भारतीय कमेडियन कृष्णा अभिषेक र उनका मामा अभिनेता गोविन्दासँग ७ वर्षदेखि भइरहेको विवाद टुंगिएको छ।
कृष्णाले आफ्नो इन्स्टाग्राममा एक भिडिओ सेयर गर्दै उक्त जानकारी दिएका छन्। भिडिओमा कृष्णा र गोविन्दा 'छोटे मिया बडे मिया' गीतमा नाचिरहेको देख्न सकिन्छ। यो एक रियालिटी शोको भिडिओ हो।
'योभन्दा राम्रो भिडिओ हुन सक्दैन। स्टेजमा फायर। मामा जहिल्यै प्रेरणा रहनु भयो। रियल लाइफको बडे मिया छोटे मिया,' उनले भिडिओ सेयर गर्दै स्टाटस लेखेका छन्।
सन् २०१६ मा कृष्णाको एउटा अभिव्यक्तिले मामासँगको सम्बन्ध बिग्रिएको थियो। कपिल शर्मा शोमा उनले गोविन्दालाई आफ्नो मामा बनाएर राखेको बताए। उनको यो कुरा गोविन्दालाई मन परेन। कृष्णाको अभिव्यक्तिको टिप्पणी गर्दै गोविन्दाले भनेका थिए, 'पैसाको लागि टेलिभिजनमा कसैको बेइज्जती गर्न हुँदैन।'
कृष्णाकी पत्नी कस्मिरा शाहले सन् २०१८ मा केही मानिस पैसाका लागि नाच्छन् भन्दै ट्विट गरेकी थिइन्। यस ट्विटले उनीहरूको सम्बन्ध झनै बिग्रिएको थियो। यहाँसम्म कि जब गोविन्दा कपिल शर्मा शोमा आउँदा कृष्णा शोमा आउँदैन थिए।
केही महिनाअघि कृष्णाले मामासँग सम्बन्ध सुर्धान चाहेको बताएका थिए।