अन्तर्वार्ता: सोमा चौधरी
अनुवाद: सुरज सुवेदी
सहादत हसन मन्टो भारतीय साहित्यमा परिचित नाम हो। विशेषगरी भारत पाकिस्तानको विभाजनको समयलाई सेटिङ बनाएर उनले धेरै कथा लेखेका छन्। तीमध्ये ‘ठन्डा घोस्त’, ‘ओपन इट’, ‘टोबा टेकसिंह’ जस्ता कथाहरू चर्चित छन् र अन्य कथाहरूजस्तै विवादास्पद पनि।
उनी आफ्नो लेखलाई समाजको ऐना भन्थे। आफ्नो कथाहरू पढ्नै नसकिने बताउनेहरूलाई जवाफ दिन्थे ‘यदि मेरा कथा पढ्नै नहुने छन् भने यो समाज बस्नै नहुने भइसक्यो। किनकि मैले जे देखेको हुँ त्यही लेखेको हुँ।’
नन्दिता दास भारतीय चलचित्र क्षेत्रमा नौलो नाम हैन। उनै नन्दिताले ६ वर्ष लामो समय लगाएर मन्टोको जीवन र लेखनमा आधारित चलचित्र ‘मन्टो’ तयार पारेकी छन्। यो अन्तर्वार्तामा उनले फिल्म बनाउन मन्टोलाई नै उनले किन छानिन्? उनको बारेमा कसरी खोजिन्? एक विवादास्पद तर चर्चित लेखकको बारेमा फिल्म बनाउन के/के समस्याहरू आए? सँगै मन्टोको स्वच्छन्दता झल्काउने ‘मन्टोइयत’ शब्द के हो ?
अहिलेको समयमा त्यो किन जरुरी छ? भन्ने बारेमा निक्कै गहन कुराकानी गरेकी छन्। अल्जेब्रा च्यानलको लागि शोमा चौधरीले लिएको यो अन्तर्वार्ता सुरज सुवेदीले नेपालीमा अनुवाद गरेका हुन्।
तपाईंले मन्टोको बारेमा ६ वर्षसम्म अध्ययन गर्नुभयो र भावनात्मक र बौद्धिक रूपमा सन्तुष्ट भएपछि मात्र फिल्म बनाउनुभयो। दुइटा प्रश्न गर्छु: पहिलोपल्ट मन्टोलाई पढ्दा के पाउनुभयो जसले उनको बारेमा फिल्म बनाउने बनायो? अनि एउटा लेखकको बारेमा फिल्म बनाउन ६ वर्ष किन लाग्यो? के त्यो भन्दा पहिला उनको बारेमा तपाईंलाई केही थाहा थिएन?
मलाई लाग्छ धेरै मानिसहरू मन्टोलाई चिन्दैनन्। धेरै कम मात्र उनको बारेमा विज्ञ छन् जसले मैले भन्दा धेरै पढेका छन्। ४२ वर्षको सानो उमेरमै मन्टोले ३०० भन्दा धेरै छोटा कथा लेखे। १०० भन्दा धेरै रेडियो नाटक, अनेकौं निबन्ध तथा अन्य फुटकर लेखन पनि। उनी उर्भर लेखक थिए। सबै थोक पढिसक्न लगभग गाह्रो छ। उनको बारेमा नजान्ने नभएको भने हैन। तर जान्ने धेरै कम छन्। कतिले त उर्दू लेखक हो भनेपछि सायर होला भन्ठान्छन्। कतिलाई उनको नाम पनि स्पष्टसँग भन्न आउँदैन। त्यसैले पहिलो कुरा त मन्टो जस्तो व्यक्तिको परिचय दिनु जरुरी थियो। उनी को हुन्? फिल्मको माध्यमबाट चिनाउनु थियो।
