केही दिन अघिको कुरा हो, एक जना आमाले ज्योतिषसम्बन्धी कार्यक्रममा फोन लगाइन्। युवा ज्योतिषीले कहाँबाट को बोल्नु भएको हो ? भनेर सोधे।
आमाले आफ्नो नाम भन्न मानिनन्, बाबु म मेरो नाम भन्न चाहदिनँ, जहाँबाट बोलेको भए पनि म एकजना अभागी आमा हुँ बाबु।'
यता स्टुडियोबाट ज्योतिषी बोले, 'आमा तपाईं आफूले आफूलाई कसरी अभागी सावित गर्न सक्नुहुन्छ ? तपाईं कसरी अभागी बन्नु भयो ? भन्नुस् तपाई कसको बारेमा के भन्न चाहनुहुन्छ ? तपाईंको जिज्ञासा के हो ?'
यति कुरा सुनेपछि ती आमा रून थालिन्। ज्योतिषीले सम्झाए- आमा तपाईं नरुनुस्, तपाईंको आवाज लाखौं दर्शकले सुनिरहनुभएको छ, तपाईं किन यसरी रुनुहुन्छ ? रोएर समस्या समाधान हुँदैन। तपाईंको समस्या त पहिले बताउनुस्, सम्भव हुने सम्मका समाधानका उपाय बताउने छौं।'
आमाले गला अवरूद्ध पारिरहेकै अवस्थामा बोलिन्, 'बाबु मेरा दुई भाइ छोरा छन्, एउटा विदेशमा लापता छ। घरमा भएको छोराको केही भर भएन। सबैले छोरो बिगारिस् भन्न थाले। आफ्नै बुढाले पनि तेरा कारण छोरो बिग्रियो भन्ने मलाई नै गाली गर्ने, मनपरी भन्न थाले। छोरो तह लगाउन केसम्म गरिन र मैले ?
जे गर्दा पनि मेरो छोरो ठेगान लाउन सकिनँ बाबु। अहिले सत्ताइस वर्षको भयो, कताकता जागिर खान्छु पनि भन्थ्यो, जागिर गरेर आएको भन्थ्यो घरमा तर एक पैसा कुनै दिनमा दिएन। चाडवाडमा छोराको कमाइ खाने आश कस्लाइ हुन्न र ? मैले नि छोरालाई तेरो कमाइ खै त भन्थे तर ऊ झम्टिन खोज्थ्यो अरु केही उपाय लागेन। मेरो छोरा समाजमा बरालिने, बेकामे हुन थाल्यो।
सबैले यसको बेलैमा बिहे गर्देसी तह लाग्छ भने। होला त नि केही सुधार भइहाल्छ कि भनेर उसको चौबीस वर्षको उमेरमा बिहे पनि गरिदियौं। बिहे गरेसी केही सुधार हुन्छ कि ? श्रीमतीले तह लाउछे कि ? सधैं बरालिएर कहाँ हिँड्ला र ? तह लाउने श्रीमती आई भने त जसरी नि ठाउँमा आइहाल्छ नि भनेर बिहे गरिदिएको, बिहे गरेपछि त झन् लोग्ने स्वास्नी नै मिलेर मैमाथि अत्याचार गर्न थाले।
मेरी आमा यस्ती र उस्ती छन् भन्दै छोराले बुहारीको कान भर्ने, आफ्नै छोरो आफ्नो नभएपछि अर्काकी छोरीले झन् के राम्रो गर्थी र ? मेरो छोराको भाग्य हेर्दिन परो बाबु।
आमाको कुराले ती ज्योतिषी नै एकैछिन त ट्वाँ परे।
के भन्ने के नभन्ने दोधारमा परे। आफ्नो तुरुन्तै अर्को काम परेका कारण ज्योतिषीको जवाफ पूरा सुन्न पाइनँ तर ती ज्योतिषीले सुरूमै समस्याको समाधान हुन्छ, समस्यासँग रोएर होइन समाधानका उपाय निकालेर सल्टाउनुपर्छ भनिरहेका थिए सायद ती आमाको चित्त बुझाउने काम गरे होलान्।
