लेरमी लिगलको ट्विटर बायोले एक दिन फिल्म समीक्षामा नयाँ किताब लेखेको जानकारी दियो। गफ दिएको जस्तो सुनिए पनि कुरा साँचो थियो।
त्यो भन्दा पहिले उनी उक्त विषयमा लेखिएका किताब खोजिरहने मान्छे थिए। फिल्म डटकममा लेखक रूपमा काम गर्थे। फिल्म समीक्षामा कलम चलाइरहे पनि कसैलाई ‘फिल्म समीक्षक’ भनेर चिनिने जमाना थिएन त्यो। उनलाई अचम्म लाग्थ्यो। उनी एक्काइसौं शताब्दीमा आफूले गरिरहेको काम कस्तो छ वा के गरिरहेको छु भनेर ठम्याउन सक्दैन थिए ।
मैले सोधेपछि जवाफ दिए- ‘त्यस्तो शीर्षकको कुनै किताब नै लेखिएको थिएन। मलाई लाग्यो हुनुपर्छ। र त्यसलाई लेख्न म जत्तिको उपयुक्त मानिस को हुन सक्ला? भन्ने सोचेँ।’
अनि उनले किताब लेखे। नाम बन्यो ‘फिल्म क्रिटिक: अ डिकेड बिहाइन्ड द सिन्स इन दि मुभी इन्डस्ट्री।’
यसमा सिनेक्षेत्रमा उभिएको एउटा व्यक्तिको सम्झना समेटिएका छन्। किताबमा सम्झना मात्र हैन प्रचारमुखी मान्छे, फिल्म फेस्टिभलहरूमा जान हात फैलाएर मागिरहेका अनुहार, जेनतेन चलेको लेखकको जीवन, दर्शकको रेटिङ तथा खराब फिल्म बनाउने शक्तिशाली निर्देशकले बेलाबेला बनाउने बलिको बोका आदि पनि छन्।
लिगल, यी कुनै कुराबाट अछुतो रहेनन्। तर हारेनन् पनि। हरेक विवादास्पद समस्या झेले। त्यसैले त यतिबेला ‘फिल्म क्रिटिक’ किताब उनले हिँडेर आएको बाटोको बारेमा कुरा गर्ने उपयुक्त माध्यम बनेको छ। यो कुराकानी त्यही किताबको सेरोफेरोमा आधारित भएर गरिएको हो।
एउटा फिल्म समीक्षक हुन यो कस्तो समय हो? राम्रो कि नराम्रो?
मलाई लाग्छ यो राम्रो समय हो। अहिले बल्ल यो विधामा केही स्पष्टता आउन थालेको छ। तर एउटा अखवारी समीक्षक हुन भने गाह्रो समय हो। यो कुराले सायदै कसैलाई आश्चर्यमा पार्नेछ। मेरा धेरै साथीहरू पत्रिकामा फिल्म समीक्षा गर्छन् र मलाई उनीहरूको अवस्था कति ढलमल छ भन्ने थाहा छ। कारण एउटै हो पत्रिकाले हरेक वर्ष आफ्नो नाफा गुमाउँदै छन्।
बरु यो समय एउटा अनलाइन फिल्म क्रिटिक हुन भने एकदमै उपयुक्त छ। अनि खुसीको कुरा, हामीसम्म धेरै खाले आवाज आइपुगेका छन्। प्रतिभा हुनेले ठाउँ बनाउन सक्ने (मेरिटोक्रेसी)को जमाना भएकाले सम्भव भएको।
जब कसैले पत्रिकामा फिल्म समीक्षकको काम पाउँछ, राम्रो वा नराम्रोको लागि होस् पत्रिकाले उसलाई चालीस वा पचास वर्षसम्म राख्नै पर्छ। अर्को कुनै समीक्षक बीचमा छिर्ने कुनै ठाँउ नै हुँदैन।
तर अहिले मिहिनेत गर्ने र कामलाई निखार्नेलाई ठाउँ छ। अरू धेरै समीक्षकलाई पढ्ने तथा गहन आवाज सुन्ने अवसर छ। सजिलै प्रभावित हुन सकिन्छ। भोलि नै सुरु गरेर पनि आफ्नो आवाज सुनाउन सकिन्छ। अनलाइन मिडियाको कारण प्रकाशित हुन समस्या छैन। यस अर्थमा हेर्दा यो समय फिल्म समीक्षाको सुनौलो समय हो।
तर अझैपनि फिल्म समीक्षा गरेरै कमाउन सक्ने अवस्थामा पुगिएको छैन। पुग्न पक्कै पनि गाह्रो छ। त्यो जादुको छडी जस्तै कुरा हो जसलाई सबै जना चलाउन चाहन्छन्। सबैले पाउँदैनन्।
किताबमा फिल्म समीक्षकले अनलाइनमा पाउने गाली तथा दुर्व्यवहारको बारेमा पनि लेख्नुभएको छ। मानिसहरू फिल्म समीक्षालाई किन घृणा गर्छन् जस्तो लाग्छ?
