गत मंसिरमा एक जना आफन्तको छोरीको बिहेको निम्तो आयो।
‘कोरोना महामारीका कारण कसैलाई कार्ड पठाउन पाइएन, फोनबाटै निम्तो गरियो है।’ बेहुलीका बुवाको बाध्यात्मक आशय थियो यो।
कोरोना महामारीकै कारण विवाहमा प्रत्यक्ष उपस्थित हुन सकिएन। भलै विवाहको बारेमा जानकारी चाहिँ मिल्यो।
विवाहको तयारीमा जुटेका बेहुलीका बुवालाई प्रश्न गरेँ, ‘अनि हुनेवाला ज्वाइँको घर कता हो ? के थरका हुन् नि? अनि के काम गर्ने हुन्? बहिनी त मास्टर्स पढेकी छ, नर्स पनि हो।’
मेरो प्रश्नमा बेहुलीका बुवा एकैछिन रोकिए।
फेरि सोधेँ, ‘के भो र बुवा? किन रोकिनु भएको ?’
‘खै नानी, के भनौं, के नभनौं ? आजकालका केटाकेटीलाई हामी बाउआमाले जोडी खोज्नु पर्छ र ?
आजकालका केटाकेटी सबै निर्णय आफैं गर्छन्। तिम्री बहिनीको पनि त्यही हो, केटाको जातभात नसोध, केटाको कमाइ राम्रो रहेछ, गरिखाने केटो भनेपछि ओ के गरियो नानी।
केटाको घर त हाम्रो भन्दाधेरै टाढै हो, अहिलेको जमानामा जहाँ पनि गाडी पुगिहाल्छ कहाँ को के भन्ने कुरा रह्यो र? नानी, अर्को कुरा हाम्रो परिवारमा विवाहको विषयलाई लिएर निकै विवाद भयो, असमझदारी पनि भयो तर अन्त्यमा तिम्रै बहिनीको जित भयो।
जात मिल्दैन, केटाको र हाम्रो फरक यति हो। जातै नमिले पनि केटाको कमाइ राम्रो रहेछ, बानीव्यहोरा पनि यसो हेर्दा आकलन गर्दा ठिकै लाग्यो, छोरीले त्यो केटाबाहेक कसैसँग बिहे गर्दिनँ भनेर अड्डी कसेपछि कस्को के लाग्यो र ?
एकातिर कोरोनाको महामारी छ धेरै आफन्तलाई बोलाउने कुरा पनि भएन अर्कोतिर कार्ड छाप्दा सबै तीनपुस्ते व्यहोरा खुलाउनुपर्ने, किन? कोही नपाएर तिमीहरूलाई राईको छोरा नै चाहिने ? यावत प्रश्नहरू आउलान् भनेर हामीले कार्ड छापेनौं, नजिकका आफन्तलाई फोनमा निम्तो दिइरहेका छौं,’ बुवाले विवेचनात्मक शैलीमा उत्तर दिए।
यी बुवाको फेरिएको बोली र संस्कारका कुरा सुनेर आफैं अचम्ममा परेँ। मलाई निम्तो गर्ने मेरो एकदम मिल्ने साथीका बुवा हुन्।
उनकी छोरी र म सँगैका साथी भएकोले पनि उनीहरूका हरेक गतिविधिमा मलाई सकभर छुटाउँदैनन्।
यिनी तिनै बुवा हुन् जसले मेरी साथीले आफ्नै जातको केटासँग प्रेम विवाह गरेको निहुँमा २ वर्षसम्म माइतीको ढोकामा भोटे ताल्चा लगाएका थिए।
बहिनीलाई नर्स पढाउने बाउआमा नभएर मेरै साथीको जोडबल थियो। दिदीको करमा बहिनीले नर्स पढेकी हो।
मेरी साथी जो आफूले प्राइभेट अफिसमा जागिर गर्थी तर उसले रोजेको केटा आफ्नै जातको भए पनि सरकारी जागिर खाएका थिएनन्। त्यही कारणले बाउआमाले उसलाई मन पराएनन्, उनीहरूलाइ ज्वाइँ स्वीकार गर्न मात्रै झन्डै तीन वर्ष लाग्यो।
विवाहको तेश्रो वर्षमा नातिनी जन्मेपछि आफन्तको करकाप, साथीका श्रीमानको सरकारी जागिरमा नाम निस्किएका कारण बल्लतल्ल स्वीकार गरेका हुन्।
यति कट्टर बुवा कान्छी छोरीको विवाहमा यति धेरै लचक कसरी भए? बाहुनभित्रै त जात र उपजातको व्याख्या गर्ने बुवा एकैचोटि राईको छोरालाई ज्वाइँ बनाउन मन्जुर भएको कुरा अग्रगामी छलाङै थियो भन्दा फरक पर्दैन।
यो निरन्तरताको क्रम भंगता थियो क्रान्तिकारी शैलीमा भन्नुपर्दा।
तर अहिले यिनै बुवाको फेरिएको बोली र आधुनिक सोचले पुरानो घटनालाई पुनर्ताजकीकरण गर्न बल पुग्यो।
आफैंले आफैंलाई प्रश्न गर्न मन लाग्यो, दिदी र बहिनीमा कति अन्तर हो बुवा?