उनलाई मैले कलेज हुँदा पढेको । नाटक पढेथेँ। देवनागरीमा लेखिएको छोटा कथासंग्रहको ५ वटा शृङ्खला पनि किनेको थिएँ। फिल्म सुरू गर्नेबेला लागेको थियो उनका छोटो कथालाई कुनै सिन बनाएर प्रस्तुत गर्नेछु। तर मलाई उनले त्यतिका धेरै निबन्ध पनि लेखेका थिए भन्ने कुरा थाहा थिएन। धेरैलाई अहिले पनि थाहा छैन। सन् २०१२ पछि मात्र उनको बारेमा लेख्न थालियो। आकार पटेलले ‘ह्वाइ आइ राइट’ नाममा अनुवाद गरेर सङ्ग्रह निकालेपछि मात्र हामीले मन्टोलाई चिन्यौं। हामी अङ्ग्रेजी स्कुल पढेका मान्छे। पहिलोपल्ट मन्टोलाई अंग्रेजीमै पढ्यौं जुन दयालाग्दो कुरा हो। हाम्रो देशको भाषामा यति धेरै साहित्य छ। तर आफ्नै भाषा बाधक भइरहेको छ।
उनलाई पढ्दै जाँदा र बुझ्दै जाँदा महशुस भयो, यो मानिस लेखनमा जति रोचक छ व्यक्तित्वमा पनि उत्तिकै रोचक छ। उनले त्यो बेला गरेको कुरा अहिलेको हाम्रो समयसँग धेरै मिल्दाजुल्दा छन्। ७० वर्ष पहिला भारत पाकिस्तान विभाजनको समय त्यो। तर उनका हरेक शब्दहरू अहिले पनि सान्दर्भिक छन्।
उनी आधुनिक थिए। आफ्नो समयभन्दा एकदम अगाडि। उनले महिलाको बारेमा धेरै लेखेका छन्। एकपल्ट आफ्नो साथी अहमद अदिम कासमीलाई चिठी लेख्दा भनेका छन् ‘महिलाको बारेमा लेख्नलाई आफू पनि एक महिला बन्नुपर्छ।’ एक पुरुषले त्यो भन्नु साँच्चीकै रोचक थियो। यसरी लेबल लगाउँदा सायद उनी रिसाउँथे होला तर यो साँचो हो कि लेखनमा मात्र नभएर उनी जीवनमा पनि एक फेमिनिस्ट थिए। श्रीमतीको सारी आइरन गर्थे। घर सफा गर्थे। खाना पकाउँथे। ती सबै काम गर्थे जुन दक्षिण एसियाका धेरै पुरुषहरूले अहिले पनि गर्दैनन्। त्यो पनि आजभन्दा ७० वर्ष पहिला।
उनका धेरै कालजयी कथाहरू भारत पाकिस्तान विभाजनको बेला र विभाजन भइसकेपछि लेखिएका छन्। त्यो विभाजनले संसारमा सबैभन्दा धेरै मानिसलाई एकैपल्ट उठिबास लगाएको थियो। धेरैले यसको वरपर रहेर लेखेका छन् र फिल्म बनाएका छन्। सबैले यसलाई ठूलो घटना भनेर व्याख्या गरेका छन्। तर मन्टो थोरै लेखकमध्ये एक थिए, जसले उक्त समयमा साना व्यक्तिहरूको बारेमा लेखे। हिंसामात्र हैन हिंसा भइसकेपछि के हुन्छ? के कुरा सकिइहाल्दैन वा मानिसको मनमा अल्झिरहन्छ? मन्टोले त्यस्ता विषय खोजे। धार्मिक र राष्ट्रिय पहिचानभन्दा बाहिर पुगेर लेखे। मेरो लागि त्यो सधैँ सबैभन्दा महत्त्वपूर्ण कुरा रह्यो।
हामी अहिले पनि राष्ट्रियता र पहिचानको राजनीतिमा अडिइरहेका छौं। उनले त्यसबेलै स्वच्छन्दताको कुरा गरेका थिए। उनको ध्येय सबै मानिस स्वतन्त्र हुन् भन्ने थियो। म त्यो ध्येयसँग निकटता महशुस गर्छु। उनी आफ्नो समयका प्रगतिशील लेखक भएर पनि प्रगतिशील लेखक समूहमा कहिल्यै आबद्ध भएनन्। उनलाई आफ्नै समयले गलत बुझ्यो। नजिकैका मानिस पनि आफ्नो भएनन्। पैसासँग त कुनै सम्बन्धनै थिएन भन्दा पनि हुन्छ। म उनलाई र मेरो बुवालाई ती कुरामा समानान्तर देख्छु। मेरो बुबा पेन्टर हुनुहुन्थ्यो तर कला बजारको अंग कहिल्यै हुनुभएन। बुवाको प्रभावले हुनुपर्छ म हुर्किँदा पनि मन्टो जस्तो गरी हुर्किएको थिएँ।