यसका असङ्ख्य कारण हुन सक्छन्। मैले किताबमा फिल्म समीक्षकले कसरी संवाद गर्छन् तथा के मन पराउँछन् वा मन पराउँदैनन् भन्नेबारे लेखेको छु। जब तपाईं धेरै फिल्म हेर्नुहुन्छ त्यसबेलासम्म तपाईंले आफ्नो सामान्य मान्छेको अवस्थालाई गुमाइ सक्नुहुन्छ। तपाईं नवीनता नदेखिने, आविष्कार नभएको तथा महत्वकांक्षी नलाग्ने सानातिना विषयमा ध्यान नै दिन छोड्नुहुन्छ।
धेरै दर्शक अझै पनि त्यस्ता कुरामा ध्यान दिने तहमा पुगेका छैनन्। उनीहरूका लागि फिल्म भनेको केवल मनोरञ्जनको माध्यम हो। उनीहरूलाई लाग्छ ‘मैले समय र पैसा खर्च गरेको छु। म स्मार्ट हुनुपर्छ, त्यसैले भन्छु यो फिल्म राम्रो थियो।’ तर जब समय बित्दै जान्छ ती खाले फिल्म उनीहरूलाई नै मनपर्न छोड्छ। सायद यहाँनेर नै फिल्म समीक्षकको ठूलो महत्त्व छ। समीक्षकले मानिसलाई बताउनु पर्छ कि त्यो फिल्म साँच्चै ठीक थिएन। हामीले त्योभन्दा राम्रो फिल्म हेर्नुपर्छ र बनाउनुपर्छ।
अर्को कारण के पनि हो भने अनलाइनमा नकारात्मक कुरा बोल्न धेरै सजिलो छ। त्यसले कुनै सिधा असर गर्दैन। कुनै नतिजामा पुर्याउनु पर्दैन र बोलेको कुराको जिम्मेवारी पनि लिनु पर्दैन। कसैको अगाडि उभिएर बोल्नुपर्दैन। त्यसैले हो सायद एउटा समीक्षकले लेखेको एक हजारदेखि दुई हजार लामो गहन समीक्षा पढेर कोही भन्न सक्छ ‘यसले फलानो कलाकारलाई नराम्रो भनेको? कस्तो मूर्ख लेखक।’ म के भन्दै छु सायद बुझ्नुभयो होला।
केभिन स्मिथले समीक्षा लेखेरै फिल्म समीक्षकलाई घृणा गर्ने साधन बनाएका थिए। उनले ठीकै गरे जस्तो लाग्छ मलाई पनि। एउटा गाडी तथा अपार्टमेन्ट भाडामा लिन संघर्षरत साधारण लेखकलाई कसैको आलोचना गरेर के फाइदा? करोडौं कमाउने र धेरै फ्यान फलोइङ भएको कुनै निर्देशकको छेउमा त्यो फुच्चे लेखकको के हैसियत?
मानिसहरू फिल्म समीक्षकसँग ठूलो कुनै शक्ति भएको जस्तो सोच्छन् तर ऊसँग खासमा कुनै शक्ति हुँदैन। शक्ति त फिल्म उद्योगका अन्य व्यक्तिसँग हुन्छ।
फिल्म समीक्षकको पनि स्तर हुनुपर्छ जस्तो तपाईंलाई लाग्छ कि लाग्दैन? एउटा समीक्षकले मानिसलाई रिस कसरी उठाउँछ त? सबैथोक राम्रो भन्ने समीक्षक हामीलाई चाहिएको हो कि हैन?