ती आमाले आफ्नो नाम नभने पनि टेलिभिजन हेर्ने उनलाई चिनेजानेकाहरूले छोराको नाम, जन्ममिति सबै खुलाएपछि पक्कै पनि चिने होलान्, बुझे होलान् पनि। कुरा के हो भने हामी पारिवारिक रूपमा कतिसम्म विचलित भइरहेका छौं।
एउटी आमाले दशधारा दूध खुवाएर, अनेकन कष्ट सहेर हुर्काएको छोराबाट त्रास भोग्नुपर्ने, कमाइ खाने बेलामा हप्की खानुपर्ने बाध्यता, बिहे गरेर सुध्रिन्छ कि भन्दा उल्टै छोरा बुहारी नै लागेर ठूलो डाको बनाउने अवस्था, बाउले केही सुधार गर्छन् कि भन्दा आमाका कारण छोरा बिग्रेको हो भनेर उल्टै यातना दिने, तनाव दिने अवस्थाका पछाडि कारण लुकेका हुन्छन्।
यो कस्तो मनोदशा हो ? यदि त्यो छोराले आफ्नो बारेमा आमाले भनेका कुरा सुनेको होला कि नहोला ? कतै उसले सबै कुरा किन टेलिभिजनमा सुनाएको भनेर ती आमालाई फेरि झन् तवाव पो दियो कि ? यस्ता धेरै कुरा मनमा खेले।
यो एउटा प्रतिनिधी घटना हो, यस्ता हजारौं, लाखौं घटना हरेक दिन घट्छन् त्यो पनि तपाईं हाम्रै घर परिवार, छरछिमेकका आफ्नै वा आफ्नाहरूको बीचमा नै।
आखिर किन यस्तो हुन्छ ? यस्ता घटनाहरू किन बढिरहेका छन् ? यस बारेमा अलग्गै बहस पैरवी होला तर सामान्य कुरा के हो भने परिवार विचलनको पछाडिका कारक पनि तपाईं हामी स्वयम् हौं र त्यसको समाधान गर्ने पात्र पनि हामी स्वयम नै हौं।
हामी आफ्ना सन्तानलाई संस्कार सिकाउँदैनौं। उनीहरूमाथि अनावश्यक बोझ थपिदिन्छौं। काम गर्दागर्दै सामान्य गल्ती गर्ने छोरीमाथि खनिन थाल्छौं,
'यस्तो काम गराइले कसरी घर गरेर खान्छेस् हँ ? हाम्रा पालाकाजस्ता सासू परे भने त लोहोराले हात थिचिदिन्थे।'
अलि बाठी भएर छोरी बोल्न थाली भने आमाहरूको जवाफ आइहाल्छ, 'यस्तै मुख चलाइस् अर्काको घरमा गएर भने त चोथाले भन्छन्, अरूको अगाडि यसैगरी मुख छुराजस्तो बनाइस् भने नि दुई दिन पनि घर गरेर खान सक्दिनस् बाबै।'
दाजुभाइसँग सवाल जवाफ गर्न थाल्ने छोरीमाथि प्रश्न खनिन थाल्छ,'अर्काको घरमा गएर पनि यसै गर्छेस्? देवर, जेठाजुसँग यसैगरी ठूलो स्वर निकालिस् भने घरबाट निकालिदिन्छन्। कहिलेकाहीँ तरकारीमा नून चर्को भयो, वा भातमा पानी बढी भयो भने नि छोरीले हप्की सहिहाल्नुपर्छ, लोग्नेको घरमा गएर पनि यस्तै पकाएर सबैलाई खुवाउछेस् ? खाना पकाउने ढंग त छैन के घर गरेर खाली खै ?'
घरका कोही पाहुना आउँदा उपरखुट्टी लाएर बसेको देख्न हुन्न, 'ओई.... के गरेर बसेको ? अलिकति सोमत छैन ? छोरीमान्छे त्यसैगरी बस्छन् ?'
