एक समय थियो बलिउड अभिनेता अक्षय कुमारको हरेक फिल्म बक्स अफिसमा खुब चल्थ्यो। दर्शक उनलाई हेर्न खुब रूचाउँथे।
फेरि यस्तो समय आयो अक्षयका फिल्म फ्लप हुन थाल्यो। उनको फ्लप फिल्ममा एक हो 'सेल्फी'।
सन् २०२३ मा रिलिज भएको फिल्म 'सेल्फी' बाट अक्षय कुमारलाई निकै आशा थियो। तर फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सकेन।
यस फिल्मका लागि उनले पारिश्रमिक पनि लिएका थिएनन्। 'सेल्फी' का निर्माता तथा अभिनेता पृथ्वीराज सुकुमारनले हालै एक अन्तर्वार्तामा उक्त कुराको खुलासा गरेका हुन्।
'मैले अक्षय कुमारसँग एक फिल्म बनाएँ। तर उनले एक रूपैयाँ पनि लिनु भएन। उनले फिल्मले पैसा कमायो भने मात्रै नाफाको केही प्रतिशत लिन्छु भन्नु भयो। फिल्म चलेन त्यसैले उनले पारिश्रमिक लिएनन्,' पृथ्वीराज सुकुमारनले पिंकभिलासँग कुराकानी गर्दै भने।
सन् २०२३ मा रिलिज भएको फिल्म 'सेल्फी' मलयालम फिल्म 'ड्राइभिङ लाइसन्स' को हिन्दी रिमेक हो। फिल्मलाई राज मेहताले निर्देशन गरेका थिए। फिल्ममा अक्षयसँगै इमरान हाशमी, डायना पेन्टी, नुसरत भरूचा, महेश ठाकुर, अदा शर्मालगायत कलाकारको अभिनय थियो। फिल्मले विश्वभरबाट २४ करोड भारू कमाएको थियो।