मलाई विश्वास छ कि मन्टो जस्तै अरू धेरै लेखकहरू उनको समयमा थिए। त्यस्ता लेखक अहिले पनि छन्। मिडियाको क्यामेरा र नजर भन्दा पछाडि उनीहरू त्यो गरिरहेका छन् जुन उनीहरूलाई सही लाग्छ। त्यो खाले इमान्दारिता र सत्यता जो कोहीले थेग्न पनि सक्दैनन्।
फिल्म बनाउन ६ वर्ष लाग्नुको कारण छ। मन्टोलाई प्रत्यक्ष भेट्ने कोही पनि मानिस ज्युँदो थिएनन्। सबै कुरा उनले लेखेका शब्दको माध्यमबाट पत्तो लगाउनुपर्थ्यो। म लाहोर गएँ। उनको छोरीहरूसँग समय बिताएँ। तर उनी बित्दा जेठी छोरी नै ९ वर्षकी थिइन्। उनी लाहोर आर्थिक रूपमा जर्जर भएर पुगेका थिए। धेरै रक्सी पिउन थालेका तर पनि छोरीहरूको सम्झनामा एकदमै रमाइलो बुवाको रूपमा बाँचेका रहेछन्। बरु उनको श्रीमतीकी ७५ वर्षीया बहिनीले मलाई धेरै जानकारी दिइन् जुन मैले कुनै पनि किताबमा पाउन सक्ने थिइनँ। यसरी रिसर्च गरेर स्क्रिप्ट लेख्नको लागि मलाई ४ वर्ष लाग्यो। अनि सुटिङ सबै सिध्याउँदा बाँकी २ वर्ष।
म उनकी श्रीमतीकी बहिनी जाकियाको बारेमा सोध्नेवाला नै थिएँ। उनले त्यस्ता के जानकारीहरू दिइन् जुन हामीले अन्त कतै पाउन सक्दैनौं?
यो कुरा ट्रेलरमा पनि छ जहाँ मन्टो भन्छन् ‘म यति लेख्छु कि तिमी कहिल्यै भोकै मर्ने छैनौं।’ जवाफमा श्रीमती भन्छिन् ‘यही त चिन्ता छ। तपाईंको लेखनको कारणले हामी भोकै मर्दछौं।’ त्यो संवादबाट मन्टोकी श्रीमतीको सङ्घर्ष अनुमान लगाउन सकिन्छ। मन्टोले यी सबै रोचक कुराहरू लेखे भन्न सजिलो छ। उनका किस्सा रमाइला छन्। तर त्यस्ता मानिससँग सँगै बस्न सजिलो पक्कै पनि थिएन। र एउटा व्यक्तिको कथामा केबल व्यक्ति मात्र आउँदैन। उसको वरपरको संसारनै आउँछ। सम्बन्धहरूको माध्यमबाट नै कुनै व्यक्तिलाई बुझ्न सकिने हो। मन्टोको बारेमै कम लेखिएको छ भने उनको श्रीमती साफियाको बारेमा धेरै के लेखिनु? मन्टो स्वयंले पनि केही निबन्धमा बाहेक धेरै लेखेका छैनन्।
जकियाबाट मैले जति पनि कुरा पाएँ ती रोमान्चक छन्। मन्टो लेखेको बेला कुर्सीमा कुखुरा बसे जसरी बस्थे। अस्तव्यस्तमा र होहल्लाको बीचमा पनि लेख्न सक्थे। यस्ता कुरा बताइन्। साथै उनीहरूको फर्निचर कस्तो थियो जस्ता साना साना विवरण पनि दिइन्। मेरो लागि यो महत्त्वपूर्ण थियो किनकि मैले सकेसम्म धेरै यथार्थ कुराहरूलाई समात्नु र देखाउनु थियो। कथालाई विश्वसनीय बनाउनु थियो। दर्शकलाई ४० को दशकमा पुर्याउनु थियो।
मन्टो भारत पाकिस्तान विभाजनपछि बम्बई छोडेर लाहोर गएका छन्। तर त्यो निर्णय उनले किन गरे भन्ने कतै पनि भेटिँदैन। तपाईंको रिसर्चले उनी किन गए भन्ने बारेमा केही जवाफ दियो?