एकदमै सही भन्नुभयो। यदि कसैले सबैथोक राम्रो देख्छ भने त्यहाँ केही पनि राम्रो छैन। अनि अर्को समस्या के छ भने स्टुडियोहरूले फिल्म समीक्षकलाई मार्केटिङको रूपमा प्रयोग गरिरहेका छन्। त्यसले समग्र समीक्षा विधालाई नै कमजोर बनाइरहेको छ। मैले एकपल्ट एउटा टेड भिडियोको बारेमा गरिएको कमेन्ट पढेको थिएँ। त्यहाँ लेखिएको थियो ‘हँसाउने फिल्ममध्येमा अहिलेसम्मकै उत्कृष्ट फिल्म।’
त्यस्तो पनि हुन्छ? अहिलेसम्मकै? अहिलेसम्म धेरै समय बितिसक्यो। धेरै उत्कृष्ट फिल्म आइसके। मलाई लाग्छ समीक्षकले यसरी उचाल्ने वाक्यहरू सकेसम्म कम गर्दा राम्रो हुन्छ। अनि मेरो बिचारमा यस्ता अतिशयोक्तिपूर्ण प्रतिक्रिया गर्ने व्यक्ति साँचो अर्थमा फिल्म समीक्षक हैनन्। उनीहरू समीक्षाको संसारमा आफ्नो जोड र घटाउको आवाज सुनाउन आएका हुँदैनन्। ट्रेलरमा आफ्नो नाम देख्न पाइयोस् भन्ने लोभ बोकेर छिरेका हुन्। र म जो हुँ र मैले आदर गर्ने जो पनि छन् उनीहरू यस अर्थमा भिन्न छन् जस्तो लाग्छ।
अब तपाईंको किताबको एक महत्त्वपूर्ण खण्डको कुरा गरौं। त्यहाँ तपाईंले ‘स्मार्ट क्रिटिक्स’ लाई ‘साधारण मानिस’ भन्दा फरक छन् भनेर देखाउँदै ‘दि डार्क नाइट’ फिल्मको उदाहरण दिनुभएको छ। भन्नुहुन्छ ‘यो फिल्म दर्जनौं पल्ट हेरिसकेपछि पनि जापानी एनिमेसनमा हेर्दा यसप्रतिको प्रतिक्रिया गहन र पृथक हुन्छ। तर साधरणतया यस्तो सबैमा हुँदैन किनकि हरेक समाजका आफ्नै बुझाइ हुन्छन् र एउटा साधारण मानिसले यो फिल्मसँग गरेको यात्राले फिल्म हेर्ने सबैको यात्रा जनाउँदैन।’
मेरो प्रश्न, के यो गलत कुरा हो र?
स्पष्टभन्दा म आमरुपमा चर्चित हुने परिप्रेक्षमा विश्वास गर्छु। एउटा समीक्षाको कसैले महत्व दिइरहेको वा त्यसले कसैलाई शिक्षा वा मनोरञ्जन जे भए पनि दिइरहेको छ भने त्यो ठीक हो। तर समस्या के छ भने त्यो क्रममा तपाईं अति गुप्त र सानो घेरामा सीमित भइदिनुहुन्छ। तपाईंले लेखेको कुरा एक त कसैले पढ्दै पढ्दैन र पढे पनि त्यसले त्यहाँको संस्कृतिमा कुनै प्रभाव पार्दैन। र यदि तपाईं संस्कृतिलाई स्मार्ट र असल बनाउन चाहनुहुन्छ भने मानिसलाई आफूसँग तान्न केही कुरामा सम्झौता त गर्नै पर्छ। उनीहरूलाई केही दिनै पर्छ जसको लागि तपाईंलाई पढून्।
म बुझ्छु हामी सबैलाई पाउलिन् कायल (न्युयोर्क टाइम्सका चर्चित फिल्म समीक्षक) जस्तै बन्न सकौं जस्तो लाग्छ तर दुर्भाग्यवश हाम्रो संस्कृति जता जाँदै छ त्यसलाई हेर्दा त्यो हुने सम्भावना कम छ।
वास्तविक समस्या त तर्कको अर्को पाटोमा पनि छ। यस्तो कुरामा प्रोत्साहन कम छ। जो मानिस हल्ला गर्छन् र विषयलाई सुक्ष्म रूपमा केलाउँदैनन् तिनकै धेरै चर्चा हुन्छ। उनीहरूले नै जागिर पाएका छन्, क्लिक पाउँछन् र पैसा पनि पाइरहेका छन्। राजनीतिदेखि खेलकुदसम्म हेर्नुहोस् सबैतिर यस्तै देख्नुहुन्छ।
जो सोच्न मनपराउँछन् र चिन्तन गर्छन् उनीहरूले त्यसबापत केही पाएका छैनन्। इन्टरनेट अहिले पनि सारै कलिलो छ भन्ने प्रमाण हो यो। यो आफ्नो किशोरअवस्थामै छ र हुर्किएर वयस्क हुन अझै २० वर्ष पर्खिनुपर्छ होला। त्यतिन्जेलसम्मकै लागि भए पनि न्युयोर्क टाइम्सका लेखक तथा गहिरो अध्ययन गर्ने लेखक चाहिएको छ। नयाँ समीक्षकलाई बाटो देखाउनै मात्र भए पनि ती धेरै महत्त्वपूर्ण छन्। एउटा साधारण मानिसको समूहले भरिएको यो ठाउँमा उनीहरू कसरी बाँचिरहेका होलान् भन्ने मात्र मेरो प्रश्न हो। जे भए पनि उनीहरू छन्। लेख्दै छन्। म खुसी छु।
तपाईंको किताबले फिल्म समीक्षालाई नियमित गर्नुपर्ने एउटा अफिसमा गरिने कामको वार्षिक प्रदर्शन समीक्षासँग तुलना गरेको रहेछ नि?
