सेमेस्टर ब्रेकमा घर गएको थिएँ। परीक्षा सकिएर घर जानुमा जुन आनन्द छ सायदै अरू कुराले त्यो आनन्दलाई जित्न सक्छ जस्तो मलाई लाग्दैन। बिहान ५ बजेको गाडी चढेर म घर निस्केँ। बाटोमा सिन्धुलीको घुम्ती हुँदै उदयपुर, सुनसरीको इटहरी बजारबाट अगाडि लागेपछि आफ्नो ठाउँ आयो झैँ लाग्न सुरु भयो।
ठ्याक्क मोरङको उर्लाबारी बस स्टपमा गाडी रोकियो। मैले घरमा कसैलाई भनेको थिइनँ म आउँदै छु भनेर। बस स्टपमा मलाई सधैँ ‘बा’ लिन आउनु हुन्थ्यो, त्यो दिन म आफैँ सफारी चढेर घरतर्फ लागेँ। १५ मिनेटपछि घर पुगेँ। यसो हेरेको घरमा कोही देखिनँ। बर्खाको सिजन थियो, अलिकति तलतिर हेर्दा सबै जना खेतमा काम गर्दै हुनुहुँदो रहेछ।
मलाई देखेर आश्चर्य मान्नु हुन्छ कि भनेको उल्टै गाली गर्नु भयो, ‘कमसेकम भनेर हिँड्ने गर्नु पर्छ, किन नभनी आइस्?’
यो प्रश्न गर्ने हजुरआमा हुनुन्थ्यो। बा'ले केही भन्नु भएन, मुसुमुसु हाँस्दै आफ्नो काम गर्न थाल्नु भयो। आमाले पनि खासै वास्ता गर्नु भएन। हजुरआमालाई मैले हेर्दै भनेँ, ‘ह्या हजुरआमा, झन् सर्प्राइज दिन भनेर केही नभनी आएको तपाईं कराउनु मात्र हुन्छ।’
हजुरआमा उता फर्केर, ‘खै के के जानेका छौ तिमीहरूले’ भन्दै आफ्नो काममै ध्यान दिन थाल्नु भयो।
म घर आएर कपडा चेन्ज गर्न थालेँ। सानी बहिनी सुतेकी रहिछे। म आएको थाहा पाएर हो कि म लुगा फेरेर बाहिर जान लाग्दै गर्दा सिधै पछाडिबाट आएर अङ्गालो हाल्दै, ‘हाउ आल् यु दादा’ भनी। बहिनी सानै थिई, बोलीमा स्पष्टता थिएन। उसले भन्न खोजेको ‘हाउ आर यु दादा?’ थियो।
मलाई त्यो कुरामा कुनै खुसी मिलेन बरु मलाई आफू सानो हुँदा बेलाको समय याद आयो जुन बेला हामी घरमा कोही ठुलो मान्छे आउँदा नमस्कारबाट आफ्नो कुरा गर्थ्यौँ। समय न होला सबै कुरा उल्टो हुँदै छ कि जस्तो लाग्यो। बहिनिलाई चकलेट दिएर म आफ्नो कोठामा गएँ।
सबै जना काम सकेर आउनु भयो। म पनि थाकेको थिएँ। आमाले भान्सामा केही मिठो तरकारी बनाउँदै हुनुहुन्छ जस्तो लाग्यो। म त्यतै आमासँग जिस्किन र गफ गर्न भनेर लागेँ, ‘मिठो के बनाउन लाग्नु भयो आमा?’
‘बल्लबल्ल आएको छस् तँलाई मन पर्ने तरकारी नै छ, अहिले हतार नगर्, गएर आराम गर्, खाना बनाएपछि म बोलाउँछु’ भन्नू भयो।
मैले जिस्किँदै ‘त्यो त हुन्छ कि आमा, अब तपाईँलाई खाना बनाउन गाह्रो भए जस्तो लाग्यो एउटी बुहारी पो ल्याउन पर्छ कि’ भनेँ।
‘हेर त यो केटो आउन नपाइ जिस्केको’ भनेर कुचो लिएर मलाई खेदाउनु भयो। म त्यहाँबाट भागेर बाहिर आएँ।
एकैछिनमा खाना पाक्यो। आमाले बोलाउनु भयो, सबै जना सँगै बसेर खान पाउनुको मज्जा सायदै अरू कुराले दिन सक्दैन। खाना खाएर म बाहिर कुर्सीमा बसेँ। गर्मी भएकाले बाहिरी हावामा बस्नुको छुट्टै स्वाद हुन्थ्यो।
म त्यहाँ जानु अगाडि नै बा गएर बसिसक्नु भएको रहेछ। बा आफ्नै सुरमा ‘काफल गेडी कुटुक्कै’ गीत सुन्दै बसिरहनु भएको थियो, मैले छेउमा कुर्सी लगिसकेपछि उहाँले गीत बन्द गरेर कुरा अगाडि बढाउनु भयो, ‘धुलिखेलमा कत्तिको गर्मी छ त केटा?’
मैले भनेँ, ‘छैन त्यस्तो त तर घाम चर्किँदा चाहिँ गर्मी नै हुन्थ्यो। यहाँको भन्दा चाहिँ अलिक कम।’
अनि अरू के हुँदै छ कस्तो हुँदै छ पढाइ भनेर सोध्नु भयो। परीक्षा सकेर गएको भएर यो प्रश्न आउँथ्यो भन्ने मलाई थाहा थियो, ‘अँ राम्रो हुँदै छ राम्रो जिपिए आउँदै छ’ भनेँ।
‘खै अहिले त के-के हो जिपिए र सिपिए!’ बा’ले यसरी भन्नु भयो कि मलाई मनमनै हाँसो लाग्यो तर हाँसिनँ। बा'ले कुरा कोट्याउनु भयो, ‘अहिले जिपिए ल्याएर के गर्नु, पछि वास्तविक जीवनमा फेल नै हुने होला।’
म झसङ्ग भएँ। अचानक यस्तो कुरा कहाँबाट निस्कियो? मैले प्रश्न गरेँ, ‘किन र बा?’