‘मै चलता फिर्ता बम्बे हुँ’ भन्ने मान्छेले पाकिस्तान जाने निर्णय किन गर्यो भन्ने प्रश्नले मलाई पनि घुमाएको थियो। तिमी पाकिस्तान जाँदैनौं भनेर धेरै मुस्लिमहरूले उनलाई सोधेका थिए। उनी भन्थे यदि बम्बे उता गयो भनेमात्र त्यसको पछिपछि म पनि जाउँला। उनलाई बम्बेप्रति त्यति माया थियो। सहरको मन जितेर बसेका मान्छे। तर अन्तिममा लाहोर गए।
त्यो बेलाका अरू धेरै प्रगतिशील लेखकहरू पाकिस्तान गएनन्। तर मन्टो विना कुनै योजना अचानक गए। किन? यो जटिल प्रश्न हो। यो कुरा जान्न तपाईंले फिल्म हेर्नुपर्छ । म थोरै संकेत मात्र गर्छु। एउटा सानो घटनाको बारेमा। यसको बारेमा उनले एक कथा र एक निबन्ध लेखेका छन्। कथा र निबन्ध दुवैमा त्यही एउटै घटनाको वर्णन छ। मैले भनिहालेँ उनको कथामा यथार्थता र आख्यानको बीचको रेखा धेरै स्पष्ट हुँदैन।
‘मुरलीकी धून’ भन्ने कथामा उनले आफ्नो नजिक मध्येको एक साथी श्यामको बारेमा लेखेका छन्। श्याम अभिनय गर्थे जो पछि घोडाबाट लडेर मरेका थिए। मन्टो र उनी सारै नजिकका साथी। विभाजनपछि सायद उनीहरूको बीचमा केही भयो। सायद उनले श्यामप्रति चित्त दुखाएका थिए।
उनी गएपछि पनि फर्किएर आउन सक्थे। तर इखले दिएन। उनको चित्त धेरै दुखेको थियो। सायद त्यसैले फर्किएनन्। त्यसबेलाका प्रगतिशील भनिने लेखकहरू पनि उनले वेश्याको बारेमा लेखेको कुरालाई निकालेर उनलाई होच्याउँथे। कामदारको अवस्था, उनीहरूको सङ्घर्ष, ब्रिटिसहरूको दबाब आदिको बारेमा नलेखेर अश्लील विषय छान्छ भन्थे। पाकिस्तान गएपछि पनि त्यस्तै भएको छ। उनको लेखनलाई अश्लील र पढ्न नहुने पटक/पटक भनिएको छ। आफ्नै मानिसहरू पनि उनको पक्षमा थिएनन्। उनलाई फर्किन मन सायद थियो होला तर कसैले बोलाए फर्किन्छु भन्ने इख थियो। यताबाट कसैले बोलाएन, उनी फर्किएनन्।
उनी किन गए वा किन फर्किएनन् भन्ने कुरा कालो र सेतो छुट्याएजस्तो छैन। तर उनको चित्त धेरै दुखेको थियो भन्ने कुरा चाहिँ विभाजनबारे लेखिएका धेरै चर्चित कथाहरू लाहोर गएपछि लेखिएको कुराबाट अनुमान लगाउन सकिन्छ। उनले बम्बेको बारेमा लेखेका उत्कृष्ट कथाहरू पनि लाहोरमा गएपछि लेखिएका छन्।
तपाईंले पटक-पटक ‘मन्टोइयत’ शब्द प्रयोग गरिरहनुभएको छ। उनी फेमिनिस्ट थिए, सिमान्तमा रहेका मानिसहरूको बारेमा लेखे भन्ने कुरा आइसक्यो। तर उनको सोच अहिलेको समयमा सान्दर्भिक कसरी छ?