हो। मलाई यो कहाँबाट आउँछ थाहा छ। तर लेखक र निर्देशक समीक्षाप्रति धेरै नै संवेदनशील हुन्छन्। खासमा सबैखाले मानिस हुन्छन्। यदि कसैले तपाईंलाई ‘तपाईं राम्रो काम गर्दै हुनुहुन्न’ भन्यो भने तपाईंसँग दुइटा प्राकृतिक प्रतिक्रिया हुन्छन्। पहिलो ऊसँग पागल भईहाल्ने, दोस्रो उसलाई उल्टै गलत देखाउन हरेक तर्क झिक्ने, तेस्रो वेवास्ता गर्ने, र चौथो, जुन अरूभन्दा अलि गाह्रो पनि छ, त्यो अनुभवबाट माथि उठ्ने। हरेक कलाकारहरू यो कुरामा फरक हुन्छन्। कोही कहिल्यै बढ्दै बढ्दैनन्, कोही कहिल्यै भन्दै भन्दैनन् कि यो वैध समीक्षा हो, र उनीहरू जहिल्यै यसलाई आफ्नो तर्कले जित्न खोजिरहेकै हुन्छन्।
मैले ‘आइडेन्टिटी थेप्ट’ को लेखकको अन्तर्वार्ता सुनेको थिएँ। उनी समीक्षकले आफ्नो फिल्मलाई धेरै नकारात्मक भने भनेर घाइते भएछन्। समीक्षकले किन मन पराएनन् भनेर हैरान सुनिन्थे। त्यो कुराले मेरो दिमाग तिर्मिर्यायो। कसैलाई कसरी आफूले सबभन्दा उत्कृष्ट काम गरेँ भन्ने लाग्छ? जबकि धेरै चलचित्र हेर्ने एउटा सामान्य मान्छेले पनि त्यसलाई राम्रोसँग गरिएको काम भनिरहेको हुँदैन। कस्तो आफैंलाई तर्साउने अवस्था? यथार्थतासँग टुटेको अनुभूति। हलिउड यस्तै हो। वास्विकताभन्दा अचम्मैले टाढा।
उनीहरूको कुरा भने अर्कै छ। भन्छन् ‘हामीले यसको लागि पैसा लगानी गर्यौं। त्यसैले यो राम्रो हो। यो राम्रो हो त्यसैले यसलाई हामी बनाउँदै जानेछौँ।’ तर अर्थशास्त्रको समसिमान्त ह्रासको नियम हुन्छ भन्ने बिर्सिन्छन्।
मैले भर्खरै पढेको तथ्याङ्क अनुसार दस वर्ष पहिला ३० प्रतिशत दर्शक हरेक महिना एउटा फिल्मको टिकट काट्थे। अहिले त्यो १० प्रतिशतमा झरेको छ। उनीहरूले यो उद्योगले जे जति कुराहरू सही र उपयुक्त थिए ती सबैलाई निचोरेर खोस्टो बनाउँदै छन्। किनकि उनीहरू हरेकपल्ट त्यही कुरा दोहोर्याइरहेका छन्। लेखक तथा निर्देशकले ‘म कसरी यसलाई झनै राम्रो बनाउन सक्छु’ भन्ने कुरा सोच्नै छोडेका छन्।
मलाई लाग्छ यो सबै प्रकारका काममा लागू हुने कुरा हो। सबैले आफूले गरिरहेको कामलाई कसरी झनै राम्रो र पृथक गर्नसक्छु भन्ने प्रश्न आफूलाई सोध्नै पर्छ। यदि यस्तो हो भने चलचित्र क्षेत्रका मानिसले यही कुरा किन सोच्दैनन्? सबैले गर्दा हुने उनीहरूले नहुने भन्ने हुन्छ? यदि कसैले काम राम्रो नगर्दा ऊ कामबाट निकालिन सक्छ भने त्यस्तो चलचित्र क्षेत्रमा किन नहुने?
