बलिउड अभिनेता कार्तिक आर्यन आज बुधबार आफ्नो जन्मदिन मनाउँदैछन्। उनको जन्मदिनको अवसर पारेर धर्मा प्रोडक्सनले नयाँ फिल्म घोषणा गरेको छ।
धर्मा प्रोडक्सनले उनलाई लिएर नयाँ फिल्म घोषणा गरेसँगै निर्माता तथा निर्देशक करण जोहर र कार्तिकबीच मनमुटाव सकिएको बताइएको छ।
केही समयअघि करणले कार्तिकलाई 'दोस्ताना २' बाट निकालेका थिए। पारिश्रमिकको कुरा नमिलेपछि उनले कार्तिकलाई फिल्मबाट निकालेको बताएका थिए। करणको धर्मा प्रोडक्सनले आगामी दिनमा अभिनेता कार्तिकसँग कुनै काम नगर्ने समेत बताएको थियो।
करणले पनि इन्स्टाग्राममार्फत नयाँ फिल्मबारे जानकारी दिएका छन्। 'विशेष दिनमा विशेष समाचारबाट दिनको सुरूवात! सन्दीप मोदीले निर्देशन गर्ने फिल्ममा धर्मा प्रोडक्सन र बालाजी मोसन पिक्चर्सले सहकार्य गर्नेछन्। यो कथाका लागि प्रतिभावान कार्तिक आर्यन मुख्य भूमिकामा हुनेछन्। यो फिल्म सन् २०२५ मा प्रदर्शन हुनेछ,' उनले लेखेका छन्।
उनले कार्तिकलाई जन्मदिनको शुभकामना दिँदै लेखेका छन्, 'कार्तिक तिमीलाई जन्मदिनको शुभकामना! हाम्रो सहकार्य अझै बलियो हुँदै अघि बढ्नेछ। फिल्मको पर्दामा आफ्नो जादू छर्न कहिल्यै नछोड्नुस्।'