अभिनेता शाहरूख खान छोरी सुहाना खानसँग फिल्म खेल्ने भएका छन्।
उनीहरू सुजोय घोषले निर्देशन गर्न लागेको फिल्म 'किङ' मा देखिन भएका हुन्। अभिनेता शाहरूखलाई उनका फ्यानले 'किङ खान' उपनाम दिएका थिए।
एक्सन थ्रिलर फिल्ममा एक बुवा र छोरीको कथा देखाइनेछ। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार फिल्ममा 'पठान' का निर्देशक सिद्धार्थ आनन्द र शाहरूख खानको संयुक्त लगानी रहनेछ। तर अभिनेता शाहरूख र निर्देशक सिद्धार्थले फिल्मबारे आधिकारिक जानकारी दिएका छैनन्।
रेड चिलिज इन्टरटेनमेन्ट र मारफ्लिक्स पिक्चर्स ब्यानरमा बन्ने फिल्मको छायांकन २०२४ जनावरीदेखि सुरू हुनेछ।
शाहरूखले पहिलोपटक छोरी सुहानासँग फिल्ममा काम गर्न लागेका हुन्। यसअघि उनले छोरा आर्यनसँग फिल्म 'द लायन किङ' मा काम गरेका थिए। यो फिल्म सन् २०१९ मा प्रदर्शन भएको थियो।
यस फिल्ममा भएको हिन्दी आवाज शाहरूख र आर्यनले दिएका हुन्। फिल्ममा भएको 'मुफासा' को आवाज शाहरूखको थियो भने 'सिम्बा' को आवाज आर्यनको थियो।
सुहानाले जोया अख्तरको निर्देशनमा बनेको फिल्म 'द आर्चिज' बाट डेब्यू गर्दैछिन्। यो फिल्म डिसेम्बर ७ देखि नेटफ्लिक्समा प्रदर्शन हुनेछ।