बा'ले मतिर कुर्सी फर्काएर बोल्नु भयो, ‘तँलाई याद छ, कुनै दिन घाँस काटेर मात्र तँ विद्यालय जान्थिस्। तेरो कुरा गर्ने शैली नेपाली थियो। तँलाई अङ्ग्रेजी पटक्कै नआउने आज जब तैँले अङ्ग्रेजी मिसाएर मसँग बोलिस् नि, त्यहाँबाट मलाई लाग्यो तेरो जिपिएले तँलाई फेल गराइसक्यो।’
मैले बल्ल याद गरेँ, मैले बा'सँग बोल्दा ‘लाइक यस्तो हो’ र ‘लाइक त्यस्तो हो’ भन्न भ्याइसकेको रहेछु। मलाई आफैँ माथि रिस उठेर आयो।
बा'ले थप्दै जानुभयो, ‘किताब पढेर त जसले पनि नम्बर ल्याउँछ हेर्, अब तैँले त जिन्दगी पढ्ने बेला भयो। यसरी नम्बरको पछि लागेर हिँडिस् भने एक दिन तैँले हामीलाई नै बिर्सिन्छस् कि भन्ने डर भइसक्यो।’
बा'को कुरा सुनेर म तिरिमिरी भएँ। कहिल्यै पनि यस्तो कुरा नगर्ने बा'ले अचानक यस्तो कुरा किन गर्दै हुनहुन्छ?
उहाँले भन्नुभयो, ‘जिन्दगी साधारण नै ठिक हुन्छ केटा। मलाई त घरीघरी डर लाग्छ, तैँले यति मिहिनेतले पढेर भलै धेरै नम्बर ल्याउलास् तर त्यो नम्बरको घमन्डले एक दिन हामी टाढा हुने हो कि!’
‘नम्बर कहिल्यै ठुलो हुनु हुँदैन सम्बन्ध र आफ्नोपन सधैँ ठुलो हुनु पर्छ मान्छेले अहिले धेरै पढेर के गर्नु जब कि उनीहरूले परिवारको परिभाषा नबुझ्ने भएपछि सम्बन्ध नबुझ्ने भएपछि?’ उहाँ थप बोल्दै हुनुन्थ्यो, ‘मैले त तँलाई जिन्दगी र परिवार अनि सम्बन्ध बुझ्लास् भनेर त्यहाँ पढ्न पठाएको। तैँले कालो अक्षर मात्र पढेर आइछस्।’
बा'ले मलाई साँच्चै नै सोच्न बाध्य बनाउनु भयो, मैले के पढेँ? मेरो जिपिए नै सबै थोक हो त? मलाई पढाइले यति व्यस्त गरेको रहेछ कि मैले कतिपय आफन्तलाई फोन गर्न समेत समय दिन सकिनँ, कति साथीहरू कहाँ छुटेर गए अत्तोपत्तो नै भएन। मैले पढेर वास्तवमा के सिक्ने र कहिलेसम्म पढ्ने? जबसम्म घर बिर्सिन्नँ तबसम्म कि? यस्ता यावत् प्रश्न उब्जिए
हामीलाई पढाउने विषयमा किन सम्बन्धहरू बिग्रेर जान्छ भनेर पढाइँदैन?
यतिकै सोचमग्न भएर म बसिरहेको थिएँ ‘थाकेर आएको होलास् आराम गर्’ भन्दै बा उठेर आफ्नो कोठातर्फ लाग्नु भयो।
म एकोहोरो भएर टोलाइरहेँ- के हो त पढाइ? अहँ! मैले बुझिनँ। मलाई पढाइएन त्यस्तो विषय जुन विषयले म आफूलाई चिन्न सिकाओस्।
म आफैँलाई पनि अप्ठ्यारो लाग्ने विषय बनेको थियो त्यो, म आफू जुन ठाउँबाट यहाँ पढ्न भनेर आएँ त्यो ठाउँले मेरो मौलिकता खोस्दै रहेछ, मलाई यहाँको समाजमा मिसिनकै लागि जबरजस्ती अङ्ग्रेजी शब्द प्रयोग गर्न बाध्य बनाउँदै रहेछु जुन एकदमै गलत हुँदै थियो।
म एक नेपाली हो र मैले नेपालको भाषालाई जोगाउनु पर्छ भन्ने नै बिर्सिएको रहेछु। सम्बन्ध र नाताको कुरा खै मैले बुझेको? सायद मैले यी विषयमा जिपिए ल्याउन सकेको भए चाहिँ मैले पढेको हुन्थ्यो होला।
रातभरि किताब घोकेर त्यही जस्ताको त्यस्तै कपीमा उतारेर ल्याएको नम्बरले क्षणिक खुसी दिएता पनि पछि भने यसको नकारात्मक असर पक्कै देखिन्छ। त्यो दिन बल्ल बुझे मैले त कपिमा लेखेर धेरै जिपिए ल्याए होला तर मेरा 'बा' ले त जिन्दगी बुझेर धेरै जिपिए ल्याएका रहेछन्।