तपाईंलाई पहिलो पटक बाउ बन्ने सौभाग्य दिने त्यही छोरी हो जसलाई तपाईंले आफैंले रोजेर केटो खोजेकै कारण माइतीको ढोकामा प्रवेश निषेध गराउनु भयो।
त्यही प्रवेश निषेध गराएका ज्वाइँले नै हो तपाईंलाई अल्सर हुँदा काठमाडौंको अस्पतालमा कुरूवा बसेर उपचार गराइदिएको।
तपाईंले सायद चिन्नु भएन होला तर तिनै अपरिचित युवाले तपाईंलाई अस्पतालमा रेखदेख गरे, उपचार गरे त्यो कुरा तपाईंको सानो छोरालाई प्रष्टै सँग थाहा छ , भलै उसले तपाईंलाई सबै कुरा बताएन होला। तपाई बिरामी भएको थाहा पाएपछि जेठी छोरीले नै यो सब गर्न पठाएकी थिइन्।
कट्टर बाहुनकी छोरीले राईको छोरालाई मन पराउँदा राजीखुसी विवाह गर्दिन तयार हुनु भएको तपाईंको सोच, तपाईंका आफन्तजनको बदलिएको आधुनिक शैली र छोरीको चाहनाअनुसार आफ्नो सोचाइ बदल्नु भएकोमा धेरै खुसी लाग्यो।
बुवा तपाईं हिजो जेठी छोरीको विवाहको बेलामा जति कट्टर हुनु भाको थियो आज कान्छी छोरीको विवाहको बेलामा धेरै नै फेरिनु भएछ।
जेठी छोरी जो मेरो निकै मिल्ने साथी थिई, उसको विवाहको कुरा गर्दा मैले पनि तपाई र तपाईका आफन्तजनको हप्कीदप्की सहेकै हो।
जेठी छोरीको विवाह गर्दा नमिल्ने कुरा केही पनि थिएन।
सबैभन्दा ठूलो समस्या जातको सवालमा उठ्ने गथ्र्यो, दुवै जनाको जात मिल्थ्यो, पढाइको स्तर मिल्थ्यो, दुवै परिवारको आर्थिक हैसियत मिल्थ्यो तर तपाईंका आफन्तजनले अधिकांश सरकारी जागिर खाएका थिए, तपाईंकी छोरीले विवाह गर्ने निधो गरेको केटाको त्यही सरकारी जागिरको ट्यागमात्रै थिएन तै पनि आफ्नो खुट्टामा त उभिएका थिए नि होइन र ?
कान्छी छोरी नर्स , उसले रोजेको केटा अर्को जातको, केटाको घरनिकै टाढा तर पनि खुसी भएर विवाहको निम्तो दिएकोमा निकै खुसी लाग्यो। मैले साथीलाई फोन गरेँ, ‘तिम्रो हुनेवाला बहिनी ज्वाँइ के काम गर्ने हुन् र? बुवाले विवाहको निम्तो दिनुभएको छ।’
साथी एकैछिन बोलिनन्।
त्यसपछि भन्न थाली, ‘हेर साथी मेरो पालामा जस्तो होइन। तिमीलाई राम्रोसँग थाहा छ, जातभातको कुरा केही होइन रहेछ, पद, पैसा, पावरको पछि यी सब भन्ने कुरामात्रै हुन् भन्ने कुरा बल्ल थाहा पाउँदै छु।
यो एउटा प्रतिनिधि घटना हो, यस्ता घटनाहरू हाम्रो समाजमा हरेक दिन हरेक क्षण भइरहन्छन्।
यस्ता प्रतिनिधि घटनाले के देखाउँछन् भने समाज, आफन्त, निकटका जो जसलाई हामी आफ्ना भन्छौं नि उनीहरू सबै बलेको आगो ताप्ने पात्रमात्रै हुन्।
आगो बलेको हुनुपर्छ त्यहाँ जातभातको कुरा आउँदैन, धनी गरिबको कुरा आउँदैन, कुन जाति सम्प्रदायको भन्ने कुरा आउँदैन आगोको राप हुन्जेल सबैजना ताप्छन्, न्यानोको अनूभूति गर्छन् , जब आगो निभ्दै जान्छ अनि अघि राप लिएकाहरू आफैं परपर हुन्छन्।