‘मन्टोइयत’को मतलब स्वच्छन्द आत्मा भएको मान्छे। इमानदार र साहसी हुने इच्छा भएको। हामी सबैमा त्यस्तो इच्छा छ। तर कति डिग्री छ भन्ने कुरा हो। कसैमा धेरै होला, कसैमा कम। यस्तो सभ्य विश्वको हुर्काइले हामीलाई विनम्र भएर झूटो बोल्ने बनाइरहेको छ। हामी यसलाई झूटो बोलेको भन्दैनौं तर आचरण भएको भन्छौं। व्यक्तिगत, पारिवारिक र देशगत रूपमै पनि यस्तै सोच्छौं। ‘मन्टोइयत’ यस्तो स्वीकारोक्ति हो जसले इमानदार र सत्य बोल्नु कमजोरी हैन भन्छ। आफूसँग स्वीकारोक्ति छ भने हिम्मतले त्यसलाई पक्कै पछ्याउँछ भन्ने विश्वास लिन्छ। त्यसैले हामीले साहसलाई खोज्नु पर्दैन, कमजोरीलाई स्वीकार गर्न सके पुग्छ। मन्टोले यही कुरा गरेका छन्।
मन्टो जब पनि लेख्थे, समस्यामा परिहाल्थे। यो कुरा उनलाई थाहा थियो। रक्सीले मात्यो कि समस्या, अदालतमा बयान दियो कि समस्या। उनले साहित्यको नयाँ परिभाषा दिए, यो समयअनुसार परिवर्तन हुनुपर्छ भने, बेहुदापन र अश्लिलता भाग्नुपर्ने विषय हैन भने, अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भने। ती सबै कुराले उनलाई समस्यामा पारेको छ। उनले समाजमा जे कुरा देखेका छन् त्यसलाई लेपन नलगाई लेखेका छन्।
यो फिल्मको माध्यमबाट यही ‘मन्टोइयत’ सबैमा पुर्याउन मन छ। हामी बेलाबेला कुनै विषयलाई लिएर आफैसँग भिडिरहेका हुन्छौं। यस्तो लाग्छ मैले यो कुरा भन्न सके हुन्थ्यो। तर सक्दैनौं। अरू मानिसले सत्य र इमान्दारिताको लागि गरेको साहसलाई प्रशंसा गर्छौं। यस्तो गर्न पाए हुन्थ्यो तर आफ्नो बाध्यताले सक्दैनौं जस्तो लाग्छ हामीलाई। जे गरिरहेका छौं त्यसबाट खुसी हुँदैनौं तर पनि गरिरहेका हुन्छौं।
मन्टो हामीभन्दा त्यसैले अलग थिए।
‘मन्टोइयत’को कुरा हुँदै गर्दा तपाईंलाई साँचो बोल्न मन लागेको केही विषय छ?
धेरै छन्। साँच्चै भन्दा मेरो ‘मन्टोइयत’ यो मार्केटिङ फेजमा आएर घटिरहेको छ। म यसमा सारै कमजोर छु। यो फिल्म बनाउनु धेरै चुनौतीपूर्ण रह्यो। गहन विषय भएकाले लेख्न गाह्रो थियो। पहिलो ड्राफ्टमा मन्टोको १० वर्षको जीवन समेटेँ। धेरै लामो भएकाले त्यसपछि त्यसलाई ८, ६, र ४ मा झार्नुपर्यो। मन्टोको बारेमा कम थाहा भएका मानिसहरूले चिन्ने मन्टो फिल्ममा उतार्नु थियो। लेखिसकेपछि लोकेसन पाउन उस्तै गाह्रो। ४० को दशकको बम्बे कहाँ पाउनु? धेरै पैसा नहुँदा भिज्युअल इफेक्ट लगायत कुरामा काम गर्न सक्ने अवस्था पनि थिएन।
