बलिउडको क्लासिक फिल्म 'शोले' पुनः रिलिज भएको छ।
सन् १९७५ को सुपरहिट यो फिल्म शुक्रबारदेखि भारतभर पुनः प्रदर्शनमा आएको हो।
५० वर्ष पूरा भएको अवसरमा 'शोले- द फाइनल कट' शीर्षकमा फिल्मलाई फेरि रिलिज गरिएको हो। यस संस्करणमा फिल्मको मूल (अनकट) अन्त्य र हटाइएका दृश्यहरू पुनः समावेश गरिएको छ। फिल्म भारतमा १ हजारभन्दा बढी शोसहित प्रदर्शनमा आएको जनाइएको छ।
फिल्मलाई फोर के रेमस्टर्ड गरी डब्ली ५.१ साउन्ड र मूल ७० मिमी स्वरूपमा प्रस्तुत गरिएको छ। दर्शकलाई उत्कृष्ट दृश्य र ध्वनिको अनुभव दिनका लागि यसो गरिएको हो।
रमेश सिप्पी निर्देशित 'शोले' मा धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन, सञ्जीव कुमार र अमजद खानजस्ता दिग्गज कलाकारहरूको अभिनय छ। फिल्मका हरेक पात्रहरू अहिलेसम्म पनि दर्शकको मनमा बसेका छन्।
धर्मेन्द्रको निधनपछि यस क्लासिक फिल्मको पुनः रिलिजले भावनात्मक महत्व पनि प्राप्त गरेको छ।
'शोले- द फाइनल कट' संस्करणको मुख्य आकर्षण यसको पुर्नस्थापित अन्त्य हो। जसमा ठाकुर (सञ्जीव कुमार)ले गब्बर सिंह (अमजद खान) लाई मार्छन्। पहिले 'शोले' मा पुलिस आइपुगेर सबैलाई रोकेर गब्बरलाई पक्राउ गरिएको थियो।
सन् १९७५ मा संकटकालको समयमा सेन्सर बोर्डको नियम कडा भएका कारण कानुन हातमा लिन नहुने भन्दै त्यसो गरिएको थियो।
निर्देशकले तत्कालीन समयमा बाध्यतावश अन्त्य बदल्नु परेको बताएका छन्। कट भएका दृश्य र असली क्लाइमेक्ससहित फिल्म पहिलोपटक थिएटरमा रिलिज भएको हो।
कट भएका दृश्यहरू फर्काइएको कारण यस संस्करणको रनटाइम पुरानो भन्दा लामो रहेको जनाइएको छ।