हाम्रो सोच पनि यस्तै हो, केटो गरिखाने लाग्यो, विदेशको पिआरवाला केटो भयो, राम्रो पद , प्रतिष्ठा भएको हुनासाथ सबै कुरा गौण हुन्छन्। यी नर्स बहिनीको सवालमा पनि भएको यही हो।
केटो अमेरिकामा बस्ने, उतैको ग्रिनकार्ड भएको। नेपालमा ठूलो व्यवसायिक घराना, एक वर्षभित्रमा छोरीलाई पनि अमेरिकामै सेटल बनाउने आशय, छोरी ज्वाइँ नै अमेरिकामा भएपछि बाउआमाको नाक घिरौंलाभन्दा सानो हुने कुरा भएन। यत्रो सानका पछाडि सामान्य जागिर खाएको आफ्नै जातको केटाको के हैसियत होला र भन्ने ठाने होलान् बाउआमाले।
यदि यसो नहुँदो हो त जेठी छोरीको बिहेमा किन त्यत्रो विभेद हुन्थ्यो होला?
आफ्नै कूलको केटा रोज्दा पनि जेठी छोरी टाढिइन् तर आफ्नो भन्दा अर्कै जातको केटा रोज्दा पनि कान्छी छोरी हाइहाइ छिन्। यो सब पैसा र पद र पावर रहेछ।
अन्त्यमा भन्न मन लाग्यो, जातभातका कुरा गर्दै नगर। यी त सब भन्ने कुरा न हुन्। पद, पैसा र पावर छ भने जसले जसरी विवाह गर्दा पनि यहाँ बाजा बजाइन्छ, धूमधामसँम मन्डप सजाइन्छ र आफन्तजनको वाहीवाही सुन्न पाइन्छ।
आफ्नै बाउआमाले आफ्नै छोरीमा अलग व्यवहार गर्छन् भने समाज, टोलको कुरा गर्दै नगर।
सायद, अधिकांश बाउआमा जो आफ्ना छोरीले मन पराएका खानदानी केटा जो अन्तरजातीय परिवारभित्रका हुन् उनीहरूको बारेमा एउटै जवाफ फर्काउँछन् होला, के गर्नु जमाना कहाँबाट कहाँ पुगिसक्यो ? जातभातको कुरा के गर्नु ? छोरीको खुसी नै हाम्रो खुसी हो। केटो गरिखाने लाग्यो, केटाको कमाइ राम्रो लाग्यो, केटो खानदानी लाग्यो, केटो विदेशको पिआरवाला लाग्यो आँखा चिम्लेर हुन्छ भन्यौं। उनीहरूको खुसीका लागि हामी किन बाधक बन्ने ??
कुरा खासमा यसो होइन, एउटा उदाहरण यही नर्स बहिनी जसले गाउँकै एउटा सामान्य पेशा गरेको राईको छोरालाई मन पराएको भए , हिजो आफ्नै जातको केटा मन पराउँदा टाढिएकी दिदीको जस्तो हालत हुन्थ्यो कि हुँदैनथ्यो ?
आफ्नै जातको केटा मन पराउँदा त सरकारी जागिर खाएको भएन भनेर माइतीको ढोका बन्द गराउने यिनै आफन्तले राईको छोरा मन पराउँदा छोरीको इच्छा नै हाम्रो खुसी भनेर अन्माउन राजी हुन्थे होला त ??.
कदापि हुँदैन थिए, छोरीको खुसीभन्दा पनि यहाँ त बाउआमाको इज्जतको सवाल जोडिएको छ।
कान्छो ज्वाइँ अमेरिकामा छन्, कान्छी छोरी पनि अमेरिकामै छ, बाउआमालाई ६ महिना अमेरिकामा आउनु भनेर बोलाएका छन्।
यो भन्नको लागि मात्रै राजी भएका हुन्। हिजो जेठी छोरीलाई कर्के नजर लगाउने बाउआमा नचिनेका बराजु होइनन्।
के गर्नु खै, अन्त्यमा भन्नै कर लाग्यो केटाको कमाइ राम्रै छ, गरिखाने केटो हेरियो केटाको जात हेरिएन। मनले मनैदेखि यसो भन्न सक्नुपर्यो, स्वार्थको लागिमात्रै होइन।