तर त्यति हुँदाहुँदै पनि सानो सानो सफलतामा खुसी हुने ठाउँ हुन्थ्यो। साना खुसीहरू। कसैले मलाई सोधेको थियो, त्यत्रो ६ वर्ष उसैलाई खोज्दा खोज्दा थाकिसक्नुभएन? म भन्थेँ थाकिन किनकि हरेकपल्ट नयाँ कुरा भेट्दैछु। उनलाई दोहोर्याउँदा मेरो आफ्नो आत्मस्वीकारोक्ति मजबुद बन्दै गइरहेको छ। सत्य छोटो समयको लागि दबिएला तर सधैँलाई कमजोर हुँदैन भन्ने विश्वास पलाएको छ।
तपाईंको जीवनको कुनै भोगाइ, करियर, कुनै निर्णय आदिबारेमा केही कुरा छ? जुन मौका पाए भन्ने थिएँ भन्ने लागेको होस्।
मन्टोले गर्दा म धेरै इमानदार व्यक्ति भएको छु। मेरो सामाजिक र राजनीतिक विचारहरू खुलेर व्यक्त गरिरहेको हुन्छु। म संवाद धेरै गर्न थालेको छु। २० वर्ष पहिला जब हामी धर्नाहरूमा जान्थ्यौं त्यसबेला म आफूमा धेरै रिस पाउँथें। अहिले पनि रिसाउँछु तर आफ्नो रिसको बचाउ गर्न छोडेको छु। मैले आफूभन्दा विल्कुलै फरक सोचाइ भएका मानिसहरू पनि भेटेको छु। ट्वीटरमा धेरै फरक विचारहरूलाई रिट्विट पनि गर्छु। कहिलेकाहीँ मानिसहरूले त्यसैलाई लिएर धेरै नराम्रो कुराहरू पनि भन्छन्। यस्तो कुराले पहिला मलाई रिस उठाउने गर्थ्यो तर अहिले त्यस्तो हुँदैन। सबैलाई आफ्नो कुरा भन्न छुट छ त जस्तो लाग्छ।
म आफ्नो सत्यता नहराइकन फरक विचार र फरक व्यक्तिहरूको बीचमा पनि जान सक्ने भएको छु। मैले यो फिल्म गर्नुको प्रमुख कारण नै देशमा अहिले जे भइरहेको छ त्यसलाई रेस्पोण्ड गर्न हो। म अहिलेको विषयमा पनि फिल्म बनाउन सक्थेँ। तर त्यसो गरेको भए मेरो काम मन पराउनेहरू मैले ठीक गरेँ त्यसमा खुसी छु भन्थे होला। तर मन नपराउनेहरू फेरि त्यही विषयमा काम गरी, सरकारको जहिल्यै विपक्षमा छे भनिहाल्थे। उनीहरू मलाई विभिन्न चरणमा लेबल गर्न अघि सरिहाल्थे।
हामीलाई कथा मन पर्छ। उत्सुक हुन र कसैको बारेमा सबै कुरा बुझ्न इच्छुक हुन्छौं। म एउटा मानिसको कथा भन्न चाहन्थेँ। यदि मैले मन्टोमार्फत् त्यो ऐना देखाउन, मानिसहरूलाई बोल्ने, सोच्ने र कुराकानी गर्ने गरी डिस्टर्ब गर्न सकेँ भने सफल भएको सम्झिन्छु। संवाद अरूसँग वा आफैंसँग जोसँग गरे पनि हुन्छ। एउटा फिल्मले गर्न सक्ने यही हो। मानिसहरूलाई थोरै जिस्काएर सोच्न लगाउने। संवाद गर्न प्रेरित गर्ने। पूर्वाग्रहलाई चुनौती दिने।
मन्टोलाई ब्रिटिस इन्डिया तथा पाकिस्तानमा पनि अश्लिलताको बारेमा लेखेको र विकृति फैलाएको आरोप लागेको छ। ती कुन कथाहरू थिए जसले उनलाई समस्यामा पारे? तपाईंले फिल्मको लागि कुन-कुन कथाहरू छान्नुभएको छ?