सँगैको भाइ त्यसैगरी बस्न हुन्छ तर दिदी बस्न हुँदैन ।
यो त काम, व्यवहारको कुरा भयो ।
यदि छोरी पढाइमा कमजोर छ भने उसको एउटै विकल्प हुन्छ बिहे।
ल छोरी राम्रोसँग पढ्, पास भइनस् भने त अर्को साल बिहे हुन्छ तेरो। बाउआमाले पहिलेदेखि नै धुमपान स्वास्थ्यको लागि हानिकारक छ भनेझैं चेतावनी दिइरहेका हुन्छन्।
पढाइमा फेल हुनु छोरीको लागि हानिकारक छ, पास भइस् भने माथिल्लो कक्षामा पुगिस्, फेल भइस् भने अर्काको घरखाने पक्का!
हामी यही संस्कारमा आफ्ना छोरी हुर्काउँछौं। छोरीलाई कसरी आफन्तसँग व्यवहार गर्ने, सम्बन्ध राम्रो कसरी बनाउने, कसरी परिवारलाई मजबुद बनाउने, कसरी संस्कारी बन्ने भन्ने कुरा सिकाउने फुर्सद हामीलाई छैन।
अर्काको घर जाने जात हो जति पढे नि के काम ? अर्काको घर नगरी हुँदैन छोरीले पढेर के हुन्छ र ? यस्ता नकारात्मक कुरा छोरीको दिमागमा भरिदिन्छौं र बिहेको हाउगुजीले हायलकायल पारिदिन्छौं।
हाम्रो पालामा यस्तो थियो, अहिले समय फेरिएको छ। छोरीले चाहे भने जे पनि गर्न सक्छन्, यसरी सम्बन्ध बनाउनुपर्छ, पराई घर पनि आफ्नै हो, जन्मदिनेभन्दा कर्म दिने बाउआमा ठूला हुन्। सासू ससुराको सधैंभरि आदरसम्मान गर्नुपर्छ, घरका अरू सदस्यहरूलाई पनि आफ्नो माइतीमा दाजुभाइ दिदी बहिनी सम्झेर सोही अनुसार व्यवहार गर्नुपर्छ।
सबैको भलो सोच्ने, सबैप्रति नम्र व्यवहार गर्ने र सबैप्रति इज्जत गर्ने हो भने सधैंभरि असल बन्न सकिन्छ। सानो कुरामा चित्त दखाउनु हुँदैन, मन ठूलो बनाउनु पर्छ, घरका साना कुरा माइतीमा पुर्याउनु हुँदैन, नारी भनेका धर्तीमाताका स्वरूप हुन् भनेर सिकाएनौं।
आफूले केही नसिकाउने अनि बिहे गरेर गएकी छोरी माइतीमा आउँदा प्रश्न सोधिन्छ, ‘ए नानी, माइतीमा बस्दा त खुब चर्को डाँको गर्थिस्, घरमा नि त्यत्रै स्वरमा बोल्छेस्? तेरी सासू कस्ती छन्? तेरो काम देखेर कतिको रिसाउँछिन् ? कतिको कडा छिन् त ? काममा जस दिन्छिन् कि दिन्नन् ? नन्द आमाजुले कतिको मुखाले छन् ? भाउजु बुहारीको चियो गरेर आमालाई कुरा लाउने खालका छन् कि छैनन्’? देवर जेठाजु कस्ता छन्? लोग्ने कतिको तह लाउने खालको छ ? यस्ता प्रश्न सोध्नेले कस्तो उत्तरको अपेक्षा गरेका हुन्छन् होला ?
हाम्रो मनोविज्ञान नै सकारात्मक छैन, हाम्रो सोधाइ नै नकारात्मक हुन्छ भने त्यसको जवाफ कस्तो होला ?
