो?'
दिदीको भोगाइ र भनाइ सुनेर एउटा सत्य कुरा भन्न मन लाग्यो, हर कोही मानिस परिवर्तन चाहन्छ त्यो आफूमा होइन, अरूमा मात्रै।
यो भोगाइ आम भोगाइ होइन र? दुवै जना कामकाजी भएपछि घरको काममा हिस्सा बाँडफाँट गर्दा कोही किन 'जोइटिंग्रे' हुन्छ?
फेरि त्यही काम ज्वाइँले गर्दा देउता रे छोराले गर्दा 'जोइटिंग्रे' भन्ने पनि कहीँ हुन्छ र?
काम गरेर सानो भइँदैन, सहकार्य गरेर, सहयोग गरेर कोही कसैको कद पक्कै पनि घट्दैन। यो काम छोराले गर्नुहुँदैन, यो काम बुहारीले मात्रै गर्नुपर्छ भन्ने कुनै शास्त्रमा लिपिबद्ध त पक्कै छैन होला अनि किन यतिविधि आपत्ति जनाइन्छ? यी आमाको बोली मात्रै हो, यस्ता हजारौं बोलीहरू हरक्षण भोगिन्छ, सुनिन्छ, देखिन्छ र अनुभूति गरिन्छ।
जबसम्म यो सोचमा परिवर्तन ल्याउन सक्दैनौं, तबसम्म ठूला कुरा गरेरमात्रै समानता भित्रन सक्दैन। सहरमा यो दीगो रोग यति धेरै व्याप्त छ भने गाउँघरको दूरदराजका आम महिलाको अवस्था के होला?
कतिपटक देखिएको छ, भोगिएको छ, श्रीमान- श्रीमतीका लुगा एकै ठाउँमा सुकाएको छ भने श्रीमानले आफ्नै पत्नीका लुगा समेत उठाउन हुँदैन भनेर। अरू कुरा त कल्पना बाहिरका भइहाले।
अन्त्यमा सोच र व्यवहार बदलौं। कोही देउता र जोइटिंग्रे हुँदैन। दुवै एक रथका दरिला पांग्रा हुन सक्छन्। अब उपरान्त बुहारीका काममा सघाउने कसैको छोरा जोइटिंग्रे नबनून्। छोरीलाई सघाउने ज्वाइँ राजा/देउता नबनून्।
(यो लेख सेतोपाटीमा पहिलोपटक २०७७ माघ २४ मा प्रकाशित थियो)