तपाईंले आफ्नो किताबमा समीक्षकले पनि एक अर्कालाई सुन्नुपर्ने र सामूहिक सोच विकास गर्नुपर्ने कुरा लेख्नुभएको छ। के त्यसको कमीले समीक्षा गर्ने तरिकामा असर गरिरहेको छ?
मैले भनेको हुँ। किनकि इन्टरनेट डरलाग्दो बन्दै गइरहेको छ। तपाईं सामाजिक सञ्जालमा केही राख्नुहुन्छ र सोच्नुहुन्छ कि तपाईंले खत्रा काम गर्नुभयो। त्यहाँ आउने दुई तीन कमेन्टहरूले तपाईंलाई झनै बलियो भनिदिन्छन्। तपाईंका सत्य सबै असत्य भइदिन्छन्। तपाईं नयाँ काम पनि पाउन सक्नुहुन्छ। र त्यसको प्राकृतिक प्रतिक्रिया तपाईं अर्कोपल्ट झन् बकवास लेख्नुहुन्छ।
मलाई लाग्छ युवापुस्ताका लेखक धेरै यस्तो जालमा पर्ने गरेका छन्। किनकि उनीहरूलाई आफ्नो कामलाई कसरी हेरिएको छ भन्ने कुराले प्रभाव पार्छ। उनीहरू त्यसमा धेरै ध्यान पनि दिन्छन्। यो पनि समीक्षामा मात्र हैन सबैतिर लागू हुन्छ। लगभग ६७ देखि ७० प्रतिशत मानिस केवल आफ्नो काममा फिट हुने सङ्घर्षमा छन् ताकि त्यसले केही कमाई होस्। हप्ता कटोस्। म चाहन्छु कम्तीमा फिल्म समीक्षक गहिराइमा जान खोजून्। सबैले देख्ने कुरालाई नदोहोर्याउन्।
अगाडि बढ्दै जाँदा समीक्षकहरूले भोग्ने सबैभन्दा ठूलो चुनौती दर्शक तथा पाठकहरूको पुष्टि पूर्वाग्रह हो?
हैन हैन। मलाई लाग्छ पुष्टि पूर्वाग्रहभन्दा धेरै त आगामी दशकमा हुने स्टुडियो प्रणालीको विकेन्द्रीकरणले धेरै चुनौती ल्याउने छ। यस्तो तरल अवस्थामा धेरै भन्दा धेरै फिल्म बन्नेछन् र प्रदर्शन हुनेछन्। त्यसले हामीलाई खोक्रो समीक्षक बनाउने डर छ।
अहिले नै हेर्नुहोस् न। कान्स जानुहोस्, टोरन्टो जानुहोस्, सन्डेन्स जानुहोस् हप्तामा २५ भन्दा धेरै फिल्म हेर्न पाउनुहुन्छ। हप्तामा १५ वटा समीक्षा लेखेपनि त १० वटा त बाँकी नै भए। फिल्म क्षेत्र त डिस्पोजेबल मार्केटप्लेस जस्तो भइसक्यो। नयाँ नयाँ चिजहरू आउँदै जाँदा पुराना पुराना चिजहरू चाँडो चाँडो बजारबाट बाहिर फालिँदै जान्छन्।
समीक्षकका लागि सबभन्दा टाउको दुखाइ नै यही हो। यदि हामी नै १० माइल प्रतिघण्टा गतिको नदीमा बग्ने अवस्था आउँदा संस्कृतिको महत्त्व तथा वैधानिकताको प्रश्न सोध्ने फुर्सद कसलाई होला?
(फिल्म समीक्षक लेरमी लिगलको इन्डिवायरका लागि म्याट सिंगरले लिएको अन्तर्वार्ताको अनुवाद )