अब छोराको कुरा गरौं, अलि ढिलोसम्म सुत्ने छोरा छ भने बाउआमाको एकैस्वर हुन्छ-अब यसको बिहे गर्दिनुपर्छ अनि श्रीमतीले तह लाउँछे। घरमा ढिलो आउने छोरालाई पनि उही जवाफ हुन्छ, भोलिपर्सि श्रीमती भित्राएपछि नि यसबेला आउँछस् घरमा ? बाउआमाले दुईचार पैसा माग्दासाथ छोराले दिन सकेन भने जवाफ आउँछ- हेरौंला श्रीमती ल्याएपछि बचन भुइँमा खस्न नपाउँदै नोटका बिटा निकालेर खुरूक्क दिने होलास्। अहिले हामीले माग्दा पैसा छैन।
छोराले पढेन, राम्रो काम गरेन वा प्रगति गरेन भने उसलाई तह लाउने एउटै रामवाण हो- बिहे गर्दिने!
हामी आफैं कल्पना गरौं न जन्माउने, हुर्काउने, बिहेको लागि योग्य बनाउने बाउआमाले तह लगाउन नसकेको बिग्रेको छोरा अर्काकी छोरीले कसरी तह लगाउन सक्छन्? जे गर्दा पनि छोरो सुध्रिने छाँटकाट देखिएन भने उसको अन्तिम उपचार त्यही बिहे हुन्छ। कतिपय अवस्थामा त सम्पत्तिको पछि लागेर छोराका कतिपय कमीकमजोरी लुकाएर पनि बिहे गरेको पाइन्छ।
छोराको दीर्घ रोगलाई समेत छायामा पारेर सोझा युवतीलाई बिहेको लागि बाध्य पारिएको पनि देखिन्छ, भेटिन्छ।
केही समयअघि एक जना दिदीले सुनाएकी थिइन्, एघार कक्षाको जाँचमा फेल भएपछि मेरो बिहेको कुरा चल्यो। अर्को वर्ष मेहनत गरेर पढ्छुभन्दा घरका आफन्त राजी भएनन्। सरकारी जागिर खाएको केटा हो नाइँ नभन भनेर बिहे गर्दे। पढ्ने मान्छेले बिहे गरेसी पनि पढ्छन्, जति पढे पनि घर गरेर खानैपर्छ छोरीले...।
परिवार एक भएपछि मेरो केही चलेन। बिहे गरें, सुब्बा थियो केटो। सरकारी जागिरे केटो भएपछि आफन्तको नाक लामो थियो। बिहे गरेको एक महिनापछि सासूले सुनाइन्, हेर बुहारी छोरो अलि रोगी छ, बेलाबेलाम मुर्छा पर्छ राम्रो ख्याल गर्नू है, अब तेरो जिम्मा हो छोरो।
एकाएक दिदीको दिमाग घुम्न थाल्यो। नन्दलाई दाइको स्वास्थ्यको बारेमा सोधिन्, नन्दले पनि दाइ छारे रोगी भएको र बेलाबेलामा समाउने गरेको बताइन्। औषधी खाइरहनुपर्छ, औषधी छुट्यो भने समाइहाल्छ भनिन्। दिदी एकाएक तनावमा पर्न थालिन्। लोग्नेलाई सोध्ने हिम्मत भएन। हुँदाहुँदा कहिलेकाहीँ पानी थाप्न धारामा गएकै बेलामा बेहोसी पाराम लडेको आफैं देख्न थालिन्। यस्तो मान्छेले कसरी सरकारी जागिर खायो ? मनमा कुराहरू खेल्न थाले।
सासूलाई सोधिन्, मलाई बिहे गर्दा त यसबारेमा केही भन्नु भएन नि आमा ?
सासूले रेडिमेट उत्तर दिइछन्, त्यही छोराको राम्रो ख्याल गर्छेस होला भनेर त तँलाई भित्राएको! केटी हेर्न जाँदा रोगी छ भन्दा कुन चाहिँ केटीले मान्छन् र ? दिदीले यसपछि केही सोच्न सकिनन्।
माइतीमा धेरै गुनासो गरिन्। छोरीको भाग्य कसलाई थाहा हुन्छ र भनेर टारे। यस्ता घटना समाजमा कति हुन्छन् होला ?
भनिन्छ नि घरमा बिग्रेका सन्तानलाई भगवानले पनि सुधार्न सक्दैनन् रे। बाउआमाले 'तह' लगाउन नसकेका छोरालाई बुहारीले कसरी तह लगाउन सक्छिन्?