‘ठण्टा घोस्त’ कथाले सबभन्दा बढी समस्यामा पारेको हो उनलाई। मैले ५ कथाहरू छानेको छु र छान्न ठूलो चुनौती थियो। ३०० बाट ५ छान्नुपर्ने। त्यसमा कतिपय मलाई मनपर्ने कथाहरू पनि परेका छैनन्। म चाहन्थेँ ती कथाहरू प्राकृतिक रूपमा कतै नअल्झिकन फिल्मको न्यारेटिभमा आउन्। मैले पहिला पनि भनिहालेँ उनको कथामा सत्यता र आख्यान बीचमा सारै झिनो अन्तर हुन्छ। म त्यस्तै तरिकाले फिल्म पनि बनाउन चाहन्थेँ। कसैलाई कथामा छिरेको थाहा नै नहोस्।
र मन्टोले के लेखेका थिए भन्ने दायरा बुझाउने हेतुले पनि कथाहरू छानिएका छन्। म भनूँला उनी धेरै संवेदनशील लेखक थिए। यौनकर्मीसँग उनको समानुभूति थियो। विभाजनको बेला लेखिएका कथाहरू धेरै बलिया छन्। तर तपाईंले किन पत्याउने त? किनकि मैले भनिरहेको छु? म चाहन्छु फिल्म हेरेर दर्शक मन्टोलाई पढ्न थालुन्।
म डायलगमा धेरै काम गर्न चाहन्थेँ। नवाजसँग रिहर्सल हुँदा पनि यही कुरा ख्याल गर्थ्यौं। किनकि स्क्रिप्टको लगभग ८० प्रतिशत जति डायलग त मन्टोलेनै लेखेका शब्दहरू छन्। म शब्दलाई जस्ताको तस्तै राख्न चाहन्थें। सँगै त्यस्तो अप्ठ्यारो पनि बनाउन चाहन्नथेँ कि तपाईंसम्म पुग्न गाह्रो होस्।
मन्टोले आफ्नो सुरक्षाको चिन्ता र परिवार हेर्ने दायित्वको बोझ पन्छाएर पनि सत्य लेखेका छन्। यसलाई समकालीन हाम्रो समाजको ऐना भनिरहँदा अहिलेको समयमा त्यो खाले कला प्रतिको इमान्दारिता र शक्ति कुनै न कुनै रूपमा भएको पाउनुहुन्छ?
म विश्वास गर्न चाहन्छु यस्तो होस्। तर मलाई यसको बारेमा थाहा छैन। यस्तो क्षमता धेरै मानिसमा हुँदैन। तपाईंले १९५० को दशकको फिल्म हेर्नुभयो भने भन्छन् ‘यो जमाना सारै खराब छ।’ यदि त्यो जमाना खराब थियो भने यो के हो त? हरेक चरणमा हामीलाई लाग्छ यो सबभन्दा खराब समय हो। यो संक्रमणकाल हो। ती दिनहरू सही थिए।
तर त्यो खाले अस्थिरता र समस्या हरेक युगमा आएको छ। हामी धेरै नै उपभोगवादी हुँदै गएका छौं। पैसा मुख्य कुरा हुँदै गएको छ। त्यो बेला प्रगतिशील लेखकहरूको आन्दोलन भएको थियो। प्रगतिशील थिएटर थियो। पेन्टर, कलाकार सबै प्रगतिशील थिए। त्यो कुरा हिप्पी, फेमिनिजम हुँदै अहिले सोसियल मिडिया फेजमा आइपुगेको छ। स्ल्याम पोयट्री भित्रिइसक्यो। विद्रोह गर्ने फरक/फरक तरिकाहरू खोजिएका छन्। तर जो साँचो रूपमा लेखिरहेका छन् उनीहरूमा कमिटमेन्ट र प्यासन धेरै देख्न सकिन्छ।
कला कहिल्यै पनि ठूलो वर्गको चिज भएन। यो कुनै न कुनै रूपमा बाँचिरहेको छ, बाँच्न सङ्घर्ष गरिरहेको छ। म विश्वास गर्छु अझै पनि धेरै लेखकहरू छन् जसमा ‘मन्टोइयत’ छ। अभियन्ताहरूलाई हेर्नुहोस् न। उनीहरू कस्तो अप्ठ्यारो अवस्थाहरूमा पनि काम गरिरहेका छन्। जेल हालिएको छ तर पनि भिडिरहेका छन्। कसैलाई सत्य बोलेकै कारण मारिएको छ। ती मानिसहरू आफ्नो स्वीकारोक्तिले काम गरिरहेका छन्। मैले भनिहालेँ स्वीकारोक्तिले साँचो बोल्ने साहस दिन्छ। उनीहरू जे मन लाग्छ त्यो गरिरहेका छन् र जे गरिरहेका छन् त्यसलाई मनपराइरहेका छन्। हामीले ती मानिसहरूसम्म पुग्नुपर्छ।