लोकगायिका तीर्थकुमारी थापा एकल साँझमा गुञ्जने भएकी छन्।
आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै एकल साँझको बारेमा जानकारी दिइएको हो। यही मंसिर ८ गते राष्ट्रिय नाचघर जमलमा 'तीर्थकुमारी स्वर्णिम साँझ २०८०' हुनेछ।
अन्नपुर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको कार्यक्रमको काठमाडौं प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्ट्रक्सन प्रालि सह-आयोजक रहेका छन्।
५ दशकबढी समयदेखि नेपाली लोकगीतमा निरन्तर लागिरहेकी तीर्थकुमारीले पहिलोपटक एकल साँझमा प्रस्तुति दिन लागेकी हुन्। एकल साँझमा उनले 'म त खादिनँ कुवाँको पानी, ढुंगे बगर माया, झम्के फूली नाकैमा बुलाकी, उकालीमा पनि हजुर मोटर जादो रैछ, बारीको डिलमा ओखरबोट, माछी मार न हे दाइ हो' लगायत २ दर्जन गीतमा प्रस्तुति दिनेछिन्।
कार्यक्रममा प्रवेशका लागि एक हजार, पन्ध्र सय र दुई हजार रूपैयाँको टिकट राखिएको छ। कार्यक्रममा गायिका तीर्थकुमारीका छोरा तथा संगीतकार सुरज थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर नछाड्ने बताए।
'आमाको सपना थियो। यसलाई पुरा गर्न पाउँदा निकै खुसी छु। हामीले युगल गायनमा आमासँग गाउन सक्ने पुराना गायक नै प्रस्तुत गर्नेछौं। बाँकी केहीमा मैले पनि साथ दिनेछु,' उनले भने।
२०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन र संगीत यात्रा सुरू गरेकी तीर्थकुमारीले १ हजारबढी गीत गाएकी छन्। उनले प्रबल गोरखा दक्षिणबाहू मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौं सम्मान, पदक र पुरस्कारहरू प्राप्त गरेकी छन्।